१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टोटेह्यामको दबाब कायम

लन्डन(एएफपी)– डेनिस प्लेमेकर क्रिस्टियन इरिक्सनको गोलमा बुधबार क्रिस्टल प्यालेसविरुद्ध १–० को विजय हासिल गर्दै टोटेनह्यामले इङ्लिस प्रिमियर लिग उपाधि दौडमा शीर्ष टोली चेल्सीमाथिको दबाब कायम राखेको छ।

शनिबार एफए कप सेमिफाइनलमा टोटेनह्याममाथि ४–२ को विजय हासिल गरेको चेल्सी मंगलबार साउथह्याम्पटनलाई त्यही अन्तरमा हराउँदै अंकतालिकामा ७ अंकको स्पष्ट अग्रता लिन सफल भएको थियो। तर इरिक्सनले ३० यार्डबाट गरेको सनसनीपूर्ण गोलमा टोटेनह्यामले जित हासिल गरेपछि चेल्सीको अग्रता ४ अंकमा खुम्चिएको छ।

बुधबारको नतिजापछि सिजनका पाँच खेल बाँकी रहँदा चेल्सी ७८ अंकका साथ शीर्ष स्थानमा छ भने टोटेनह्यामले ७४ अंक जोडेको छ।

‘यो नतिजा अपत्यारिलो रह्यो । आजको प्रदर्शन निकै राम्रो थियो,’ टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने, ‘सिजनको अत्यन्तै महŒवपूर्ण समयमा हामीलाई तीन अंक लिएर उपाधि दौडमा कायम रहनु आवश्यक थियो । हामी अन्तिमसम्म चुनौती दिइरहन चाहन्छौं ।’

टोटेनह्यामका लागि इरिक्सनले समय सकिन १२ मिनेट बाँकी रहँदा निर्णायक विजयी गोल गरेका थिए ।

प्रिमियर लिगको अर्को खेलमा रोबर्ट हथले समय सकिन ५ मिनेट बाँकी रहँदा आत्मघाती गोलको उपहार दिएपछि आर्सेन वेंगरको आर्सनल साबिक विजेता लेस्टर सिटीमाथि

१–० को जित हासिल गर्दै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने कमजोर आशा जीवित राख्न सफल भएको छ । ३२ खेलमा ६० अंकका साथ छैटौं स्थानमा उक्लिएको आर्सनल च्याम्पियन्स लिगको स्थानभन्दा चार अंकले पछि छ । प्रिमियर लिगबाट शीर्ष चार टोलीले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने मौका पाउनेमा म्यानचेस्टर सिटी ६४ अंकका साथ चौथो स्थानमा छ ।

लिगका पछिल्ला आठ खेलमा ६ जित तथा एक बराबरी र एक हारको नतिजा निकालेको प्यालेसले बुधबार टोटेनह्यामविरुद्ध पनि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । क्रिस्टियन बेंकेटेको कडा प्रहार टोटेनह्यामका गोलकिपर हुगो लोरिसले जोगाउनुका साथै एन्ड्रोस टाउनसेन्डको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएका कारण प्यालेस पहिलो हाफमा अग्रता लिन भने असफल रह्यो ।

मध्यान्तरमा पोचेटिनोले मौसा डेम्बेले र भिक्टर वान्यामाको ठाउँमा सन ह्युङ मिन र मौसा सिसोकोलाई मैदान पठाएर खेललाई नयाँ मोड दिए । प्यालेसका मामाडोउ साखो ५७औं मिनेटमा गम्भीर चोटका कारण मैदान छोड्न बाध्य हुनुको पनि पोचेटिनोको टोलीलाई फाइदा पुग्यो । लिभरपुलबाट लोनमा आएका साखोको बायाँ घुँडामा चोट लागेपछि उनलाई स्ट्रेचरमा राखेर बाहिर निकाल्नुपरेको थियो ।

हारपछि १२औं स्थानमा कायम रहेको प्यालेसका प्रशिक्षक साम एलार्डिसले साखोको चोटबारे विस्तृत जानकारी आइनसकेको बताए । ‘उनको घुँडामा चोट लागेको छ । चोट गम्भीर जस्तो देखिन्छ, तर रिपोर्ट नआएसम्म चोटबारे केही भन्न सकिन्न । जोर्नीमा समस्या भएको भए उनको प्यालेस करियरमा पूर्णविराम लाग्न सक्छ,’ साखोलाई जारी सिजनको अन्त्यसम्मका लागि मात्र लोनमा भिœयाएको स्मरण गर्दै एलार्डिसले भने ।

गत सिजनमा सेलहर्ट पार्कमा डेले अलीले टोटेनह्यामका लागि उत्कृष्ट गोल गरेका थिए । तर बुधबार भने काइल वाकरको क्रसमा सुन्दर अवसर पाए पनि उनको भलीले सही दिशा लिन सकेन । जहाँ ह्यारी केनको पासलाई समय सकिन १२ मिनेट बाँकी रहँदा गोलमा परिणत गर्दै इरिक्सनले टोटेनह्यामलाई लिगमा लगातार आठौं जित दिलाए ।

हथको आत्मघाती गोलमा जित हासिल गरेपछि आइतबार एफए कप सेमिफाइनलमा म्यानचेस्टर सिटीमाथि २–१ को विजयी नतिजा निकालेको आर्सनल विजयी लयलाई निरन्तरता दिन सफल भयो ।

लगातारको जितले चरम दबाबमा रहेका आर्सनलका प्रशिक्षक आर्सेन वेंगरलाई राहत मिलेको छ । ‘लेस्टरको रक्षापंक्ति तोड्नु सहज थिएन । तर हामी पनि लगावका साथ मैदान उत्रिएका थियौं । हामीले उनीहरूलाई कुनै मौका नदिएर आफ्नो आधार जोगाइराख्यौं,’ आइतबार उत्तरी लन्डन डर्बीका लागि टोटेनह्यामको भ्रमण गर्ने तयारीमा रहेका वेंगरले जितपछि भने, ‘हरेक जितले टिमलाई लय प्रदान गर्ने गर्छ। हामीसँग प्रस्ट लक्ष्य छ । हामी आफंैले सफल नतिजा ल्याएर आफ्नो लक्ष्य हासिल गर्नुपर्छ । हामी अरूको नतिजामा भर पर्ने छैनौं । त्यसैले मलाई म्यानचेस्टर डर्बीप्रति खास चासो छैन ।’

प्रिमियर लिगमा बुधबार भएको अर्को खेलको नतिजा पनि १–० कै रह्यो । रेलिगेसनबाट जोगिन संघर्षरत दुई टोलीबीचको भिडन्तमा मार्टिन डे रोनले आठौं मिनेटमा गरेको गोल निर्णायक बन्दा मिडिल्सब्रोले पुछारको सन्डरल्यान्डलाई निराश पा¥यो । पछिल्ला १७ लिग खेलमा पहिलो जित हासिल गरेपछि मिडिल्सब्रोको प्रिमियर लिगमा हैसियत जोगाउने झीनो आशा पलाएको छ । चार खेल बाँकी रहँदा टोली सुरक्षित क्षेत्रको हल सिटीभन्दा ६ अंकले पछि छ । रेलिगेसनबाट गणितीय रूपमा मात्र बचिरहेको सन्डरल्यान्ड भने सुरक्षित क्षेत्रभन्दा १२ अंकले पछि रहँदै पुछारमा यथावत् छ । सन्डरल्यान्डले पाँच खेल खेल्न बाँकी छ ।

सिजनका पाँच खेल बाँकी रहँदा चेल्सी ७८ अंकका साथ शीर्ष स्थानमा छ भने टोटेनह्यामले ७४ अंक जोडेको छ ।

प्रकाशित: १५ वैशाख २०७४ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App