१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

बेथितिपूर्ण विकास

राजधानी काठमाडौं यतिबेला बेथिति विकासले आक्रान्त छ। कुनै पनि देशको राजधानी सहर पाहुनाका निम्ति एउटा सम्झनायोग्य ठाउँ हो। काठमाडौं उपत्यकामा आउने स्वदेशी हुन् वा विदेशी पाहुना यहाँको भयाबह अवस्था देखेर तर्सिने अवस्था छ। राजधानी काठमाडौंमा आइपुगेका व्यक्तिका निम्ति एउटा युद्धग्रस्त क्षेत्रमा अवतरण भएको अनुभव हुन्छ। यतिबेला निहुँ मेलम्ची खानेपानी आयोजना बनेको छ। मेलम्ची खानेपानीका पाइप बिछ्याउन खन्ने काम भइरहेको छ। त्यसले राजधानीलाई अस्तब्यस्त तुल्याएको छ। ठेक्का सम्झौताअनुसार जसले खन्ने हो, उसैले त्यसलाई पहिलेकै अवस्थामा पुर्‍याउनुपर्ने हो। अहिले बल्ल त्यो काम हुँदैछ। तर त्यसको गति अत्यन्त सुस्त छ। कोटेश्वरमा पानी चुहिएर ताल बनेको छ, स्थानीय बासिन्दा त्यो अवस्था देखेर दिक्क छन्। सरोकारवाला निकायले स्थिति आकलन गरेको छैन। त्यसैले जुन हिसाबले काम छिटो हुनुपर्ने हो भएन। सर्वसाधारणलाई असहज नहोस् भनेर यस्तो काम समयमै पूरा गर्नुपर्ने हो। मूल सडकहरूबाट सहरका उच्च ओहदाधारीहरू हिँड्ने भएकाले काम केही छिटो भएको छ। तर भित्री सडकहरूको भयाबह अवस्थाको कुनै हिसाब छैन। राजधानीभित्र हिँड्ने बालबालिका, वृद्ध, शारीरिकरूपमा अशक्त व्यक्तिको अवस्था अत्यन्त कष्टकर भएको छ। यसमा राज्यका निकायको ध्यान पुग्न सकेको छैन।

राज्य संयन्त्र यति धेरै असंवेदनशील हुन्छ भन्ने यसअघि कहिल्यै महसुस भएको थिएन। एक, समयमा कुनै पनि निर्माण कार्य पूरा हुँदैनन्। दुई, सम्बन्धित ठेकेदारले सम्बन्धित कार्यालयलाई नटेरेको भन्ने गुनासो पटक–पटक सुनिन्छ। तीन, सरोकारवाला निकायका कर्मचारीले यसलाई आफ्नो जिम्मेवारीको विषय बनाएनन्। चार, सरकार सञ्चालन गर्ने व्यक्तिमा विकास निर्माणको काम समयमै पूरा नहुनुमा कमजोरी गर्ने पक्षलाई सजग गराउने इच्छाशक्ति अभाव देखिएको छ। संसारभर यस्ता सहरमा विकास निर्माणको काम हुन्छ। तर, त्यो काम अत्यन्त छिटो ढंगले पूरा गरिन्छ। मानिस सुतेका बेला काम भइरहेको हुन्छ। अनि दिउँसो फेरि सामान्य अवस्थामा ती ठाउँलाई फर्काइन्छ। राजधानीका कपन, बौद्धलगायतका क्षेत्रमा यतिबेला अत्यन्तै खराब अवस्था छ। बौद्धको सडक अत्यन्त ब्यस्त छ। तर त्यहाँ लगेर बेलाबेलामा ढुंगा, रोडा हाल्नेबाहेक त्यसलाई पिच गर्नुपर्ने आवश्यकता सम्बन्धित संस्थाले महसुस गरेको देखिँदैन। महांकाल खानेपानी कार्यालय बाहिर सडक भत्काएको हप्तौं भइसकेको छ। त्यहाँबाट गाडी अगाडि बढ्दैनन्। तर त्यसलाई समयमै सम्पन्न गर्नुपर्ने हतार सम्बन्धित संस्थामा देखिएको छैन। यतिबेला वाग्मती किनारामा रहेको पर्खाल भत्काएर फेरि अर्को बनाउने काम धमाधम भइरहेको छ। कुनै बेला स्थानीय बासिन्दाले बनाएका फूलका बगैँचा ध्वस्त पार्ने काम भइरहेको छ। त्यो कामका लागि बजेट खर्च गरेको धेरै वर्ष भएको छैन। केही वर्षमै फेरि त्यो पर्खाल भत्काएर त्यसैको ढुंगा नयाँ पर्खालमा प्रयोग भइरहेको छ। निश्चित छ, हिसाब त नयाँ ढुंगाकै रूपमा फेरि नयाँ पर्खालमा प्रयोग हुन्छ।

राजधानी काठमाडौंको विकासको बेथिति कस्तोसम्म छ भने कहाँ कुन ठेकेदारलाई जिम्मा दिइएको हो भन्ने प्रष्ट बुझिने गरी साइनबोर्डसमेत राखिएको छैन। त्यो ठेक्काका लागि कति खर्च हुँदैछ भन्ने पनि सर्वसाधारणलाई थाहा हुँदैन। बनाउने कामको प्रगति अत्यन्तै न्यून छ। तर जतासुकै भत्काएर छाडिएको छ। तत्काल नबनाउने हो भने किन भत्काएर असरल्ल छाड्नु? यस्तो असंवेदनशील स्थिति राजधानीमा जतासुकै देखिन्छ। विशेषगरी पछिल्ला वर्षमा विकास भएको घना आवादी क्षेत्र चावहिलको अवस्था यतिबेला अत्यन्तै दुःखद् छ। चारैतिर धुलो उडिरहेको छ। पानी पर्दा रोपाइँ गर्न तयारी गरेजस्ता सडक छन्। स्थानीय तहमा सर्वदलीय संयन्त्र नाममा अगस्ती संरचना छ जसले आएको सम्पूर्ण बजेट स्वाहा पार्छ, विकास–निर्माणको काम गर्दैन। चक्रपथ बाहिर रहेका क्षेत्रमा पहिले गाउँ विकास समिति हुँदा बरु विकास भएको थियो, अहिले विभिन्न नगरपालिका बनेपछि त्यहाँ कर्मचारी नेतृत्वले आशलाग्दो गरी काम गरेको छैन। राजधानीको बेथितिपूर्ण विकासले यहाँका नागरिक पीडित भए पनि त्यसविरुद्ध आवाज उठाउने अवस्था पनि छैन। महानगरीय बसाइँका ब्यस्तता आफ्नै हुन्छन्। हरेक व्यक्तिले जीवन यापनका निम्ति दैनिक संघर्ष गर्नुपर्ने हुन्छ। यस्तो बेलामा सरोकारवाला निकायले भने आफ्नो कामलाई नियमित गरी सर्वसाधारणको जीवन सहज बनाउनुपर्ने हुन्छ। तर स्थिति त्यस्तो रहेन। यो असंवेदनशील अवस्थाको निकास खोज्न सर्वसाधारणले आफैँ उठ्ने बेला भएको छ।  

प्रकाशित: १९ वैशाख २०७४ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App