१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अझै टुंगो लागेनन् उम्मेदवार

काठमाडौं- नेकपा एमालेले पोखरा र भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ भने काठमाडौं र ललितपुरका मेयर तथा उपमेयर उम्मेदवार मंगलबार बिहान छलफल गरेर टुंगो लगाउने भएको छ।

सोमबार बसेको स्थायी कमिटी बैठकले पोखरा लेखनाथ महानगरपालिकामा मानबहादुर जिसीलाई मेयर तथा मञ्जु गुरुङलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यसैगरी भरतपुर महानगरपालिकामा देवी ज्ञवाली र दिव्या आचार्यलाई क्रमशः मेयर र उपमेयर उम्मेदवार बनाउने निर्णय भएको छ।

जिसी कास्की जिल्ला कमिटीका अध्यक्ष हुन् भने गुरुङ अखिल नेपाल महिला संघ कास्कीकी अध्यक्ष हुन्। त्यसैगरी चितवन जिल्ला विकास समितिमा पूर्वउपसभापति ज्ञवाली एमाले सल्लाहकार समितिका सदस्य हुन् भने आचार्य जिल्ला नेता हुन्।

काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख उम्मेदवारको टुंगो मंगलबार बिहान अध्यक्ष केपी ओली र नेता माधव नेपालसहितले स्थानीय अगुवा कार्यकर्तासँग छलफल गरेर लगाउने निर्णय भएको छ।

'काठमाडौंमा अहिले सिफारिस व्यक्तिबाट वा बाहिरबाट उम्मेदवार बनाउने भन्ने विषयमा चुनाव हाँक्ने अगुवा स्थानीय कार्यकर्तासँग छलफल गरेर टुंग्याइनेछ,' सचिव योगेश भट्टराईले भने।

काठमाडौंमा प्रदेश कमिटीले जीवनराम श्रेष्ठ, सावित्री भुसाल र विद्यासुन्दर शाक्यको नाम सिफारिस गरेको छ। त्यसबाहेक सोमबारको स्थायी कमिटी बैठकमा केशव स्थापित र गौरी प्रधानको नाममा समेत छलफल भएको छ। बैठकमा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल र उपाध्यक्ष वामदेव गौतमले स्थापितको नाम लिएका थिए। अरु नेताले प्रधानको नाम अघि सारेका थिए।

ललितपुरमा हरिकृष्ण व्यञ्जनकारका बारेमा सहमति भए पनि सोमबारको बैठकमा ज्ञानेन्द्र शाक्यको समेत नाम आएको छ।

प्रकाशित: १९ वैशाख २०७४ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App