१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महाभियोग फिर्ता लिन एमाले माग

काठमाडौं- नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव कांग्रेस र माओवादीको स्वेच्छाचारिताको पराकाष्टा भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। एमाले स्थायी कमिटीको सोमबारको बैठकले कार्कीविरुद्धको प्रस्ताव पूर्वाग्रह र दुसाशयपूर्ण भएको दाबी गर्दै त्यसले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गरेको जनाएको छ।

'पूर्वाग्रह र दुराशयपूर्ण उक्त प्रस्ताव विधिको शासन र स्वतन्त्र न्यायालयमाथिको ठाडो हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ', एमालेका सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यो प्रस्ताव लोकतान्त्रिक व्यवस्थाअन्तर्गतको संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरणको सिद्धान्तका विरुद्धमात्र छैन, यसले नेपाली कांग्रेस र माओवादी केन्द्रको स्वेच्छाचारिताको पराकाष्टासमेत प्रकट गरेको छ।'

कांग्रेस तथा माओवादी केन्द्रका २ सय ५९ जना सांसदले प्रधानन्यायाधीश कार्कीले कार्यपालिकाको अधिकार क्षेत्रभित्र हस्तक्षेप गरेको भन्दै आइतबार संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका छन्। महाभियोग दर्तासँगै कार्की पदबाट निलम्बनमा परेकी छन्।

एमालेले सर्वसत्तावादी र अधिनायकवादी शैलीमा कार्कीविरुद्ध महाभियोग ल्याएको जनाएको छ। 'सर्वसत्तावादी तथा अधिनायकवादी शैलीमा एकजना निर्भीक, दक्ष तथा कर्तव्यपरायण प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावको निन्दा गर्दै उक्त प्रस्ताव तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्छ', विज्ञप्तिमा भनिएको छ।

यसअघि चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग प्रस्तावको विरोध गरेका थिए। उनले सरकारको निर्देशन र नियन्त्रणमा नचलेको आरोपमा कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याएको बताए।

प्रकाशित: १९ वैशाख २०७४ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App