१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माछामा आत्मनिर्भर

रेखा भुसाल

भैरहवा- रुपन्देहीमा व्यवसायिक माछा पालन गर्ने किसान बढेका छन्। तुलनात्मक रुपमा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यवसायिक माछा पालनतर्फ आकर्षित भएका हुन्।

कृषि विकास कार्यालय, रुपन्देहीका अनुसार जिल्लामा २१ सय ५० परिवार कृषकले व्यावसायिक माछा पालन गरेका छन्। ५७ वटा मत्स्य पालक कृषक समूह छन्। जिल्लामा हाल एक हजार हेक्टरमा व्यावसायिक माछा पालन भइरहेको छ। १ सय २५ हेक्टरमा प्राकृतिक जलासय, २ सय ५० हेक्टरमा सार्वजनिक र ६ सय २५ हेक्टरमा निजी कृत्रिम जलासय निमार्ण गरी माछा पालन गरिएको छ। ३ हजार ८ सय ५० पोखरीमा माछा पालिएको छ।

कार्यालयका अनुसार यहाँका प्राकिृतिक र निजी जलासयबाट वार्षिक चार हजार पाँच सय मेटि्रक टन माछा उत्पादन हुन्छ। उत्पादित माछाबाट वार्षिक एक अर्ब आम्दानी हुने कृषि कार्यालयका मत्स्य विकास अधिकृत रमेश जयसवालले बताए। यहाँ कमन कार्प, ग्रास कार्प, रहु, नैनी, सिल्भर, बिगहेड, भाकुर, बैखी जातका माछा उत्पादन हुन्छ। दयानगर छपिया, मानमटेरिया, अमुवा, हर्नैया, सूर्यपुरा, मैनहिया, पश्चिम अमुवा, टिकुलीगढी माछा पालनका पकेट क्षेत्र हुन्। यिनमा पनि छपिया माछा उत्पादनमा नमुना बनेको छ। २०३६ सालदेखि छपियामा माछा पालन थालिएको हो। माछाका लागि बजार र मूल्यको समस्या नभएकाले यसतर्फ आकर्षित भएको किसान बताउँछन्। भुरा पोखरीमा छोडेको चारदेखि ६ महिनाभित्रमा खान योग्य हुने किसानको भनाइ छ। एक कट्ठा पालेको माछाबाट २५ देखि ३० हजार रुपैयाँसम्म नाफा गर्न सकिने वनधुसडीका माछापालक टंकप्रसाद ज्ञवालीले बताए।

जिल्लामा एउटा सरकारीसहित ६ वटा ह्याचरी छन। १६ वटा मत्स्य नर्सरी छन। ८१ वटा मत्स्य र्फम साना तथा घरेलु उद्योगमा दर्ता भएका छन्। डेढ दर्जन जिउँदो माछा बिक्री केन्द्र छन्। माछामा मात्रै होइन भुरा तथा मत्स्य बीजमासमेत जिल्ला आत्मनिर्भर रहेको कृषि कार्यालयका मत्स्य विकास अधिकृत जैसवाल बताउँछन्।

कृषि कार्यालयका अनुसार जिल्लालाई माछामा आत्मनिर्भर गराउने उद्देश्यले २०६४/२०६५ सालदेखि सुरु फिस मिसन कार्यक्रमअन्तर्गत पोखरी निमार्ण तथा तयारी तथा प्राकृतिक जलासय सुदृढीकरणका लागि एक लाख रुपैयाँसम्म अनुदान व्यवस्था गरिएको थियो।

प्रकाशित: १ श्रावण २०७३ ०४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App