१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंका मेयर उम्मेदवारका चुनावी अजेन्डा : समृद्धि र विकास

काठमाडौं- उम्मेदवारी दर्तापछि स्थानीय तह चुनावको चहलपहल थप बढेको छ। विभिन्न दल र स्वतन्त्र उम्मेदवार आआफ्ना अजेन्डा लिएर जनतामाझ जान थालेका छन्।

काठमाडौंका विभिन्न नगरपालिकामा मेयर उम्मेदवार पनि आफ्ना अजेन्डा जनतामाझ पुर्‍याउन सक्रिय भएका छन्। उनीहरूले मतदातालाई आकर्षित गर्न लोभलाग्दा योजना अघि सारेका छन्। अधिकांश उम्मेदवारले नगरको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधिको विकासमा प्राथमिकता दिने भन्दै भोट माग्न मतदाताको घरदैलोमा जाने तयारी गरेका छन्।

दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार मोहन बस्नेतले आगामी पाँच वर्षभित्र समृद्ध नगरपालिका बनाउने योजना अघि सारेका छन्। उनले नगरमा विकासका पूर्वाधारको निर्माण, कृषि उत्पादनको बजारीकरण, आयमूलक कार्यक्रम, वृद्धवृद्धाका लागि निःशुल्क स्वास्थ्योपचार, सामुदायिक विद्यालयको स्तरोन्नति, पर्यटन विकासलगायतलाई मूल अजेन्डा बनाएका छन्।

सोेही नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार शशी शर्मा अर्यालले पनि पहिचानसहितको समृद्ध दक्षिणकाली नगरपालिका बनाउने योजना अघि सारेका छन्। सबै जातजाति, भाषाभाषीको मिलन र आर्थिक समृद्धिमार्फत नगरवासीलाई सुखी बनाउने उनको प्रतिबद्धता छ।

माओवादी केन्द्रका उम्मेदवार उर्गेन लामाले दक्षिणकालीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गरेका छन्। होम स्टेमार्फत स्थानीयको आय वृद्धि गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गरी दक्षिणकालीलाई समृद्ध बनाउने, कृषि क्याम्पस स्थापना गरी प्राविधिक शिक्षालाई जोड दिनेलगायत योजना उनको छ।

नागार्जुन नगरपालिकामा एमालेका मेयर उम्मेदवार कृष्णहरि खत्रीले सन्तुलित दिगो विकाससहित पूर्वाधार निर्माण गर्ने, सक्षम र व्यवस्थित प्रशासन, शून्य भ्रष्टाचार नीति अवलम्बन गर्ने, वृद्धभत्तालगायत जनतालाई दिनुपर्ने सुविधा सम्भव भएसम्म घरघरमा पुर्‍याउने अजेन्डा बनाएका छन्।

सोही नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार कुमार तामाङले 'अधिकारसम्पन्न नागार्जुन नगर' बनाउने नारा अघि सारेका छन्। उनले नागार्जुनमा सबल नेतृत्व विकास, आर्थिक समृद्धि, आत्मनिर्भर कृषि योजना, मजबुत भौतिक पूर्वाधार, शुद्ध खानेपानी, हरभरा वनजंगल र वातावरण, पर्यटन विकास, व्यावसायिक तथा वैज्ञानिक शिक्षालगायतका योजना बनाएका छन्।

टोखा नगरपालिकामा एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारीलेे टोखालाई समृद्ध, समुन्नत र भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन्।

माओवादी केन्द्रका उम्मेदवार कल्पना शर्माले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने पार्टी अजेन्डा कार्यान्वयनका लागि माओवादीकै नेतृत्व आवश्यक रहेको बताएकी छन्। उनले नगरलाई आगामी पाँच वर्षमा विकास, समृद्धि र सामाजिक न्यायको हिसाबले काठमाडौंभित्रको पहिलो नगरपालिका बनाउने लक्ष्यका साथ काम गर्ने योजना अघि सारेकी छन्।

बूढानीलकण्ठ नगरपालिकामा एमाले  मेयरका उम्मेदवार उद्धवप्रसाद खरेलले 'बूढानीलकण्ठको विकासको मुख्य आधार, सुशासन, समृद्धि र दिगो विकासको पूर्वाधार' भन्ने नारा अघि सारेका छन्। उनले नगरपालिकामा 'सर्भिस विथ स्माइल' लागू गरी जनतालई सुशासनको पूर्ण प्रत्याभूति दिलाउने बाचा गरेका छन्।

बूढानीलकण्ठ नगरपालिकाकै माओवादी केन्द्रका उम्मेदवार रविन अधिकारीले पञ्चवर्षीय योजना निर्माण गरी नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, जगडोलदेखि वागद्वारसम्म केबलकार निर्माण गर्नेलगायत महŒवाकांक्षी योजना अघि सारेका छन्।

कीर्तिपुर नगरपालिकामा एमालेका मेयर  उम्मेदवार रमेश महर्जनले 'मेरो कीर्तिपुर, समृद्ध कीर्तिपुर' भन्ने नारा  अघि सारेका छन्। नगरपालिकामा पारदर्शितालाई जोड दिँदै चुस्त प्रशासनिक व्यवस्थामार्फत समयमा सेवा प्रवाह गर्ने, भ्रष्टाचारमुक्त नगरपालिका बनाउने उनको योजना छ।माओवादी केन्द्रका उम्मेदवार हीराबहादुर महर्जनले कीर्तिपुरको विकासका साथै सरसफाइ, युवालाई रोजगारी र युवा नेतृत्व विकास गर्ने तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यक्रम योजनामा समेटेका छन्।

प्रकाशित: २१ वैशाख २०७४ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App