१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आफ्नै सन्तानले वृद्धाश्रममा छोडेपछि ...

गोपालप्रसाद पोखरेल

पथरी (मोरङ)—आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन्। सबैका आफन्त छन्, तैपनि उनीहरू आश्रममा बस्न बाध्य छन्।

विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी त्रिहत्तर वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो। उनका पाँच छोरा र एक छोरी छन्, तर भएर पनि नभए जत्तिकै छ। 'श्रीमान्को मृत्यु भएको दश वर्ष भयो। सबै छोराछोरी विवाहपछि आ–आफ्नै दुनो सोझ्याउनतिर लागेपछि म यहाँ आइपुगेँ, आफन्तले वास्ता नगरे पनि दुःखीका लागि भगवान हुँदारहेछन्', उनले भनिन्।

यहाँ आश्रय लिएपछि उनीहरूले आफन्त बिर्सिएका छन्। अतीत भुलेर नयाँ जिन्दगी सुरु गरेका छन्। विराटनगर–१३ मलायारोडस्थित विराटेश्वर वृद्धाश्रममा करिब ३० वृद्ववृद्धा बस्दै आएका छन्।

उनान्सत्तरी वर्षीया सिङ्घामाया तामाङ पाठेघरको शल्यक्रियापछि विभिन्न समस्यामा छिन्। आमा बन्न नसक्ने भएका कारण उनी धेरै पीडित बनिन्। श्रीमान्‌को मृत्युपछि आफन्तले दुःख दिन थाले। आफनो घर ठेगाना बताउन नचाहने उनी कतै केही नलागेपछि विराटनगरको विराटेश्वर वृद्धाश्रमको सहारा लिन पुगेको बताउँछिन्।

श्रीमान् ३५ वर्षको उमेरमा लागुपदार्थ सेवनको कारण बिते। श्रीमान् बितेपछि उनी बेसहारा भइन्। आफूलाई पर्दा साथ दिने कोही नभएकी उनी साह्रै दुःखी छिन् ।

सुनसरी छिटाहा गाविसकी भकुमारी थापामगर शारीरिकरुपमा अशक्त छिन्। उनी जन्मँदै यस्तै थिइन्। भकुमारी कान सुन्न सक्छिन भने बोल्न सक्दिनन्। तीन वर्षअघि विराटेश्वर वृद्धाश्रम आइपुग्दा यस्तै थिइन्। अहिले पनि उनको स्वरुप बदलिएको छैन। बिहे भएको छैन। उमेर त्यस्तै ५०-५५ जतिको हो ।

उनका दाजुभाइ कहिलेकाहीँ आउँछन्, जान्छन्। केही खानेकुरा छोडिदिन्छन्, फर्किन्छन्। भकुमारीलाई यतिमै पनि सन्तुष्ट मान्नुपर्ने बाध्यता छ। शारीरिक अवस्था यस्तो भए पनि उनीजति जाँगरिली यो आश्रममा कोही छैनन्। राति ३ बजे उठेर नुहाउँछिन्। आश्रमवरपर सफासुग्घर गर्छिन्।

'उहाँलाई यस्तो अवस्थामा उहाँकै आफन्तले ल्याइदिए', आश्रमका अध्यक्ष जगत अज्र्याल भन्छन्, 'काम लाग्न छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन्, आफन्त भन्ने त कामलाग्दा मात्र हुँदोरहेछ।'

वृद्धाश्रममा बस्दैमा कोही गरिब र कोही दुःखी हुँदैन भन्ने उदाहरण बनेका छन्, विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका वृद्धवृद्धा। यी वृद्धवृद्धा कोही आफन्तले स्याहारसुसार नगरेपछि आफैँ आइपुगे, कतिपयलाई आफ्नै छोराबुहारीले बूढेसकाल लागेपछि यहाँ ल्याएर छाडिदिए ।

यहाँ आश्रय लिएपछि उनीहरूले आफन्त बिर्सिएका छन्। अतीत भुलेर नयाँ जिन्दगी सुरु गरेका छन्। विराटनगर–१३ मलायारोडस्थित विराटेश्वर वृद्धाश्रममा करिब ३० वृद्ववृद्धा बस्दै आएका छन्। उनीरूका पनि आ–आफ्नै कथाव्यथा छन् । रासस

प्रकाशित: १४ वैशाख २०७४ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App