१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुलुक निर्वाचनमय

ललितपुर महानगरपालिकाका लागि उम्मेदवारी दर्ता गराउँदाको भीड। तस्विरः विजय राई

काठमाडौं— लामो अन्योलका बीच आगामी वैशााख ३१ गते पहिलो चरणअन्तर्गत हुने ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनमा भाग लिने उम्मेदवारको मनोनयन दर्ता उत्साहपूर्ण तरिकाले सम्पन्न भएको छ।

पहिलो चरणअन्तर्गतको निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि आठ बजेसम्म उम्मेदवारको मनोनयन भव्यरुपमा सम्पन्न भएको हो। मनोनयन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म तोकिए पनि सो समयभित्रै लाइनमा बसेका उम्मेदवारको केही ठाउँमा ७ बजेसम्म मनोनयन दर्ता भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । बिहान १० बजेसम्म मनोनयन सुरु भए पनि कतिपय ठाउँमा राजनीतिक दलले उम्मेदवार टुंग्याउन ढिला गरेका कारण मनोनयन ढिलासम्म चलेको हो।

स्थानीय तहमा मंगलबार मनोनयन पत्र दर्ता गराएका उम्मेदवारउपर कुनै उजुरी भएको अवस्थामा सर्वसाधारणले उजुरी गर्न समेत पाउनेछन् । त्यसका लागि बुधबार बिहान १ बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर उजुरी दिन सकिने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

१२ दिनपछि हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलतर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले देशभरका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबारै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशनसमेत गरिसकेका छन्।

निर्वाचन आयुक्त इला शर्माले पहिलो चरणअन्तर्गत निर्वाचन हुने २ सय ८३ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहपूर्ण ढंगले उम्मेदवारको मनोनयनपत्र दर्ता भएको बताइन्। ‘निर्वाचनको मिति घोषणा भएदेखि नै निर्वाचन हुनेमा हामी ढुक्क थियौं तर आज मनोनयन दर्ताले सर्वसाधारणलाई ढुक्क बनाएको छ, उत्साह थपेको छ।’ आयोगका अनुसार मनोनयन दर्ताका क्रममा कुनै पनि ठाउँमा अवरोध भएको छैन। आयुक्त शर्माले उम्मेदवारी दर्ताले मुलुकलाई नै निर्वाचनमय बनाएको बताइन्।

स्थानीय तहमा मंगलबार मनोनयन पत्र दर्ता गराएका उम्मेदवारउपर कुनै उजुरी भएको अवस्थामा सर्वसाधारणले उजुरी गर्न समेत पाउनेछन् । त्यसका लागि बुधबार बिहान १ बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर उजुरी दिन सकिने आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । सोही दिन निर्वाचन अधिकृतको कार्यालयले मनोनयन पत्र जाँच गर्नेछ । बिहीबार निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

सोही दिन दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन समेत सक्नेछन् । शुक्रबार बिहान १० बजेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। सोही दिन निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । त्यसपछि उम्मेदवारले चुनावी प्रचारप्रसारलगायतका कार्यक्रम अघि बढाउनेछन्।

निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारले वैशाख ३० गते बिहान ७ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । ‘मतदान हुनु २४ घन्टाअगाडि मौन अवधि सुरु हुने भएकाले त्यस अवधिमा राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन्,’ आयुक्त दाहालले भने, ‘अब उम्मेदवारले सभ्य र शिष्ट ढंगले वैशाख ३० गते बिहान ७ बजेसम्म आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउनेछन्।’ मतदानको दिन वैशाख ३१ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदाता सम्बन्धित मतदान केन्द्रमा पुगेर भोट खसाल्नेछन्।

मतदानका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र अनिवार्य गरेको छ । मतदाता परिचयपत्र छपाइको काम सकिएको र जिल्ला पठाउने काम भइरहेको आयोगले जनाएको छ।

सरकारले फागुन ९ गते देशैभर एकैचरणमा स्थानीय तह निर्वाचनको घोषणा गरे पनि वैशाख ११ गते सरकारले ३ वटा प्रदेशमा पहिलो चरण र ४ वटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गराउने निर्णय गरेको थियो । यसअनुसार वैशाख ३१ गते पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा निर्वाचन हुँदैछ । पहिलो चरणमा काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथ गरी ४ महानगरपालिका, हेटौंंडा उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार कुल २ हजार ५ सय ९८ वडाका लागि त्यति नै वडाध्यक्ष र चार सदस्यका दरले १० हजार ३ सय ९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ । आयोगका अनुसार प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मतदान गर्नेछन् । पहिलो चरणको निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ।

प्रकाशित: २० वैशाख २०७४ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App