१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रयाेगात्मक शिक्षाः पुस्तकसँगै कुटोकोदालो

बगैंचा गोलमेल गर्दै जनजागृति प्राविका विद्यार्थी । तस्बिरः दमन राई

खोटाङ– डोल्पा, लिखु–२ चुँका १३ वर्षीय टेकबहादुर खाती रूपाकोट–मझुवागढी–२, सोल्मामा प्रयोगात्मक स्कुलका रूपमा स्थापित शुभद्रा–मदन फाउन्डेसनमा टेबुलमा खाक्सी लगाइरहेका थिए । उनी फाउन्डेसनकै सहयोगमा सञ्चालित जनजागृति प्राविमा कक्षा ६ मा अध्ययनरत छन् । उनी शिक्षक गमबहादुर बुढा र कृषिविज्ञ मदन राईको सम्पर्कबाट विद्यालय भर्ना भएका हुन् । ‘अरु स्कुल र यहाँको पढाइमा धेरै फरक छ,’ खातीले भने, ‘यहाँ किताब पढ्ने मात्र होइन, कामसमेत गर्नुपर्छ ।’

प्रयोगात्मक शिक्षण विधिअनुसार शिक्षा दिन थालेपछि जनजागृति प्रावि र सरस्वती उच्चमाविमा विद्यार्थी आकर्षित

मुगुका ९ वर्षीय निराजन शाही पनि जनजागृतिमै कक्षा २ मा पढ्छन् । प्राक्टिकल शिक्षण अभ्यास गर्दै आएको फाउन्डेसनमा सल्यान, कोटमौलाका ११ वर्षीय इन्दुविमल ओली पनि वर्षअघि आवासीय विद्यार्थीका रूपमा भर्ना भएका छन् ।

फाउन्डेसन शिक्षक बाबुराम कार्कीका अनुसार पूर्वी इलामदेखि झापा, मोरङ, सिराहा, सर्लाही, उदयपुर, सोलुखुम्बु, महोत्तरी, धादिङ, काठमाडौं, ललितपुर, कास्की, हुम्ला, कालिकोट, बाजुरा, रुकुम, रोल्पा, जुम्ला, सल्यान, सुर्खेत, बाँके, बैतडीलगायतका विद्यार्थी फाउन्डेसनमा आवासीय भर्ना भएका छन् । उनीहरूमध्ये साना कक्षाका विद्यार्थी जनजागृति प्रावि र मावि तहका विद्यार्थी सरस्वती उच्च माविमा अध्ययन गर्छन् । ‘प्राक्टिकल’ शिक्षण विधि लागू भएपछि विद्यार्थीको चाप बढ्दो छ । यी विद्यालयले फाउन्डेसनको अवधारणा अनुसार शिक्षण पद्धति लागू गरेका छन् ।

विद्यार्थी अधिकांश समय पाठ्यक्रममा आधारित रहेर कृषि बगैंचा, कम्प्युटर ल्याब, पुस्तकालय, पशुपन्छी गोठ, घरेलु औजार निर्माण तथा मर्मत वर्कसप, सिलाइकटाइ, पाक कला, सिकर्मी, डकर्मी, उद्योगलगायत काममा व्यस्त रहन्छन् । मावि र सोभन्दा माथिल्लो कक्षाका विद्यार्थी परीक्षा दिन मात्र विद्यालय जान्छन् ।
शिक्षक कार्कीका अनुसार विद्यार्थीलाई पाठ्यक्रम अनुसार भाषा÷बोली, प्रकृति, प्रविधि, स्वास्थ्य, मानविकी÷व्यवस्थापन, मनोरञ्जन तथा खेलकुद, सिर्जनात्मक कला र सन्तुलनलगायत ११ विधामा प्राक्टिकल शिक्षा दिइन्छ ।

विद्यार्थी बिहानदेखि बेलुकासम्मै व्यवहारिक सिकाइमा व्यस्त रहन्छन् । दिनभरको काम र सिकेको सीप डायरीमा लेख्छन् । ‘अरु विद्यालयले कोठाभित्र राखेर सिकाउँछन् । तर, हामीले ‘प्राक्टिकल’ शिक्षामा जोड दिन्छौं,’ कार्की भन्छन् ।

फाउन्डेसन प्रयोगात्मक शिक्षण विधिको भ्रमण थलो बनेको कार्यकारी निर्देशक सूर्यबहादुर राई बताउँछन् । ‘सुरुमा अरु विद्यालयलाई प्रयोगात्मक शिक्षण पद्धति अपनाउन भनियो तर, कसैले सुनेनन्,’ राईले भने, ‘आफैंले गरे अरुले पनि सिक्छन् भनेर शिक्षा सुधार अभियान थालेका हौं ।’

१० वर्षसम्म दिक्तेलकै खाल्लेमा नाहिमा कृषि स्रोत केन्द्र सञ्चालन गरेकै टिमले २०७० मा फाउन्डेसन स्थापना गरेको हो । कृषिविज्ञ मदन राईको लगानी रहेको फाउन्डेसनले निम्न आर्थिकस्तर भएका ८ देखि १० वर्षका जेहेन्दार विद्यार्थीलाई शिक्षा, खाने, बस्नेसहितको सुविधा दिइरहेको छ । शिक्षा जस्तै क्रमशः उद्योग, कृषि, पर्यटनलगायत विकास अभियान चलाउने कार्यकारी निर्देशक राईले बताए ।
 

आकर्षण बढ्दो

विद्यार्थी संख्या घटेपछि दुई वर्षअघि खारेज हुने अवस्थामा पुगेको जनजागृतिको परिचय अहिले बदलिएको छ । फाउन्डेसन कार्यकारी निर्देशक राईले व्यवस्थापन समितिको नेतृत्व लिएपछि विद्यालयको स्वरूप बदलिएको हो । त्यसयता विद्यालयले प्रयोगात्मक शिक्षण विधि लागू गरेको छ ।

प्रयोगात्मक शिक्षण विधि लागू गरेपछि जनजागृति प्रावि र सरस्वती उच्च माविमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको छ । यी विद्यालयमा डेढ सय विद्यार्थी अध्ययनरत छन् । ‘पाठ्यक्रमको प्राक्टिकल आधारमा पठनपाठन सुरु गरेका हौं,’ राईले भने, ‘चौघेराभित्र राखेर रटाउनु सट्टा व्यावहारिक पढाइ बढी प्रभावकारी हुने देखिएको छ ।’ २०४० मा स्थापि जनजागृतिमा चार जनाको दरबन्दी छ ।  
पाठ्यक्रम अनुसार प्रयोगात्मक सिकाइमा जोड दिइने प्रअ सविता ढकाल बताउँछिन् । ‘पहिला र अहिलेको शिक्षण पद्धति आकाश–पातालको फरक छ,’ ढकालले भनिन्, ‘पहिला सैद्धान्तिक शिक्षा मात्र थियो, अहिले व्यावहारिक र विद्यार्थीकेन्द्रित छ ।’

कक्षा ६ सम्म पठनपाठन भइरहेको जनजागृति प्राविमा फाउन्डेसनका भोलेन्टियर शिक्षकले समेत सहयोग गर्दै आएका छन् । विद्यालयमा डेढ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

जनजागृतिको प्राक्टिकल शिक्षण पद्धतिलाई अन्य विद्यालयमा पुर्याउन सके प्रभावकारी हुने जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए ।


 

प्रकाशित: १४ वैशाख २०७४ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App