१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहाललाई फकाउँदै मन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव नेतृत्व गरेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग सत्तारूढ गठबन्धनकै मन्त्रीहरूले भेटघाट तीव्र पारेका छन्। नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरू व्यवस्थापिका संसद्देखि दाहालको निवासमै पुग्ने गरेका छन्।

माओवादी स्रोतका अनुसार अहिलेसम्म ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीकै दलका २० भन्दा बढी सांसदले कांग्रेस–माओवादी गठबन्धनमा साथ दिने प्रतिबद्धता जनाइसकेका छन्। दुई दलले केही दिनअघि आगामी ९ महिनासम्म माओवादी अध्यक्ष दाहाल र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति जुटाएका छन्।

संसद्मा आगामी साउन ६ गते ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित भई नयाँ प्रधानमन्त्री चयन हुने सम्भावना बढेपछि बहालवाला मन्त्री अध्यक्ष दाहाललाई फकाउन गोप्य भेटघाटमा जुटेका हुन्। खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह शुक्रबार साँझ झन्डावाल गाडीमै दाहालनिवास लाजिम्पाट पुगे। उनले अध्यक्ष दाहालसँग गोप्य छलफल गरेका थिए।  'दुई जनाबीच छुट्टै कुराकानी भएको हो तर के विषयमा भन्ने यकिन भएन,' स्रोतले भन्यो, 'यतिखेरको एजेन्डा नयाँ सरकार गठन भएकाले त्यही विषयमा कुरा भएको हुनुपर्छ।'  सिंह समाजवादी जनता पार्टीका अध्यक्ष हुन्। मन्त्री सिंहले भने आफ्नो चाहना ओली नेतृत्वको सरकारबाट बाहिरिनेभन्दा पनि कसरी राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने रहेकाले त्यही उद्देश्यले भेट गरेको दाबी गरे।

५ सय ९७ सदस्यीय व्यवस्थापिका संसद्मा कांग्रेस–माओवादीका २ सय ५४ सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका छन्। प्रस्ताव पारित हुन २ सय ९८ मत आवश्यक पर्छ। हाल संसद्मा कांग्रेसका २ सय ६ र माओवादीका ८३ सदस्य छन्।

'ओलीले दैवी शक्ति प्राप्त गरेको ठाने'

माओवादी केन्द्र अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तालाई दैवीशक्ति प्राप्त गरेजस्तो ठानेको बताएका छन्। लाजिम्पाटस्थित निजी निवासमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले सरकारमा सहयात्री दललाई बेवास्ता गरेका ओलीको पछिल्लो व्यवहारले त्यस्तो पुष्टि हुँदै जनाए। 'एमालेकै केही वरिष्ठ नेताले पनि मलाई सरकारमा पुग्नुलाई ओलीले आफूलाई भगवानले शासन गर्न पठाएको र दैवी शक्ति प्राप्त गरेजस्तो व्यवहार देखाइरहेको बताएका थिए, त्यो उनको अहिलेको व्यवहारले देखाउँदै छ,' उनले भने।

सरकारको साझेदार भईकन पनि ओली आफ्नै पाराले अघि बढेको र माओवादीलाई नै सिध्याउने खेलमा लागेपछि समर्थन फिर्ता लिनुपरेको दाहालको भनाइ छ। ओलीले शान्तिप्रक्रिया सजह बनाउनु साटो बल्झाउने काम गरेको आरोप लगाएका उनले आफूले सँगै काम गर्ने मनसायले मौखिक र लिखित जानकारी गराउँदा पनि अटेरी गरेको बताए।

संसद्मा अविश्वास प्रस्ताव पेस भए पनि ओलीले संविधानले नयाँ प्रधानमन्त्री चयन हुने व्यवस्था नगरेको भनी अन्योल सिर्जना गर्न खोजेको बताउँदै दाहालले उनलाई राजीनामा दिएर परिस्थति सहज बनाउन माग गरे। 'दलीय राजनीतिमा सबै पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छन्,' उनले भने, 'दलहरूले स्वतन्त्र निर्णय गर्न खोज्दा कहिले ब्याट्री त कहिले बाहिरको भनेर ओलीले हेप्न खोजे।'

निर्वाचनबारे पत्रकारको प्रश्नमा दाहालले स्थानीय, प्रदेश र संघको निर्वाचन तीनचोटि नभई दुईचोटि गर्नुपर्ने धारणा राखे। 'स्थानीय निर्वाचन पहिला र प्रदेश तथा संघको निर्वाचन सँगै नगरे आउँदो १८ महिनामा तीनवटै निर्वाचन गर्न सकिँदैन,' उनले भने। मधेसवादी दलले उठाउँदै आएजसरी संविधान संशोधन गर्न दुई तिहाइ संख्या नपुगे पनि सरकारले कम्तीमा संशोधन प्रक्रिया अघि बढाउनुपर्ने दाहालको भनाइ छ। आफू प्रधानमन्त्री हुँदा चीन रिसाउनुपर्ने कुनै कारण नरहेको पनि उनले बताए। 'मसँग भएको सूचनाअनुसार म प्रधानमन्त्री हुँदा चीन झनै खुसी हुन्छ,' उनले भने, 'म लामो समयदेखि चिनियाँ नेताहरूसँग सबभन्दा नजिक छु।'

दाहाल पुगे रिले अनशनमा

नयाँ संविधानप्रति असहमति दर्साउँदै रिले अनशनमा रहेको संघीय गठबन्धनलाई समर्थन जनाउन अध्यक्ष दाहाल शुक्रबार टुँडिखेल पुगे। गठबन्धन ३९ दिनदेखि अनशनमा छ। त्यहाँ दाहालले गठबन्धनका नेतासँग आफ्नो नेतृत्वमा बन्न लागेको सरकारलाई सहयोग गर्न आग्रह गरे। गठबन्धन संयोजक उपेन्द्र यादवले दाहाललाई सहयोग गर्ने बताए पनि सरकारमा सहभागी हुनेबारे भने अझै निर्णय नगरेको बताए।

प्रकाशित: १ श्रावण २०७३ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App