१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उम्मेदवारमा जिल्लास्तरीय नेताको बाहुल्य

काठमाडौं— बीस वर्षपछि हुन लागेको स्थानीय निर्वाचनअन्तर्गत वैशाख ३१ गते पहिलो चरणको चुनावका लागि मंगलबार राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता सूची हेर्दा ठूला दलले स्थानीय तहमा जिल्लास्तरीय तथा स्थानीय नेताकार्यकर्तालाई स्थान दिएका छन् भने महिला उम्मेदवारलाई उपप्रमुखमै सीमित राखेको देखिन्छ । केही स्थानमा दलहरुबीच तालमेलसमेत भएको छ।

३, ४ र ६ प्रदेशका ३४ जिल्लाका २ सय ८३ तहमा उम्मेदवारी दर्ता गर्दा ठूला दलले प्रमुख पदमा पुरुष उम्मेदवारलाई नै प्राथमिकता दिएका छन् । पार्टीले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा नगन्य रुपमा मात्र महिलालाई उम्मेदवार उठाएका छन् । संविधानमै स्थानीय तहको प्रमुख तथा उपप्रमुखमध्ये एकमा अनिवार्य रुपमा महिला उम्मेदवार उठाउनुपर्ने प्रावधान राखिएपछि ठूला दलले महिलालाई उपप्रमुखमा सीमित राखेको देखिन्छ।

‘धैरै पार्टीले महिलालाई उपप्रमुखमा उठाएको भन्ने सुनेको छु,’ कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले भने, ‘हाम्रो समाजको परम्परागत धारणामा बिस्तारै परिवर्तन आउनुपर्छ । महिला सक्षम छन् र जिम्मेवारी दिए पूरा गर्छन् । उनीहरुका लागि ढोका खुला हुनुपर्छ ।’

एमालेले २ सय ८३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । एमालेले ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामध्ये थोरैमा मात्र अन्य दलसँग तालमेल गरेर उम्मेदवारी दिएको छ । एमालेले २ सय ६६ स्थानीय निकायको प्रमुखमा उम्मेदवारी दिएकोमा महिला ८ जना मात्र परेका छन् । उपप्रमुखमा भने झन्डै सतप्रतिशत उम्मेदवार महिला छन्।

‘अन्य पार्टीले पनि उपप्रमुखमा महिला उठाउने सम्भावनाले गर्दा  प्रतिस्पर्धा गर्न सहज हुन्छ भनेर महिलाले उपप्रमुख रोजेका छन्,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले नागरिकसँग भने, ‘जुन संख्या महिलाको आएको छ, उत्साहजनक छ ।’

एमालेले नुवाकोटको सूर्यगढी गाउँपालिका अध्यक्षमा बिन्दा ढुंगाना, रसुवाको कालिका गाउँपालिका अध्यक्षमा सीता अधिकारी, बागलुङ तमानखोला गाउँपालिका अध्यक्षमा दिलकुमारी छन्त्याल, म्याग्दीको धौलागिरि गाउँपालिका अध्यक्षमा थमसरा पुन, तनहुँ भानु नगरपालिका प्रमुखमा भगवती न्यौपाने, नवलपुर कावासोती नगरपालिका प्रमुखमा चन्द्रा पुन, स्याङ्जा पुतलीबजार नगरपालिका प्रमुखमा सीमा क्षेत्री र गोरखा चुम्नुब्री गाउँपालिका अध्यक्षमा सूर्यकुमारी गुरुङलाई उम्मेदवार उठाएको छ।

एमालेले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छैन । ‘अहिले उपप्रमुखमा उठ्नेले आगामी निर्वाचनमा नेतृत्व विकास गर्छन् र प्रमुखमा दाबी गर्छन् । यो सकारात्मक हो,’ भट्टराईले भने।

मंगलबार साँझसम्म नागरिकलाई प्राप्त सूचीअनुसार नेपाली कांग्रेसले उम्मेदवारी दिएका मध्ये ३५ महानगर तथा नगरपालिकामा प्रमेख पदमा महिलालाई उम्मेदवार बनाएको छैन।

काठमाडौंका एक महानगरपालिका र १० वटा नगरपालिका, भक्तपुरका ४ नगरपालिका, ललितपुरको एक महानगर र दुई नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार सबै पुरुष छन्। यस्तै चितवन, नवलपरासी, स्याङ्जा, कास्की र पर्वतका महानगर तथा नगरपालिकामा पनि कांग्रेसले महिलालाई प्रमुखको पदमा उठाएको छैन।

‘धैरै पार्टीले महिलालाई उपप्रमुखमा उठाएको भन्ने सुनेको छु,’ कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले भने, ‘हाम्रो समाजको परम्परागत धारणामा बिस्तारै परिवर्तन आउनुपर्छ । महिला सक्षम छन् र जिम्मेवारी दिए पूरा गर्छन् । उनीहरुका लागि ढोका खुला हुनुपर्छ ।’ केही स्थानमा महिलालाई पनि कांग्रेसले प्रमुख पदमा उम्मेदवार बनाएको उनले बताए । सिन्धुलीको दुधौली नगरपालिकाको प्रखुखमा कांग्रेसले गंगा दाहाललाई उठाएको कांग्रेसका केन्द्रीय प्रतिनिधि रामकृष्ण यादवले बताए।

नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाभित्रका २१ महानगर तथा नगरपालिकामध्ये २ स्थानमा महिला उम्मेददारलाई प्रमुख पदमा उठाएको छ । माओवादीको तर्फबाट काठमाडौंको टोखा नगरपालिका प्रमुखमा कल्पना शर्मा र भक्तपुरको मध्यपुर थिमी नगरपालिका प्रमुखमा प्रतिमा श्रेष्ठले उम्मेदवारी दिएका छन्। माओवादीले थिमीमा उपप्रमुख पनि महिलालाई नै उठाएको छ। माओवादीले भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाललाई उम्मेदवार बनाएको छ।

केही साना दलले भने स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार उठाएका छन् । विवेकशील पार्टीले काठमाडौं महानगरपालिकाको प्रमुखमा रञ्जना न्यौपानेलाई उठाएको छ ।  नेपाल मजदुर किसान पार्टीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुखमा महिला मनशोभा त्वातीलाई उठाएको छ।

महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गर्नुअघिका दिनमा ठूला दलका केन्द्रीय सदस्यको चर्चा चलेको भए पनि उम्मेदवारी दर्ता गर्दा भने ती नाम देखिएनन्। काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मन्त्रीद्वय नवीन्द्रराज जोशी र गगन थापा, एमालेका योगेश भट्टराईलगायतको नाम चर्चामा आएको भए पनि मंगलबार उम्मेदवारी दर्तामा उनीहरुके नाम देखिएन । ठूला दलले स्थानीय निकायमा जिल्लास्तरीय नेतालाई उम्मेदवार बनाएका छन्।

ठूला दलले केही ठाउँमा तालमेल समेत गरेका छन् । काठमाडौं महानगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको छ । ललितपुर महानगरपालिकामा राप्रपा र एमालेबीच तालमेल गरिएको भनिए पनि दुवैले उम्मेदवारी दिएका छन् । यस्तै, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा एमाले र नेपाल मजदुर किसान पार्टीबीच तालमेल भएको छ । ठिमी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा नेपाल मजदुर किसान पार्टीको उमेदवारलाई उठाइएको छ । यस्तै, एमाले र माओवादीबीच लमजुङ, तनहुँ र बागलुङका केही स्थानीय तहमा तालमेल भएको छ।

प्रकाशित: २० वैशाख २०७४ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App