२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बायर्नलाई लगातार पाचौँ पटक उपाधि

 बर्लिन (एएफपी)– बायर्न म्युनिखले शनिबार १० जनामा सीमित भएर खेलको अन्त्य गरेको उल्फसबर्गमाथि ६–० को फराकिलो जित हासिल गर्दै लगातार पाँचौं पटक जर्मन बुन्डेसलिगाको उपाधिमा कब्जा जमाएको छ।

दोस्रो स्थानको आरबी लिपजिग इन्गोल्स्टडाट्डसँग गोलरहित बराबरीमा रोकिएको फाइदा उठाउँदै प्रभावशाली जित दर्ता गराएसँगै बायर्नले तीन खेल बाँकी रहँदा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो।

‘लगातार पाँचौं पटक बुन्डेसलिगाको उपाधि जित्नु साँच्चै अपत्यारिलो सफलता हो। हामी यसका लागि हकदार पनि थियौं,’ बायर्नका अध्यक्ष कार्ल हेइन्ज रुमिङ्गेले भने।

कार्लो एन्सेलोट्टीले बायर्नको मुख्य प्रशिक्षकका रूपमा पहिलो सिजन बिताउने क्रममा क्लबलाई २७औं लिग उपाधि जिताए । ‘यो जित महŒवपूर्ण थियो र यसले निकै रमाइलो अनुभव दिएको छ,’ उनले भने। एन्सेलोट्टीको करियरमा भने यो चौथो लिग उपाधि हो । उनले यसअघि चेल्सीबाट इङ्लिस प्रिमियर लिग,  एसी मिलानबाट इटालियन सिरी ‘ए’ तथा पेरिस सेन्ट जर्मनबाट लिग वानको उपाधि जितेका थिए।

‘म यो महान् क्लबलाई धन्यवाद दिन चाहन्छु । हामीले पूरा सिजन राम्रो फुटबल खेलेर आफूलाई उपाधिको हकदारका रूपमा प्रस्तुत गरेका थियौं । अबको समय खुसी मनाउने हो,’ इटालियन प्रशिक्षक एन्सेलोट्टीले भने ।

बायर्नको जितमा शनिबार दुई गोल गरेका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको व्यक्तिगत गोलसंख्या जारी सिजनमा २८ पुगेको छ । जुन बोरुसिया डर्टमन्डका पिरे इमेरिक औबामेयाङको भन्दा एक बढी हो।

पेप ग्वार्डिओलालाई स्थानान्तरण गरेका एन्सेलोट्टी ग्वार्डिओलाको कालमा झैं बायर्नलाई दोहोरो उपाधि जिताउन भने सफल भएनन् । बुधबार जर्मन कपको सेमिफाइनलमा डर्टमन्डसँग ३–२ ले पराजित भएको बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पनि रियाल मड्रिडसँग निराशाजनक रूपमा पराजित भएको थियो । शनिबारको बुन्डेसलिगा उपाधि एन्सेलोट्टी र उनको टोलीका लागि तिनै निराशाको सान्त्वना पनि रह्यो ।

डेविड अलाबाले ट्रेडमार्क फ्रि–किकमा गोल गर्दै १९औं मिनेटमा भ्रमणकारी बायर्नलाई अघि बढाएपछि टोलीले पछाडि फर्किनु परेन । लेवान्डोवस्कीले ३६औं मिनेटमा अग्रता दोब्बर पारे भने मध्यान्तर हुनै लाग्दा उनले व्यक्तिगत देस्रो गोल गर्दै पहिलो हाफमा बायर्नलाई ३–० ले अघि बढाए ।

भेट्रान खेलाडी आर्येन रोबेनले ६६औं मिनेटमा बायर्नका लागि चौथो गोल गरे । त्यसको १२ मिनेटपछि बायर्नकै पूर्वखेलाडी लुइज गुस्ताभोले दोस्रो पहेंलो कार्ड सामना गर्दै मैदान छोडे । खेलमा एकतर्फी नियन्त्रण राखेको बायर्न उल्फसबर्ग १० जनामा सीमित भएपछि थप प्रभावकारी रूपमा प्रस्तुत भयो। टोलीका लागि अन्तिम १० मिनेटमा थोमस मुलर र जोसुवा किमिचले गोल गरे । मुलरले ८०औं मिनेटमा टोलीको पाँचौं गोल गरे भने त्यसको पाँच मिनेटपछि किमिचले पनि गोलमा नाम लेखाए ।

रेडबुल एरिनामा लिपजिगले १० जनामा सीमित भएर खेलको अन्त्य गरेको इन्गोल्स्टडाट्सँग गोलरहित बराबरी खेलेपछि बायर्नको उपाधि यात्रा थप सहज बनेको थियो । अल्फ्रेडो मोरालेसले समय सकिन ४ मिनेट बाँकी रहँदा रातो कार्ड सामना गरेपछि इन्गोल्स्टडाट १० जनामा सीमित भएको थियो ।

मे २७ मा हुने जर्मन कप फाइनलमा इन्ट्र्याक्ट फ्र्यांकफर्टसँग खेल्ने तयारीमा रहेको डर्टमन्ड घरेलु मैदानमा कोलोग्नसँग गोलरहित बराबरीमा सीमित भए पनि तेस्रो स्थानमा कायम रह्यो। जर्मन बुन्डेसलिगाको शीर्ष ३ मा रहेर सिजनको अन्त्य गर्ने टोलीले आगामी सिजन सोझै च्याम्पियन्स लिग खेल्न पाउँछन् । चौथो हुनेले भने प्लेअफ खेल्नुपर्नेछ । जारी सिजनमा समान २३ गोल गरेका डर्टमन्डका औबामेयाङ र कोलोग्नका एन्थोनी मोडेस्टे दुवै शनिबार सिग्नल इडुना पार्कमा गोल गर्न सफल भएनन् ।

सिजनमा सनसनीपूर्ण प्रदर्शन गर्दै आएको वेर्डेर ब्रेम्यानको सफलता कथाले निरन्तरता पाउने क्रममा टोली हार्था बर्लिनमाथि २–० को जित हासिल गर्दै छैटौं स्थानमा कायम रह्यो । पहिलो चार खेलमा पराजय भोगेपछि सेप्टेम्बरसम्म पुछारमा रहेको ब्रेम्यान त्यसयता सुधारिँदै जाँदा आगामी सिजन युरोपा लिग खेल्ने सम्भावनाको नजिक छ । पाँचौं र छैटौं हुने टोलीले आगामी सिजन युरोपा लिग खेल्न पाउनेछन्। ब्रेम्यान पछिल्ला ११ खेलमा अपराजित छ ।

जापानी स्ट्राइकर योसिनोरी मुतोको गोल सान्त्वनामा सीमित भएको मेइन्ज शनिबार घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाचसँग २–१ को नतिजामा पराजित भएपछि रेलिगेसन क्षेत्रसँगको दूरी बढाउन सफल भएन । टोली रेलिगेसन क्षेत्रभन्दा तीन अंकले मात्र माथि छ ।

यसै गरी पुछारको ड्रामस्टाड्टले भने फ्रेइबर्गमाथि ३–० को जित हासिल गर्दै रेलिगेसनलाई पर धकेलेको छ। फेलिक्स प्लाटे, जेरोम गोन्डोरफान्ड र स्येन साइपप्लकको गोलमा ड्रामस्टाड्टले बुन्डेसलिगाको हैसियत जोगाउने गणितीय सम्भावना कायम राखेको छ । तीन खेल बाँकी रहँदा शनिबारको जितपछि टोली सुरक्षित क्षेत्रभन्दा ८ अंकले पछि छ ।

जर्मन बुन्डेसलिगामा शनिबारै सम्पन्न अर्को खेलमा साल्केले बायर लेभरकुसनमाथि ४–१ को विजयी नतिजा निकाल्यो ।

प्रकाशित: १८ वैशाख २०७४ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App