१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विवादमा पिल्सिएको महिला क्रिकेट

काठमाडौं- आपसी विवाद, अदालतमा मुद्दा, अन्तर्राष्ट्रिय निकायबाट पनि निलम्बनको अवस्थामा परेको नेपाली क्रिकेट मैदानमा सक्रिय हुन छाडेको धेरै भइसक्यो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले खर्च उपलब्ध गराउने उसकै प्रतियोगितामा राष्ट्रिय टिम खेल्नु र त्यसका लागि सीमित राष्ट्रिय खेलाडीको तयारी गर्नु मै नेपाली क्रिकेट गतिविधि सीमित छन्।

पुरुषमै राष्ट्रिय टोलीमा छानिएका केही खेलाडीबाहेक अरुले ब्याट र बलसँग नाता तोड्नुपर्ने अवस्थाले थलिएको क्रिकेटमा गतिविधि शून्यताको रोग 'क्रोनिक' भइसकेको छ। विभिन्न उमेर समूह र महिला क्रिकेट दयनीय अवस्थामा छ। कुनै बेला महिलामा राष्ट्रिय टोली बनाएको कारण नेपालले आइसिसीको 'ग्लोबल अवार्ड' समेत थापेको थियो। तर अहिले महिलामा राष्ट्रिय प्रतियोगिता नभएको दुई वर्ष भइसकेको छ। २०७१ मा पोखरामा भएको प्रधानमन्त्री कप महिला क्रिकेटरहरुले खेलेको पछिल्लो घरेलु प्रतियोगिता हो।

नेपाली खेलकुदमा प्रचुर सम्भावना बोकेको भनिए पनि क्रिकेट विभिन्न खाले स्वार्थ समूहको चपेटाबाट माथि उठ्न सकेको छैन। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट पनि नेपाली क्रिकेटको दयनीय अवस्थाबाट बेखबर छैनन्। प्रशासनिक रूपमा मिलाउने सबै प्रयास असफल भएपछि राखेप अहिले आफै घरेलु गतिविधि गर्नतिर केन्द्रित भएको छ।

राखेपको आयोजनामा यही साउन दोस्रो साता महिला राष्ट्रिय प्रतियोगिता हुने भएको छ। असोजमा पुरुषको पनि प्रधानमन्त्री कपका नाममा राष्ट्रिय प्रतियोगिता गर्ने राखेपको योजना छ। नेपाल क्रिकेट संघ (क्यान) को विवाद र आइसिसीबाट निलम्बनमा परेपछि घरेलु गतिविधि गर्न राखेपले ६ सदस्यीय क्रिकेट समन्वय समिति बनाएको छ। त्यही समितिले तत्कालका लागि घरेलु क्रिकेटका सबै गतिविधि सञ्चालन गर्ने समितिका संयोजक एवं राखेप सदस्य शैलेश कर्माचार्य बताउँछन्।

'देशभित्र क्रिकेट भएमात्र हामीले अन्तर्राष्ट्रिय स्तरमा सफलता आश गर्न सक्छौं। नेपालको वर्तमान अवस्थामा क्यानले स्वस्फुर्त क्रिकेट विकासको अभियान चलाउन नसक्ने भयो। त्यसकारण सदस्य सचिवज्यूको विशेष पहलमा हामीले घरेलु क्रिकेटका गतिविधि अगाडि बढाउन लागेका छौं,' कर्माचार्यले नागरिकसँग भने, 'आइसिसीले राष्ट्रिय टोलीका सबै कार्यक्रमलाई सहयोग गर्ने भए पनि निलम्बनका कारण अरु उमेर समूह र महिलामा सामान्य सहयोग मात्र गर्छ। घरेलु प्रतियोगितामा सबै आफैले गर्नुपर्ने भएकाले देशकै खेलकुदको सर्वोच्च सरकारी निकाय भएकाले गतिविधि सुचारु गर्नु राखेपको दायित्व हो।'

त्यसो त, काम गर्न क्रिकेटमा संरचना धेरै छन्, तर साँचो अर्थमा यो खेल देशभित्र  'लाबारिस' भइरहेको उनी स्विकार्छन्। क्यानका दुई कार्यसमिति छन्, निर्वाचित र राखेपले बनाएको तदर्थ समिति। तर मैदानमा विकासका काम शून्य छन्। दुई संघ आपसी विवादमा छन्। राखेपले निर्वाचित संघमाथि हस्तक्षेप गर्दै तदर्थ समिति बनाएर आफूलाई पनि विवादको हिस्सेदारको कित्तामा उभ्याएको छ। अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ। आइसिसीले राजनीतिक हस्तक्षेपको बहानामा नेपाललाई निलम्बन गरेको छ।

राखेपले बनाएको समन्वय समितिका सदस्य सुदीप शर्मा सबैखाले प्रतिकुलताका बाबजुद राज्यले खेल जोगाउन प्रयास थाल्नुपर्ने बताउँछन्। हिमालयन क्रिकेट एकेडेमीमा सञ्चालक उनले गत महिना सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा पनि क्रिकेट प्रतियोगिता आयोजनाको काम आफूहरूले गरेको जानकारी गराए। राखेपले कर्माचार्यको संयोजकत्वमा घरेलु क्रिकेट गतिविधि सुचारु राख्ने निर्देशनसाथ दुई महिनाअघि ६ सदस्यीय समिति बनाएको थियो। समितिमा राखेपका मुख्य क्रिकेट प्रशिक्षक जगत टमाटा, पूर्व खेलाडी सुदीप पौडेल, विराटनगरका प्रशिक्षक प्रदीपराज पाण्डे र राखेपले गठन गरेको क्यान तदर्थ समितिका सदस्य विनायक पोखरेल पनि सदस्य छन्।

मैदानको अवस्थाअनुसार राष्ट्रिय टोलीको समेत प्रशिक्षक रहेका टमाटा र आइसिसीका लागि नेपाल हेर्ने कर्मचारी एवं क्यानकी पूर्व कार्यकारी प्रमुख अधिकृत भावना घिमिरेसँग सल्लाह गरेर महिला राष्ट्रिय प्रतियोगिताको मिति तय गर्ने शर्माले जानकारी गराए। राखेपको संरचनाअनुसार पाँच विकास क्षेत्र र विभागीय टोली एपिएफ गरी ६ टोलीको सहभागिता रहने प्रतियोगिता साउन दोस्रो साता सुरु भइसक्ने उनले बताए। राष्ट्रिय स्तरमा पाँचदिन चल्ने प्रतियोगिताका लागि जिल्ला र क्षेत्रीय स्तरका छनोट भइसकेको शर्माले जानकारी गराए।

शर्माका अनुसार महिला क्रिकेट खेलिने २२ जिल्लामा स्थानीय जिल्ला खेलकुद विकास समितिमार्फत जिल्ला छनोट मंगलबार सम्पन्न भएको थियो। बिहीबार र शुक्रबार क्षेत्रीय खेलकुद विकास समितिमार्फत क्षेत्रीय छनोट पनि सम्पन्न भइसकेको उनले बताए। खेल गर्नका लागि खेलाडी पुग्ने जिल्लामा प्रतियोगिता नै गरेर खेलाडी छानेको र कम खेलाडी भएको जिल्लाका खेलाडीलाई अन्य जिल्लामा गाभिन अनुरोध गरेको शर्माले जानकारी गराए।

'कतिपय जिल्लामा एउटा पनि टिम नपुग्ने अवस्था छ। त्यस्ता जिल्लाका खेलाडीलाई हामीले नजिकको जिल्लासँग गाभेर खेलाएका छौं,' शर्माले भने, 'कतिपय जिल्लामा खेलाडी अभावकै कारण मेरिटका आधारमा पनि छानिएको छ।'

हङकङमा अक्टोबर ९ बाट सुरु हुने आइसिसी विश्वकप छनोटका लागि टिम तयार गर्ने उद्देश्यअनुसार प्रतियोगिता गरिन लागेको हो। प्रतियोगिताको छनोट इलाम, झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, काठमाडौं, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, कास्की, बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर र बैतडी जिल्लामा गरिएको थियो।

प्रतियोगिताबाट छानिने राष्ट्रिय टोलीलाई हङकङ भ्रमणअघि बन्द प्रशिक्षण सिविरमा राख्ने पनि राखेपको योजना छ। हङकङमा नेपालले चीन, थाइल्यान्ड, मलेसिया लगायतका टिमसँग खेल्नुपर्नेछ। हङकङबाट दुई शीर्ष टोली अन्तिम चरणको छनोटलाई छानिन्छन्। जहाँ सबै महादेशबाट छानिएर आएका टिमसँग प्रतिस्पर्धा गर्नुपर्छ।

स्कुल र महिलापति राखेपले असोजमा पुरुषको एकदिवसीय राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ। 'पुरुषको प्रतियोगितामा सबै जिल्लाको छनोटमा स्थानीय क्लबहरूको सहभागिता हुनेछ। यसले क्लब क्रिकेट भएन भन्ने आवाज पनि सम्बोधन गर्नेछ,' शर्माले भने, 'जिल्लापछि क्षेत्रीय हुँदै अघि बढ्ने प्रतियोगिताको राष्ट्रिय संस्करणमा क्यानकै संरचनाअनुसार ९ क्षेत्र र तीन विभागीय टोली (नेपाल पुलिस, एपिएफ र नेपाली सेना) को सहभागिता हुनेछ।'

प्रकाशित: १ श्रावण २०७३ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App