१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उम्मेदवारको योजना: महानगरको आफ्नै विद्युत आयोजना

चितवन- भरतपुर महानगरपालिकामा नेकपा (एमाले)ले मेयरका उम्मेदवार बनाएका देवी ज्ञवालीले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर आफ्ना योजनाहरु सार्वजनिक गरेका छन्। आफु मेयर पदमा विजयी भए महानगरले विद्युत आयोजनामा लगानी गर्ने उनले बताए । नगरवासीको शेयर राखेर १५० मेगावाटको जलविद्युत आयोजना सञ्चालन गर्ने उनको भनाइ छ।

‘महानगर हुँदै बग्ने त्रिशुली नदी छ । २९ नम्बर वडामा पर्ने कबिलासमा ड्याम बनाएर १५० मेगावाटको जलविद्युत आयोजना सञ्चालन गर्न सकिने सम्भावना छ । आयोजना सम्पन्न गरेर भरतपुरमा हामी आफ्नै विजुली बाल्छौं’ मेयर उम्मेद्वार ज्ञवालीले भने। यसअघि २०५४ सालको स्थानीय निर्वाचनमा उपमेयरमा विजयी भएर पाँच वर्ष काम गरेका कारण आयोजनाका बारेमा धेरै जानकारी भएको उनले बताए।

तत्कालिन भरतपुर नगरपालिकामा खानेपानी, बस पार्क र ढल निकासको ठुलो अभाव भएका बेलामा दातृ निकायसँग समन्वय गरेर करोडौं रुपैयाँका आयोजनाहरु सञ्चालन गरेको अनुभव आफुसँग भएको उनले बताए । ‘अब पनि दातृ निकाय नै ताक्नु पर्छ भन्ने छैन । जलविद्युत आयोजना हामी नगरवासीबाट शेयर उठाएर सम्पनन गर्न सक्ने अवस्थामा छौं’ ज्ञवालीले भने।

दुई लाख ८० हजार जनसंख्या रहेको भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु छन् । महानगरमा एक लाख ५२ हजार मतदाता छन् । भरतपुरमा चितवन जिल्लाको आधा जनसंख्या र मतदाता बसोबास गर्छन्। त्यसैले यस सहरलाई व्यवस्थित र आधुनिक बनाउने योजना आफुले बनाएको उनको भनाइ छ । नगरका सवै वडाहरुमा पार्क निर्माण गर्ने उनले बताए ।

भरतपुर अस्पताललाई जन समुदायले अनुमोदन गरेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर राष्ट्रिय स्तरको नमुना स्वास्थ्य संस्था बनाउने बचन दिए । शिक्षा र कृषिका योजना पनि बनाएको उनले बताए । ‘देशको केन्द्रमा रहेको भरतपुरलाई स्मार्ट सिटी बनाउने नीति नियम र योजनाहरु महानगरको मेयर भएपछि मैले तर्जुमा गर्ने छु । देशको सवैभन्दा राम्रो नगर बनाएर छाड्छु’ उनले प्रतिवद्धता राखे ।

भरतपुरमा एमालेले मेयरमा ज्ञवालीलाई र उपमेयरमा दिब्य शर्मा आचार्यलाई उम्मेद्वार बनाएको छ । शिक्षण पेशमा २० वर्ष गुजारेकी शर्मा एकल महिला पनि हुन् । भरतपुरको मुख्य बजार क्षेत्रभन्दा बाहिर पश्चिम चितवनको पार्वतीपुरकी शर्माले महानगरमा महिला र पछाडी परेको भनिने समुदायको हितका लागि आफु क्रियाशिल रहने बताइन् ।

 

प्रकाशित: २० वैशाख २०७४ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App