१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

समय चिनेका भानुभक्त

गोविन्दप्रसाद आचार्य

नेपालीका बस्ती भएका सबै ठाउँमा वर्षैपिच्छे असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाइन्छ। २०४६ सालपूर्व त भानुजयन्तीका उपलक्ष्यमा शिक्षणसंस्थामा पठनपाठन बन्द गरेर भानुका विषयमा चर्चापरिचर्चा गरिन्थ्यो। नेपाली भाषासँग वा भानुभक्तका कृतिसँग जोडिएको नेपाली साहित्यको परम्परा र राष्ट्रिय भाव नेपाली बस्ती रहेका सबै स्थानमा व्याप्त छ। नेपाली संस्कृति र साहित्यको स्मरण गर्ने दिनका रूपमा भानु जयन्तीलाई लिइन्छ। २०४६ सालको परिवर्तनपछि भने महŒव दिएर भानुजयन्ती मनाउन छोडिएको छ। रानीपोखरीमा गएर सरकारका मन्त्रीहरूले भानुभक्तको शालिकमा माल्यार्पण गर्दैमा भानु जयन्तीको महत्व बढ्न सक्दैन। वर्तमान अवस्थामा नेपालभित्र विभिन्न प्रकारका राष्ट्रियताका रूप देखापरिरहेका छन्। तीमध्ये कतिपयले नेपाली जातिको चोखो एकतामा बाधा पुर्‍याएकोप्रति पनि हाम्रो ध्यान जानुपर्छ। भानुभक्त र पृथ्वीनारायण शाहले कुनै जाति, भाषा र संस्कृतिको मौलिकतामाथि अपमान नगरी, उपेक्षाभाव नराखी सग्लो राष्ट्र जोगाउन र बनाउनका लागि टुक्रिएका राष्ट्र र राष्ट्रियतालाई जोड्ने काम गरेका छन्। हिजो भाषालाई सूत्र र मन्त्र बनाएर खल्तीभित्र राख्ने पण्डितहरूका गलत कार्यले केवल सीमित व्यक्तिमा अध्यात्मवाद र साहित्य थियो। भानुभक्तले त्यस्तो परम्पराको विरोध गरी सरल, सुबोध र पठनीयरूपमा जनसाधारणका बीच रामकथा हरेक झुपडीमा पुर्‍याए। तत्कालीन अवस्थामा आफ्नो प्राण बचाएर राणाप्रति गरिएका कटाक्षमूलक व्यंग्य र कान्तिपुरको वर्णन गर्दै लेखिएको वर्णनात्मक कवितामा पनि सामन्तवादको मोटामोटी झलक पाइन्छ।

 भानुभक्तका विषयमा धेरैले अनुसन्धान गरेका छन्। तर्क–वितर्क, गुण–दोषका आधारमा समालोचकहरूले आआफ्नो दृष्टिकोण प्रकट गरेका छन्। उनलाई परम्परावादी सोचबाट मात्र हेरियो भने सर्वथा भूल हुन जान्छ। किनभने, उनी आध्यात्मिक चिन्तक र कविमात्र होइनन्। सामाजिक, प्रकृतिवादी, सुधारवादी र व्यंग्यकार पनि हुन्। तत्कालीन पण्डितहरूले भानुभक्तलाई विभिन्न दोष लगाई गाली गरेको तीतो यथार्थलाई पनि भुल्नु हुन्न। आफूलाई मन परेन भनेर नातिले बाजेका जुँगा उखेल्न मिल्दैन। यहाँ एउटा प्रसंग उठाउनु उचित हुन्छ। आन्दोलनको उग्रतामा अराजकतावादको नसा पिएर पृथ्वीनारायण शाह र भानुभक्तका शालिकहरू तोडिए, जसमा मूर्त र ठोसरूपमा कुनै कारण देखिन्न। नकारात्मक चस्मा लगाउनेहरू यस्तो देख्छन्– पृथ्वीनारायण शाहले बलपूर्वक राष्ट्र एउटै बनाए, भानुभक्तले नेपाली भाषा फैलाए! यस्ता गैरजिम्मेवार तथा बालबुझाइ सस्तो लोकप्रियता कमाउन गरिएका पानीका फोकाजस्ता तर्क वस्तुवादी हुन सक्दैनन्। 'नाच्न जान्दैन मारुनी आँगन टेढो,'  'टिपेर खान नसकेर गुलियो अंगुरलाई अमिलो' घोषणा गर्दै हिँडेजस्तै ठीक अहिलेको स्थिति पनि पृथक छैन। भाषालाई सूत्र बनाएर खल्तीमा राख्ने संंस्कृत भाषा पढेका एकाध व्यक्तिले मात्र रामायण पढ्नुपर्छ भन्ने सोचका विरुद्धमा सजिलो, सरल लयबद्धरूपमा जनस्तरको भाषामा रामायाण अनुवाद गर्नु पनि सामाजिक काम नै हो। अराजक ढंगमा उनीमाथि लगाइएका आरोप निराधार छन्। साहित्यिक मूल्य–मान्यतामा आधारित रहेर गरिने उनको चर्चा–परिचर्चा, गुण–दोष समालोचनाको सिद्धान्तले मात्र छुट्याउन सक्छ।    

  भानुभक्त पढ्नका लागि बनारस गएका थिए। तत्कालीन भारतमा बेलायतले शासन गरेको थियो। बृटिस साम्राज्यको प्रभाव भारतमा परेकाले भानुभक्तमा पनि आन्तरिकरूपमा सुधारको चेत खुलेको हुनुपर्थ्यो। त्यस्तो चेतले विद्यमान समाजका विषयमा लेख्न सम्भव हुन्थ्यो। 

कहीँ भोट र लन्डन चीनसरी।

कहीँ मालभरि गल्ली छ दिल्लीसरी।।

लखनौ पटना मद्रास सरी।

अलकापुरी कान्तिपुरी नगरी।।

विकासको विषयमा यति गहकिला पंक्ति रचना गर्ने कविमा कवित्वभावमा विभिन्न सहरको तुलना गर्न सक्ने कल्पनाको उच्च उडान थियो। तर, विकासप्रति सचेत कविले समाज सुधारका लागि चर्चा नगरी उल्टो समाजका बबुरा ब्राह्मण र नारीलाई गाली गरेका छन्। गजाधर सोती र उनकी पत्नी आफ्ना मित्र तारापतिहरूको खोइरो खनेका छन्। यस्ता भूल गर्नुमा भानुभक्तको दृष्टि नपुगेको हुन सक्छ। कुनै बेलाका लहड हुन् पनि भन्न सकिन्छ। यस्ता ससाना भूलबाहेक उनले ठूलो भूल के गरे? भानुभक्तका शालिक तोड्नेले जवाफ दिनुपर्छ। भानुभक्तले आफ्नो प्रतिभा देखाएर के अपराध गरे? के उनले त्यस्तो अवस्थामा कलम भाँचेर बस्नुपर्थ्यो? भानुभक्तले सुधारका कार्य नगरेका होइनन्। उनले लेखेका श्लोकहरूबाट राणाशाही कति क्रूर थिए भन्ने विषमा सानो झलक भेट्न सकिन्छ।

रोज् रोज् दर्शन पाउँछु चरणको ताप छैन मनमा क्यै छु।

रातभर नाच पनि हेछु खर्च नगरी ठूला चयनमा म छु।।

लामखुट्टे उपियाँ उडुुस संगी छन् यिनकै लहरमा बसी ।

लामखुट्टेहरू गाउँछन् ती उपियाँ नाच्छन् म हेर्छु बसी।।

यी पंक्तिले राणालाई चोटिलो जवाफ लक्ष्यार्थरूपमा दिएका छन्। घुमाउरो शैली प्रयोग गरी राणाशासनलाई संकेत गर्दै तिनका मुटुभित्र नजानिँदो गरी व्यंग्यको तिखो सियो रोपेका छन्। यसबाट राणाशासनले जनताप्रति गरेको दमन कुन प्रकारको थियो भनेर सजिलै अनुमान गर्न सकिन्छ। उनले हिजोदेखि आजसम्मको कर्मचारीतन्त्रले गर्दै आएका विशेषताबारे विषयमा यसरी चर्चा गरेका छन्।

बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली।

बोल्छन् त ख्याल गर्‍याझैँ अनि पछिपछि दिन्दिन् भन्छन् भोलिभोलि।

कि ता सक्तिन भन्नु कि ता छिन्छिन् क्यान भन्छन् यी भोलि।।

भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली। 

 यी पंक्तीले अड्डाअदालत वा सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको मनपरीतन्त्र र अदूरदर्शिता, हेप्ने–होच्याउने प्रवृत्ति तथा चरित्रका विषयमा राम्ररी प्रकाश पार्छन्। यति खराब कर्मचारीतन्त्रले तत्कालीन समाजलाई कति थिचोमिचो गरेको रहेछ भन्ने विषयमा पनि उल्लिखित पंक्तिले राम्ररी प्रष्ट पार्छन्। सामान्य पदमा बसेका कर्मचारीहरूको निरंकुशसता, स्वेच्छाचारिता र मनपरीतन्त्र यति क्रूर छ भने ठूलो पदमा रहने शासकको षड्यन्त्र र दमन कुन प्रकारको थियो होला? जोकोहीले सहज अनुमाान गर्न कठिन पर्छ। यी पंक्तिले विगत र वर्तमानका बीच ताŒिवक समानता प्रकट गर्छन्।

भानुभक्तले समाज सुधारका ससाना झिल्का नदेखाएका होइनन्, तर यति गहकिला पंक्ति लेख्ने कवि पुरानै परम्परामा अल्मलिएबाट यो स्पष्ट हुन्छ कि, कविले आफ्नो धरातल राम्ररी पहिचान नगरी समाजलाई आध्यात्मिक चेतनाभित्रै अल्मल्याउन खोजेको जस्तो देखिन्छ। तर, त्यो पनि पूर्ण सत्य होइन। कविले थोरै लेखे, तर उनका कविता युगीन चेतनासहितका छन्। परम्परावादीमात्र भन्ने हो भने युगीन चेतना कसरी उनमा आयो? तत्कालीन समाज वा शासनसत्ताको विषयमा अनुसन्धान गर्नुपरेमा उनले रचना गरेका कविताहरू आवश्यकता महसुस अवश्यक हुन्छ।

 भानुभक्त प्रकृतिवादी पनि थिए। प्रकृतिमा रमाउँथे, जहाँ गयो त्यहीँको वर्णन निकै सुन्दर ढंगबाट गरेका छन्। बालाजुको वर्णनबाटै यो कुरा बुझ्न सकिन्छ। 

कति दिनपछि मैले आज बालाजी देख्याँ।

पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ।।

वरिपरी लहरामा भुलिबस्या चरा छन्।

मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।

यी पंक्तिले भानुभक्तको कवित्व शक्ति एवं प्रकृतिप्रति उनको मोह छर्लंग पारिदिन्छन्। छन्दमा पारंगगत उनी कविताका उच्चकोटीका शिल्पी थिए। प्रकृतिसँगको निकट सम्बन्धलाई वर्णनात्मक शैलीमार्फत् लेख्नु भानुभक्तका विशेषता हुन्।

यसकारण पनि कवि भानुभक्त आदिकविको मान पाउनका लगि हरेक दृष्टिकोणबाट लायक छन्। उनले तत्कालीन समयमा जेजति लेखे वा जस्ता कार्य गरे, ती प्रभावशाली र युगीन छन्। यस्ता व्यक्तित्वको अवमूल्यन गरी शालिकमा आक्रमण गर्नुले राष्ट्रवाद बलियो पार्दैन न त हामीबीचको सहिष्णुतालाई नै मलजल गर्छ।

प्रकाशित: १ श्रावण २०७३ ०४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App