१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेसीको जादुमा बार्सिलोना विजयी

मड्रिड- अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको जादुप्रेरित बार्सिलोनाले आइतबार स्पेनिस ला लिगाअन्तर्गत रियाल मड्रिडविरुद्ध सम्पन्न अल क्लासिकोमा ३–२ को रबाफ जमाएको छ। रेफ्रीले सिटी फुक्न केही सेकेन्ड मात्र बाँकी रहँदा मेसीले जादुमय निर्णायक गोल गर्दै क्लबबाट आफ्नो गोलसंख्या ५ सय पुर्‍याउँदा चिर प्रतिद्वन्द्वी रियालमाथि रोमाञ्चक जित हात पार्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि दौड खुला बनायो।

घरेलु सान्टियागो बर्नाबेउ रंगशालामा सम्पन्न खेलको २८औं मिनेटमा कासेमारोले गोल गरेपछि रियालले अग्रता लिएको थियो। कप्तान सर्जियो रामोसले मार्सेलोको पासमा गरेको प्रहार पोस्टमा लागेर फर्कंदा प्राप्त बललाई उनले पोस्टको दिशा दिएका थिए।

३३औं मिनेटमा इभान राकेटिचको पासमा मेसीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए। पछिल्लो तीन वर्षमा मेसीले रियालविरुद्ध गरेको यो पहिलो गोल हो।

७३औं मिनेटमा राकेटिचले गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो। जोर्डी अल्बाको प्रहार विपक्षी खेलाडीले रोक्दा प्राप्त बलमा उनले गोल गरेका थिए।

७७औं मिनेटमा रामोस रातो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रियालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। मेसीमाथि खराब फाउल गरेपछि उनले रातो कार्ड दर्शन गरेका थिए।

८५औं मिनेटमा हामेस रोडरिग्वेजले मार्सेलोको पासमा गोल गर्दै रियाललाई खेलमा फर्काएका थिए।

तर इन्जुरी समयको दोस्रो मिनेटमा मेसीले अल्बाको पासमा गोल गर्दै लगातार तेस्रो पटक ला लिगा उपाधि जित्ने बार्सिलोनाको आशा जीवित राखेका हुन्।

यस जितपछि ३३ खेलको समाप्तिमा ७५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। समान ७५ अंक भए पनि रियाल दोस्रो स्थानमा छ। यद्यपि रियालले एक खेल कम खेलेको छ।

‘मेरा लागि उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन्। मैले धेरै वर्ष फुटबल खेलमा बिताएको छु,’ सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने घोषणा गरिसकेका प्रशिक्षक लुइस इनरिकेले भने, ‘वर्तमान फुटबलमा सबै शारीरिक र रणनीतिक रूपमा राम्रो हुन्छन्। त्यहाँ पनि उनले अझै केही भिन्नता ल्याउँछन्। उनले क्लबका लागि ५ सय गोल पूरा गरेका छन्। यसले के दर्शाउँछ भने बार्सिलोनाका समर्थकले मेसी जस्तो खेलाडी पाउनु भाग्यको कुरा हो। ’

'खेल २–२ को बराबरीमा रहँदा हामीले ध्यान दिनुपर्दथ्यो,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘हामी सधैं सकारात्मक छांै र हामीले तेस्रो गोल गर्न सक्थ्यौं। तर हामीले खेलमा नियन्त्रण गुमायौं। त्यसै कारण अन्तिममा खराब नतिजा भोग्नुपर्‍यो।’

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अन्य खेलमा रियाल बेटिसले सेल्टा भिगोमाथि १–० को जित हासिल गर्‍यो भने लस पाल्मस र आल्भेसले १–१ को बराबरी नतिजा निकाले। पछिल्लो तीन वर्षमा मेसीले रियालविरुद्ध गरेको यो पहिलो गोल हो।

प्रकाशित: १२ वैशाख २०७४ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App