१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्यानचेस्टर युनाइटेडका प्रतिद्वन्द्वी लिभरपुल र आर्सनल

म्यानचेस्टर(एएफपी)– सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग बिहीबार राती गोलरहित बराबरीमा सिमित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले लिभरपुल र आर्सनललाई जारी सिजनमा मुख्य प्रतिद्वन्द्वीका रुपमा पहिचान गरेका छन्।

इत्तिहाद रंगशालामा खेलेको बराबरीपछि युनाइटेड चौथो स्थानको सिटीभन्दा १ अंकले पछि छ। इङलिस प्रिमियर लिगमा शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्ने टोली आगामी सिजनको च्याम्पियन्स लिगलाई छानिन्छन् ।

तर माउरिन्हो आफूभन्दा दुई अंक बढि जोडेर तेस्रो स्थानमा रहेको लिभरपुल र चार अंक कम भएको आर्सनल आफ्ना मुख्य प्रतिद्वन्द्वी भउको बताउँछन् । लिभरपुलले युनाइटेडभन्दा एक खेल बढि खेलेको छ भने आर्सनलले एक खेल कम खेलेको छ ।

‘मेरो विचारमा म्यानचेस्टर सिटीले शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्नेछ,’ माउरिन्होले भने, ‘सिटीका बाँकी खेल हेर्दा पनि यो अनुमान लगाउन गाह्रो छैन । त्यसैले अव हामी, आर्सनल र लिभरपुलमध्ये अर्को एक टोली शीर्ष चारमा पुग्नेछ । हाम्रो प्रतिस्पर्धा त्यसैका लागि हो ।’

युनाइटेड आगामी दिनमा लगातार आर्सनल र दोस्रो स्थानको टोटेनह्यामको भ्रमण गर्नुपर्ने कठिन अवस्थामा रहँदा सिटीको यात्रा भने तुलनात्मक रुपमा सहज छ । आठौं स्थानको वेस्ट ब्रोमलाई घरमा निम्त्याउँदामात्र सिटीले कठिन प्रतिस्पर्धा सामना गर्नेछ ।

थुप्रै खेलाडीको चोटबाट सताइएको युनाइटेडले आगामी तीन खेलमा मिडफिल्डर मारौने फेलानीको पनि साथ पाउने छैन । बिहीबार सिटीविरुद्धको खेलमा समय सकिन ६ मिनेट बाँकी रहँदा सर्जियो अग्वेरोलाई टाउकाले हानेवापत उनले सोझै रातो कार्ड सामना गरेका थिए । चोटका कारण फिल जोन्स, क्रिस स्मलिङ, मार्कोस रोहो, पाउल पोग्बा, हुँवा माटा र ज्लाटान इब्राहिमोभिच आराममा रहँदा टिमोथी फोसु मेन्साह पनि घाइते भएका छन् ।

मुख्य खेलाडीहरु अनुपस्थित रहने समयमा युनाइटेडसामु सेल्टा भिगोविरुद्धको युरोपा लिग सेमिफाइनलका दुई लेग खेल्नुपर्ने चुनौती पनि छ । यस्तो अवस्थामा आफ्नो टोलीले सक्ने जति समस्या झेलिसकेको माउरिन्होले बताए ।

‘हामीले लिभरपुलभन्दा १८ खेल बढि खेलिसकेका छौं,’ शीर्ष डिभिजनमा लगातार २४ खेलसम्म अपराजित रहने क्लबको कीर्तिमानसँग बराबरी गरिसकेका पोर्चुगाली प्रशिक्षकले भने, ‘१८ खेल बढि खेल्नु भनेको प्रिमियर लिगको आधा बराबर हो । त्यसैले यो प्रतिस्पर्धा न्यायोचित नहुन सक्छ । तर हामी त्यसका लागि तयार छौं । हामीले बिहीबार युरोपा लिगको सेमिफाइनल खेल्नुपर्छ । लगत्तै आइतबार घरेलु मैदानमा स्वान्सीसँग खेल्नुपर्छ ।’

बिहीबारको खेलमा फेलानी र मान्साह गरी थप दुई खेलाडी गुमाउनाका बावजुद आफू सिजनका सबै चुनौतीका लागि तयार रहेको उनको भनाई थियो । ‘मेरो विचारमा तत्काल कोही पनि खेलाडी ठिक भएर मैदान फर्किने सम्भावना छैन । प्रिमियर लिगमै ३४ खेल भनेको कम पक्कै होइन । तर मेरा खेलाडीसँग खेलप्रतिको विशेष लगाव छ । जसका कारण अझै हामीले आशा त्यागेका छैनौं,’ माउरिन्होले भने ।

फेलानीको निधारले विस्तारै लागे पनि अग्वेरोले नाटकीय प्रतिक्रिया देखाएर रेफ्री मार्टिन एट्किन्सन सोझै रातो कार्ड निकाल्न उक्साएको माउरिन्होको आरोप थियो । ‘मैले टनेलमा अग्वेरोलाई देखेको थिएँ, मैले नाक भाचिएको वा टाउको फुटेको केही देखिन,’ माउरिन्होले भने, ‘उनको अनुहार अन्य दिनजस्तै उज्यालो थियो । उनलाई कुनै गम्भिर चोट लागेको थिएन, यसको मतलब त्यो रातो कार्ड थिएन ।’

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने उक्त घटनावारे बोल्न अस्विकार गरे । ‘रेफ्रीको निर्णयवारे म केही प्रतिक्रिया दिन चाहन्न । तपाईहरु मलाई अरु प्रश्न गर्नुस,’ खेलपछिको पत्रकार सम्मेलनमा ग्वार्डिओलाले भने ।

खेलमा धेरैजसो नियन्त्रण राखे पनि विपक्षीको पोस्टमा संघर्षरत रहने क्रमले निरन्तरता पाइरहेका कारण भविश्य अन्योलमै रहेको ग्वार्डिओलाले स्विकारे । ‘हामी पक्कै पनि खेल जितेर तेस्रो स्थानमा पकड बलियो बनाउन चाहन्थ्यौं,’ उनले भने, ‘तर सोचे जस्तो नतिजा नआए पनि अझै हाम्रो भविश्य हाम्रै हातमा छ । सिजनमा वाँकी रहेका पाँचमध्ये तीन खेल हामीले घरेलु मैदानमा खेल्नेछौं । तर हाम्रा लागि बाँकी सबै खेल आजजस्तै कठिन हुनेछन् ।’

प्रकाशित: १६ वैशाख २०७४ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App