१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘म प्रचण्ड पुत्री मात्रै होइन’

शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै रेणु दाहाल तस्बिर : रमेशकुमार पौडेल

चितवन – नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकी रेणु दाहालले आफूलाई प्रधान्मन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरीका रुपमा मात्रै नहेर्न अपिल गरेकी छन् । सो पार्टीले शुक्रबार भरतपुरमा आयोजना गरेको चितवनका स्थानीय तहका उम्मेद्वारहरूको घोषणा कार्यक्रममा बोल्दै उनले आफू राजनीतिमा पहिल्यैदेखि सक्रिय रहेको व्यक्ति भएको बताइन् ।

‘यो मेरो जिल्ला चितवनमा म २० वर्षपछि फर्केकी छु तर यो २० वर्ष म घर गृहस्थी सम्हालेर वा आफ्नो व्यक्तिगत काममा लागेर बसेकी भने थिइन्’ दाहालले भनिन् । भरतपुर महानगरको मेयरमा उठेपछि जिते पनि हारे पनि अबको राजनीति चितवनमै बसेर गर्ने दाहालको भनाई छ । पार्टीको पोलिट ब्युरो सदस्यसमेत रहेकी रेणु काठमाडौंको राजनीतिमा बढी सक्रिय छिन् ।

पार्टीले उम्मेद्वार बनाउने भएपछि उनी गत हप्ता मात्रै चितवन आएकी हुन् । मतदाता नामावलीमा दाहाल परिवारको नाम भरतपुर महानगरपालिकाको वडा नं. ४ मा छ । पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा दाहालल परिवारले सो वडाको लक्ष्मी मावि लंकूमा रहेको मतदान केन्द्रमा मत खसालेको थियो । भरतपुरका सर्वसाधारणसँग मात्रै नभएर धेरै कार्यकर्तासँग पनि परिचित हुन नपाएको उनले स्वीकार गरिन् ।

‘पाँच छ महिनाअघि आएर सक्रिय भएको भए लगभग सबैलाई चिन्थे होला । अहिले धेरैले मलाई मिडियाले चिनाउने गरेको प्रचण्ड पुत्रीकै परिचयका रुपमा चिन्ने गरेका छन् । अब म सबै कार्यकर्ता र धेरै जनतासँग जाने तयारीमा छु । समय कम छ तर म जान्छु’ दाहालले भनिन् । २९ वटा वडा रहेको भरतपुरमा माओवादीले उपमेयरमा सुरेन्द्र गुरुङलाई उठाउने भएको छ।

चितवनमा भरतपुर महानगरपालिका, इच्छाकामना गाउँपालिका र रत्ननगर, खैरहनी, कालिका, राप्ती र माडी गरेर पाँचवटा नगरपालिकासहित सातवटा स्थानीय तह रहेका छन् । सवै सातवटा स्थानीय तहमा उम्मेद्वार छनौटको काम सम्पन्न गर्ने विषयमा चितवनमा माओवादी पहिलो भएको छ । सो पार्टीबाट रत्ननगरमा नगरपालिकामा पुर्णबहादुर अम्गाई मेयरमा र संगिता भट्टराई उपमेयरमा उठ्ने भएकी छन् ।

त्यस्तै खैरहनी नगरपालिकामा एकराज डल्लाकोटी मेयर र रेवती उप्रेती उपमेयरमा, राप्तीमा रामचन्द्र पाठक मेयर र कल्पना लामा उपमेयरमा, कालिकामा रामध्वज डल्लाकोटी मेयर र सविता लामा उपमेयरमा तथा माडी नगरपालिकामा ठाकुर ढकाल मेयर र सरिता महतो उपमेयरमा उठ्ने छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा सो पार्टीले प्रताप गुरुङलाई अध्यक्ष र सावित्री सिलवाललाई उपाध्यक्ष उठाउने छ । 

    

प्रकाशित: १५ वैशाख २०७४ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App