२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

श्रीले ल्यायो ५० सिट क्षमताका दुई जहाज, तेस्रो ७८ सिटे ल्याउँदै

काठमाडौं— मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले दोस्रो जहाज काठमाडौं ल्याएको छ। क्यानडाको बम्बार्डियर कम्पनीमा निर्मित ५० सिट क्षमतायुक्त ‘क्यानडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यस्तै पहिलो जहाज श्रीले २०७३ चैत ३० गते ल्याएको थियो । दुइटै जहाजमा जेट इन्जिन जडित छ । ‘फिक्स्ड विङ’ जहाजबाट सेवा दिन थप श्रीले २ अर्ब रुपैयाँ लगानी थपेको छ । जसबाट २ सय नयाँ रोजगारी सिर्जना भएको छ ।

पहिलो र दोस्रो जहाज ५० सिट क्षमतायुक्त छन्। आउने तयारीमा रहेको तेस्रो जहाजमा ७८ सिट हुनेछ। ‘तीनवटै जहाजबाट एकै पटक उडान गर्ने तयारी छ,’ उनले भने, ‘हाम्रा सबै उडान सुगम भेगका विमानस्थलमा मात्र सञ्चालन हुनेछन्।’

‘दोस्रो जहाज आइपुगेको छ,’ श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले शनिबार राति नागरिकसँग भने, ‘अब आगामी दुई साताभित्र तेस्रो जहाज आइपुग्छ र त्यसपछि नियमित व्यावसायिक उडान सुरु गर्ने छौं ।’

श्रीको दोस्रो जहाजलाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एएमए’ कलसाइन दिएको छ । यो जहाज युरोपबाट भारत हुँदै काठमाडौं आइपुगेको हो । जहाजलाई विदेशी पाइलटले उडाएर ल्याएका हुन् ।

हाल श्रीले साना र ठूला गरी १० वटा हेलिकोप्टर सञ्चालन गरिरहेको छ। कम्पनीले हेलिकोप्टरको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) मा जहाज थपको अनुमति पाएपछि जहाज ल्याउन थालेको हो।

मानन्धरका अनुसार पहिलो र दोस्रो जहाज ५० सिट क्षमतायुक्त छ भने आउने तयारीमा रहेको तेस्रो जहाजमा ७८ सिट हुनेछन्। जसको सिरिज ‘सिआरजे–७००’ रहेको छ । तेस्रो जहाज पनि युरोपबाट ल्याइनेछ । ‘तीनवटै जहाजबाट एकै पटक उडान गर्ने तयारी छ,’ उनले भने, ‘हाम्रा सबै उडान सुगम भेगका विमानस्थलमा मात्र सञ्चालन हुनेछन् ।’

कम्पनीका अनुसार काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढी सेक्टरमा नियमित व्यावसायिक उडान गरिनेछन् । धावनमार्गको लम्बाइ कम भएका कारण पोखरा विमानस्थलमा भने उडान गरिनेछैन । एक-दुईजना विदेशी प्रशिक्षक पाइलटबाहेक नेपालका आठजना वरिष्ठ क्याप्टेन आठजना को–पाइलटले जहाज उडाउनेछन्। ‘प्रतिस्पर्धी भाडा दरमा उडान सञ्चाल गर्ने छौं,’ उनले भने ।

श्रीले डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवलाई जहाज उडानमा प्रयोग गर्न लागेको हो । जहाज उडान सँगसँगै हेलिकोप्टर सेवालाई पनि निरन्तरता दिने मानन्धरले जानकारी दिए ।

पर्यटन मन्त्रालयले श्रीलाई हेलिकोप्टरबाट अन्तर्राष्ट्रिय उडान गर्ने इजाजत भने विगतमै दिएको थियो । श्रीले जहाज कम्पनीको नाम नयाँ नराख्ने र पुरानै नामबाट जहाज सञ्चालन गर्ने जनाएको छ । नियामक निकाय प्राधिकरणबाट एओसी श्री एयरलाइन्सको नाममा जारी भएका कारण त्यही एओसीबाट जहाज सञ्चालन गर्ने श्रीले जनाएको छ। 

मानन्धरका अनुसार जहाजबाट पहिलो चरणमा आन्तरिक उडान गर्ने र दोस्रो चरणमा मात्र अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ । आन्तरिक उडानका लागि ५० देखि ७८ सिटसम्मका जहाज सञ्चालन गरिने छ भने अन्तर्राष्ट्रियतर्फ सयदेखि १ सय १० सिट क्षमताका जहाजबाट सेवा सञ्चालन गरिने छ । भारतका विभिन्न सहरमा उडान गर्न १ सय १० सिटसम्मका र त्यसभन्दा पर जान १ सय ५० सिट क्षमताका जहाज प्रयोग गरिने मानन्धरले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त ‘इआरजे–१९०’ सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याइने छ । उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक÷अन्तर्राष्ट्रिय उडान गर्न न्यूनतम दुई÷दुई थान जहाज चाहिने भएकाले दुइटै सेवाका लागि तीन÷तीन थान जहाज ल्याउन लागिएको उनले बताए ।

श्रीका अनुसार पहिलो चरणमा काठमाडौंबाट भारतका प्रमुख सहर नयाँदिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, हैदराबाद र बनारस उडान गरिने छ । त्यसभन्दा टाढा डेढ सय सिटसम्मका जहाज ल्याई दुबई, साउदी अरब, बैंकक, क्वालालम्पुर लगायत गन्तव्यमा उडान गर्ने योजना छ ।

श्री ‘एमआई–१७’ सिरिजका ठूला हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो । अर्बौं लगानी गरिसकेको श्रीसँग करिब ५० लाख अमेरिकी डलर मूल्यका जगेडा इन्जिन पनि छ । यसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ । त्यसबाहेक संयुक्त राष्ट्रसंघका लागि हेलिकोप्टर उडान गर्ने श्री दक्षिण एसिया र पूर्वी एसियाकै एकमात्र कम्पनी पनि हो ।

हेलिकोप्टर राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीको आफ्नै ‘ह्यांगर’ पनि छ । त्यहिँ नै जहाज राख्ने व्यवस्था मिलाइने श्रीले जनाएको छ । श्रीले १७ वर्षदेखि हेलिकोप्टर सेवा दिँदै आएको छ । कम्पनीसँग हाल रुसमा निर्मित २४ सिट क्षमताका ६ वटा एमआई–१७ तथा फ्रान्सको एयरबस हेलिकोप्टर्स कम्पनीले उत्पादन गरेका ६ सिट क्षमताका चारवटा ‘एएस३५० बिथ्रिई’ हेलिकोप्टर सञ्चालनमा छन्।

प्रकाशित: १७ वैशाख २०७४ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App