१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अमूर्त लेखनको भविष्य छैन

डा. रामदयाल राकेश, लेखक–समीक्षक 

मैथिली लोकसाहित्यका ज्ञाता डा. रामदयाल राकेश अनुवादक तथा समालोचकका रूपमा पनि चिनिन्छन् । नेपाली तथा हिन्दी भाषामा विद्यावारिधि गरेका उनी मधेस मामिलाका जानकार पनि हुन् । मानव अधिकार आयोगका सदस्य समेत रहिसकेका उनी हाल लोकसंस्कृति अध्ययन गरिरहेका छन् । पुस्तक परिक्रमामा यसपटक उनै राकेशलाई समावेश गरिएको छ।  

तपाईंको हातमा अहिले कुन पुस्तक छ ?

दीपक चौधरीद्वारा लिखित ‘रूपान्तरण’ र प्रकाश ए राजको ‘नेपालमा पहिचानको संकट’ पढिरहेको छु । चौधरीको पुस्तक मधेसी समुदायको रूपान्तरणका विषयमा अनुसन्धान तथा स्थलगत अध्ययन गरेर विश्लेषणात्मक ढंगले लेखिएकाले किताब मन प¥यो । यद्यपि, किताबले सबै क्षेत्रलाई समेट्न सकेको छैन । म अहिले वैष्य समुदायबारे पुस्तक लेख्दै छु । विभिन्न विषयको जानकारी हासिल गर्न र पुस्तक लेख्न केही सहज होस् भनेर नेपालमा पहिचानको संकट पुस्तक अध्ययन गरेको हुँ ।

यसअघि कुन पुस्तक पढ्नुभएको थियो ?

इजावेल्ट ट्रिको ‘दि लिभिङ गडेस’ र जापानी लेखिका मासुदाको मायादेवीका बारेमा लेखिएको पुस्तक पढेको थिएँ ।

मन पर्‍यो कि परेन ? किन ?

‘दि लिभिङ गडेस’ नेपाली कुमारीका बारेमा लेखिएको पुस्तक हो । यसमा लेखकले यहाँको राजनीति र संस्कृतिलाई राम्रोसँग अध्ययन गरेर प्रस्तुत गरेका छन् । त्यसैले त्यो किताब मन प¥यो । प्रायः विदेशीले नेपालका बारेमा लेखेका पुस्तकमा त्रुटि भेटिन्छन् । यसमा पनि केही त्रुटि देखिन्छन् । त्यस्तै, मायादेवी उपेक्षित पात्र हुन् । उनका बारेमा नेपाली लेखकले लेख्नुपथ्र्याे। त्यसो नभएर जापानी लेखकले स्थलगत भ्रमण तथा दुःख–कष्ट सहेर लेखेकाले यो पुस्तकले आकर्षित गर्‍यो । निकै मेहनतका साथ पुस्तक लेखिएकाले मन परेको हो ।

अब के पढ्ने योजना छ ?

पछिल्लो समय म साहित्यभन्दा लोक संस्कृति तथा समाजशास्त्र र मानवशास्त्रसँग सम्बन्धित पुस्तक बढी पढिरहेको छु ।  अब चाँडै नै भारतका लोक संस्कृतविद् जवाहरलाल हन्डुको ‘फक्लोर इन दि चेन्जिङ वल्र्ड’ पुस्तक पढ्ने योजनामा छु । यो पुस्तक मसँगै छ, तर पढ्न पाएको थिएन, अब पढ्छु । त्यस्तै बेलायती लेखक माइकल हटको ‘भूपि शेरचन’ पनि पढ्ने योजना छ ।

कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ ?

लोक संस्कृति र लोक साहित्यलाई विषयवस्तु बनाएका किताब धेरैभन्दा धेरै लेखियोस् भन्ने चाहन्छु । हरेक समुदायको लोक संस्कृतिका बारेमा पुस्तक लेखिन आवश्यक छ । लोकतन्त्र स्थापनापछि मानव अधिकार उल्लंघनका घटना बढिरहेका छन् । त्यस विषयमा पनि पुस्तकहरू लेख्नु आवश्यक छ । त्यस्तै, भ्रष्टाचार नियन्त्रण सम्बन्धी पुस्तक पनि लेखिनुपर्छ । समाजोपयोगी किताब लेखिनुपर्छ, अमूर्त लेखनको भविष्य अब छैन । लेखन जहिले  पनि जीवन र दर्शनका बारेमा हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

तपाईंले पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक ?

भारतीय लेखक शरण गुप्तले यशोधराका बारेमा लेखेको खण्डकाव्य तथा उनैले लेखेको ‘साकेत’ निकै मन परेका पुस्तक हुन् । लेखकले खण्डकाव्यमा यशोधराका बारेमा वर्णन गरेका छन् भने साकेतमा उर्मिलाको उदात्त (उच्च)  चरित्रका बारेमा वर्णन गरेका छन् । मिथिलाका सन्त लेखक स्वामी रामप्रिया दासले लेखेको सीतायन पनि निकै मन परेको पुस्तक हो । त्यसमा लेखकले जीवनभर न्याय नपाएकी सीताको चरित्रलाई लिएर महाकाव्य लेखेका छन् ।

नपढी नहुने पुस्तक ?

नयनराज पाण्डेको ‘उलार’ र ‘लू’, धनुषचन्द्र गौतमको ‘घामका पाइलाहरू’ र ‘यहाँदेखि त्यहाँसम्म’ तथा भवानी भिक्षुको ‘आगत’ उपन्यास पढ्नैपर्ने हुन् भन्ने मलाई लाग्छ । अभि सुवेदीको नाटक ‘चिरिएका साँझ’ र अन्य केही नाटक पनि पढ्दा रामै्र हुन्छ । यी पुस्तक पढ्दा महत्वपूर्ण जानकारी पाउन सकिन्छ ।

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका ?

नेपाली पुस्तकको आधिकारिक अनुवाद नहुँदा विदेशमा नपढिएका हुन् । कतिपय लेखकले निहित स्वार्थका लागि आफ्ना पुस्तक अंग्रेजीमा अनुवाद गराए पनि विदेशी पाठकले पचाउन सकेनन् । यसले गर्दा नेपाली पुस्तकप्रतिको विश्वास झनै कम भयो । त्यस्तै, नेपाली लेखकको साँघुरो सोच, अध्ययन–अनुसन्धान तथा मेहनतको कमी, सस्तो लोकप्रियताका पछाडि लाग्ने प्रवृत्ति र नेपाली मिडियाको निहित स्वार्थका कारण कमजोर पुस्तकको पनि अनावश्यक प्रचार गरिदिनाले नेपाली साहित्य अन्य मुलुकका पाठकले नपढेका हुन् ।

पढ्न मन लागेर पनि नपाएको पुस्तक ?

‘सर्च फर रुट’ अर्थात् आफ्नो मूल थलोका बारेमा लेखिएका पुस्तकहरू पढ्न मन छ । जसले गर्दा मानिसले आफ्नो अस्तित्व र रुट (उत्पत्ति) को खोजी गर्न सकोस् ।

घरमा कतिवटा पुस्तक छन् ?

अहिले मसँग घरमा महत्वपूर्ण एक हजारजति पुस्तक छन् । मसँग भएका अन्य पुस्तक मेरो गृहजिल्ला सर्लाहीमा आमाको नाममा ‘पार्वती स्मृति पुस्ककालय’ स्थापना गरेर राखिदिएको छु । मैले मधेसमा पुस्तकालयको व्यवस्था गरिदिए पनि त्यहाँका युवामा पढ्ने संस्कृति भने छैन । बरु विदेशी आएर पुस्तकालयमा अध्ययन–अनुसन्धान गर्छन् ।

प्रस्तुति: वसन्त खड्का

 

प्रकाशित: १६ वैशाख २०७४ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App