१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निजीस्तरबाट भूकम्प स्मारक पार्क बन्ने

काठमाडौं – निजीस्तरमा भूकम्पमा परी निधन भएकाहरुको स्मृतिमा बुद्ध तथा भूकम्प स्मारक पार्क बन्ने भएको छ। सिन्धुपाल्चोकको पाल्चोक–९ नागिडाँडामा २०७२ वैशाख १२ र २९ गतेको भूकम्पमा परी निधन भएकाहरुको मुक्तिको कामना सहित पार्क बन्न लागेको हो।

बुद्ध तथा भूकम्प स्मारकपार्कमा भूकम्पमा परी सिन्धुपाल्चोकमा निधन भएका ३ हजार ६ सय ६० जनाको अभिलेख राख्ने उद्देश्य लिइएको छ।

‘भूकम्पमा परी निधन भएकाहरु भगवान अभिताभ बुद्धको सुखवति भुवनमा जन्म लिन सकून् भन्ने उद्देश्यले निजीस्रतबाट भूकम्प स्मारक पार्क बनाउन लागेका हौँ,’ पार्क निर्माण समितिका संयोजक छेवाङ लामाले  भने, ‘यो स्मारकमा निधन भएका  सबै धर्मका व्यक्तिहरुको स्मारकसमेत निर्माण हुने छ।’
१८ रोपनी जग्गामा १० करोड ५ लाखको लागतमा पार्क बनाउन लागिएको उनले बताए । पार्कको बौद्ध विधि एवं धर्म परम्परा अनुसार हालै सलङ अर्थात् भूमिपूजा गरिएको र छिटै निर्माणकार्य शुरु हुने लामाले बताए। बौद्ध विधिअनुसार ङवाङ रिम्पोछे गुरुबाट पार्कमा भूमिपूजा गरिएको थियो। पार्कमा विनाशकारी भूकम्पमा सिन्धुपाल्चोकमा निधन  भएकाहरुको नामावलीसहित अभिलेख राखिने छ। पार्क निर्माणका लागि स्थानीयबासीले चन्दा र सहयोग अभियान समेत निर्माण समितिले थालेको छ।

‘यो पार्क हामीले कुनै पनि सरकारी सहयोग बिनै निर्माण गर्ने लक्ष्यका साथ शुरु गरेका हौैं,’ लामाले भने, ‘स्थानीय व्यक्तिहरुले निर्माण समिति निर्माण गरि रकम जुटाउने अभियान शुरु गरेका छौं।’

सांसद् ल्हारक्याल लामाले पार्क निर्माणमा १० लाख र ७ रोपनी आफ्नो जग्गा उपलब्ध गराएको पनि उनले बताए ।

पार्क निर्माण समिति संयोजक छेवाङ लामाका अनुसार ह्योल्मो क्षेत्र धार्मिक, पर्यटकीय र सांस्कृतिक विशेषता बोकेको क्षेत्र भएकाले हेलम्बु गाउँपालिका ३ को नागि डाँडामा पार्क निर्माण गर्न लागिएको हो।
‘ह्योल्मो क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण छ, आठौं शताब्दीमा गुरु पद्यसम्भवले पाइला टेकेको ठाउँ भएकाले पनि आफूहरु यही क्षेत्रमा निर्माण गर्न जुटेका हाैं,’ लामाले भने ‘गुरुले यहीं तपस्या गरेर बुद्धत्व प्राप्त गरेका  कारणले पनि यस स्थल धार्मिक रुपमा उपयुक्त  ठानी छानिएको हो।’  पार्क बनेपछि हरेक वर्षको वैशाख १२ गते पार्कमा बौद्ध धर्मका प्रखर गुरुहरुसहित पाठमोलम, प्राणीदान,दीप प्रज्वलनसमेत गरिने भएको छ ।

‘हरेकको नामा साना स्तुपाहरु बन्नेछन्,’ उनले भने, ‘हाम्रो अपेक्षा छ, हरेक वर्ष वैशाख १२ गते सिन्धुपाल्चोकबासी यस स्थलमा भेला हुनेछन् अनि आफ्ना आफन्तजनको मुक्तिको कामना गर्ने पार्क निर्माण समितिका सदस्य छिरिङ लामाले बताए।  

पार्क निर्माणका लागि स्थानीयले जग्गा उपलब्ध गराउनेदेखि गच्छे अनुसार आर्थिक सहयोग समेत गरेका छन्। स्थानीय लाक्पा ठिन्ले शेर्पाले पार्क निर्माणपछि आन्तरिक पर्यटन प्रवद्र्धन र धार्मिक स्थलको पहिचान बनाउने भएकाले आफूहरु हर्षित भएर निर्माण सहयोग गर्ने बताए।

‘भूकम्पका कारण सिन्धुपाल्चोकमा धेरै क्षति भयो शेर्पाले भने, ‘आगामी दिनमा यस्ता दिन कसैले देख्न नपरोस् भन्ने पनि हाम्रो कामना छ।’ पार्क निर्माणमा स्थानीय निकै अग्रसर भएर लागेको स्थानीय नोर्साङ लामाले बताए ।

‘सकेको सबैले सहयोग गरेका छन, हामी जसले जहाँ जे सक्छौँ सहयोग गरिरहेका छौँ’ लामाले भने ‘आखिर मरेर लानु के छ र ? यो पुण्य कर्म भोलिका पुस्तालाई ऐतिहासिक चिनो पनि हो।

शान्तिमन्त्री अध्यक्ष हुने राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण समितिका सदस्य सचिव राजकुमार केसीले मुलुकमै यस किसिमको पार्क पहिलो पटक बन्न लागेको बताए । ‘धादिङमा पनि पार्क बनेको छ,’ केसीले भने, ‘तर भूकम्पमा परी निधन भएकाको स्मृतिमा बन्ने यो पहिलो हो।’ पार्क निर्माणका लागि समितिले सम्पूर्ण हिसाबले सहयोग गर्ने बचन आफूले दिएको उनले बताए।

प्रकाशित: १८ वैशाख २०७४ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App