१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘नदीको प्रयोग गरी महानगरको समृद्धि’

 चितवन – मधेसको एकमात्र महानगरपालिका भरतपुरका प्रमुख पदका उम्मेदवारले दुई तर्फबाट बगेका नारायणी र राप्ती नदीको अधिकतम सदुपयोग गरी समृद्ध महानगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

देशका ७४ जिल्लाबाट बसाइँ सरी यहाँ आएका नेपालीको सङ्गमथलो भरतपुर महानगर हो । महाभारत पर्वत शृङ्खला हुँदै निकुञ्ज जोड्ने जङ्गल एकातर्फ पर्दछ भने अर्कोतर्फ नारायणी नदी पर्दछ । दक्षिणमा निकुञ्ज हुँदै बग्ने राप्ती नदी छ । त्यसको बीचको भू–भागमा असिमित सम्भावना बोकेको भरतपुर महानगरपालिका पर्दछ । 

भरतपुर महानगरपालिकामा यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा १५ जनाले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराए पनि प्रतिस्पर्धा भने मुख्य तीन दलबीचमा नै हुने देखिएको छ । प्रमुख प्रत्यासी दल नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार दिनेश कोइराला नारायणी र राप्ती नदीलाई अधिकतम उपयोग गरी यहाँको विकास गर्ने बताउँछन् । देवघाटदेखि मुग्लिनसम्म र देवघाटबाट त्रिवेणीधामसम्म जलयात्रा गर्न सकिने उनको भनाइ छ । 

नारायणीमा महानगरवासीको आफ्नै लगानीमा जलविद्युत् उत्पादन गरी महानगरवासीले उपलब्ध गराउने र बचेको बिजुली बिक्री गरेर आम्दानी गर्ने उनको सोच छ । चितवन राष्ट्रिय निकुञ्जको एकातर्फ पूरै सिमाना भरतपुर महानगरपालिका परेकाले पर्यटकीय दृष्टिले यो महानगरको सम्भावना अत्याधिक बढी भएको उनले बताए । 

राप्ती र नारायणी किनारमा ठूला होटल र मनोरन्जन केन्द्र सञ्चालन गरी स्वदेशी र विदेशी पर्यटक भित्र्याएर यहाँको विकास गर्न सकिने कोइरालाले बताए । जेसीसका राष्ट्रिय अध्यक्ष भइसकेका कोइरालाले ‘समृद्धिका लागि परिवर्तन’ भन्ने नाराका साथ स्वास्थ्य र शिक्षामा हुने गरेको अवैध व्यापार अन्त्य गरी पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य निःशुल्क गराइने बताए। 

नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले पनि नारायणी नदीमा पर्यटकीय गतिविधिका साथै सम्भाव्यता अध्ययन भइसकेको १५० मेघावाट जलविद्युत् उत्पादन गरिने बताए । 

उनले महानगर र महानगरवासीको लगानीमा जलविद्युत् लगानी गरिने भन्दै यसले महानगर समृद्ध बनाउन टेवा पुग्ने बताए । नारायणी र राप्ती नदीलाई दुईतर्फ बाँध बाँधेर जलक्रिडा, मत्स्यपालन गर्दै देवघाटदेखि त्रिवेणीधामसम्म जलयात्रा सञ्चालन गर्ने आफ्नो योजना सुनाए। नदीका छेउमा तारे होटल र मनोरन्जन केन्द्र खोल्न उत्प्रेरित गरिने उनले बताए । 

तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख समेत भइसकेका ज्ञवालीले आफ्नो पालामा नदीलाई प्रदूषणबाट रोक्न ढलको पानीलाई प्रशोधन गराएर मात्रै नदीमा मिसाएको बताए । उनले भरतपुरको समृद्धिको आधार नारायणी नदी रहेको बताए । 

नारायणी नदीसँग जोडिएको कविलासको पहाडको अधिकतम उपयोग गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताए । विश्वका प्रसिद्ध धार्मिक स्थलभन्दा महत्व बोकेको देवघाटको विकास गरी धार्मिक पर्यटक भित्र्याउने भन्दै उनले शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरन्जनलगायतमा जोड दिने बताए । 

आफ्नो पहिलो प्रतिबद्धता ‘जीवनका लागि पानी’ भएको भन्दै उनले पाँच वर्षभित्रमा २९ वटै वडामा स्वच्छ खानेपानी पुर्याउने बताए। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहनगर भरतपुर महानगरमा केन्द्रका तर्फबाट दाहालकी छोरी रेणु दाहाललाई प्रमुखका रुपमा उम्मेदवार बनाइएको छ । दुई नदी केन्द्रित पर्यटन गतिविधिको विकास गरी यसलाई समृद्ध बनाउन सकिने उम्मेदवार दाहालको भनाइ छ । 

राप्ती र नारायणी नदीको किनारमा रिङ्रोड निर्माण गरी सुन्दर सहरको परिकल्पना गरेकी दाहालले नगरभित्र हरियालीसहितको भित्री र बाहिरी दुईवटा चक्रपथ हुने बताइन् । 

कृषि लक्षित विशेष कार्यक्रम गरिने भन्दै उनले समृद्ध मेट्रो सिटीका रुपमा भरतपुरलाई विकास गर्न आफू लागिपर्ने उल्लेख गरिन् । अन्तर्राष्ट्रिय क्रिकेट र फुटबल खेल मैदान बनाइने भन्दै उनले व्यवस्थित बजार, सडक र ढललाई आफ्नो भावी कार्यक्रमका रुपमा लिएकी छिन् ।

राप्रपा चितवनका अध्यक्ष समेत रहेका राप्रपाका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले देवघाटदेखि त्रिवेणीसम्म जलयात्रा सञ्चालन गरेर स्वदेशी र विदेशी पर्यटक भित्र्याउने बताए । नारायणी नदीलाई बाँध बाँधेर नदीले कटान गरेको क्षेत्रमा सुकुम्वासी व्यवस्थापन गर्न सकिने र चक्रपथ निर्माण गर्न सकिने उनको योजना छ । 

महानगरपालिकाको २९ नं वडा रहेको कविलासमा हिलटावर निर्माण गरी पर्यटकको बसाइँ लम्ब्याउन सकिने भन्दै उनले पटिहानीदेखि जगतपुर हुँदै गोलाघाटसम्मलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए। 

दुई लाख ८० हजार जनसङ्ख्या रहेको भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २७४ मतदाता रहेका छन् । भरतपुर महानगरमा ८३ जनजातिको बसोबास रहेको छ । मुख्य रुपमा बाहुन, क्षेत्री, नेवार, गुरुङ, तामाङ, मगर, थारु, कामी, मुसलमान, दमै, ठकुरी, सार्कीको बसोबास रहेको छ । 

तत्कालीन भरतपुर नगरपालिकामा गीतानगर, मङ्गलपुर, पटिहानी, शिवनगर शुक्रनगर गाउँविकास समिति मिलेर उपमहानगरपालिका बनेको हो भने चित्रवन र नारायणी नगरपालिका तथा कविलास गाविस मिलेर महानगरपालिका बनेको हो । महानगरमा २९ वटा वडा रहेका छन् । जसमा प्रमुख, उपप्रमुखसहित १५० जना जनप्रतिनिधि निर्वाचिन हुनेछन्। 

महानगरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, दुईवटा मेडिकल कलेज, सरकारीस्तरका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालसहितका दुई दर्जन निजी अस्पताल रहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट राजधानी काठमाडौँं छिर्ने मुख्य नाकाका रुपमा भरतपुर रहेको छ । नारायण अधिकारी / रासस 

प्रकाशित: २० वैशाख २०७४ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App