१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धुर्मुस सुन्तलीको उद्‍घोष- 'हामी बनाउँछौं मिनी नेपाल'

काठमाडौं- कलाकार धुर्मुस-सुन्तलीले हिमाल, पहाड र तराईको झल्को दिने गरी 'मिनी नेपाल' बनाउने घोषणा गरेका छन्। नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित 'नागरिक नायक' सम्मान ग्रहण गरेपछि नागरिक संवादमा उनीहरुले यस्तो घोषणा गरेका हुन्।

भूकम्प पीडित र तराईका विपन्न मुसहरका लागि एकीकृत बस्ती निर्माण गरेर चर्चा कमाएका सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' ले चौथो परियोजनाका रुपमा यसलाई अघि बढाउने बताए।

उनीहरुले ७५ वटै जिल्लाबाट सबैभन्दा गरिब एकएक परिवारलाई छानेर ल्याई यस्तो एकीकृत बस्ती निर्माण गर्ने जानकारी दिए। 'पहिलो एकीकृत बस्ती निर्माणकै क्रममा हामीले यस्तो सल्लाह गरेका थियौं', कट्टेलले नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको अन्तरक्रियामा भने, 'आज यही कार्यक्रममार्फत 'मिनी नेपाल' बनाउने घोषणा गर्दर्छौं।'

उनले यस्तो बस्ती निर्माणका लागि ५ सयदेखि एक हजार रोपनी  जग्गा आवश्यक रहेकाले जग्गादाताको खोजी गरिरहेको बताए। 'मिनी नेपाल' निर्माणका क्रममा मूलद्वारबाट बस्ती पस्नेबित्तिकै हिमाली, त्यसपछि पहाडी र अन्त्यमा तराईको बस्ती हुने कट्टेलले जानकारी दिए। 'हिमाली बस्तीबाट पहाडी बस्तीमा जाँदा सुरुङमार्ग भएर जाने बनाउनेछौं,' कट्टेलले भने, 'नेपाल आउने पर्यटकका लागि यो बस्ती पहिलो रोजाइको हुनेछ।'

उनीहरुका अनुसार बस्तीमा नमुना विद्यालय र अस्पतालसमेत हुनेछ। बस्तीमा लुम्बिनी र सगरमाथाको नमुनाका साथै तीनवटै क्षेत्रको प्राकृतिक स्वरुप झल्काउने उनीहरुको योजना छ। 'त्यसका लागि अहिलेभन्दा धेरै रकम आवश्यक पर्ने भएकाले सरकार वा ठूला निकायको सहयोगको अपेक्षा गरेका छौं', कट्टेलले भने।

मिडियाले वार्षिकोत्सवका अवसरमा धुर्मुस–सुन्तलीसहित नेपाली समाजमा उल्लेखनीय योगदान गर्ने पासाङ शेर्पा र सिरहाकी फूलकुमारी योन्जन श्रेष्ठलाई 'नागरिक नायक' का रुपमा सम्मान गरेको थियो। शेर्पाले सोलुखुम्बुमा आफ्नै पहलमा पर्यटकका लागि बाटो खनेर सुविधा पुर्‍याएका छन् भने योन्जनले सिरहामा महिलाका लागि सहकारी सञ्चालन गरी ग्रामीण क्षेत्रमा महिला सशक्तीकरण गरिरहेकी छन्। मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले शेर्पा, धुर्मुस–सुन्तली र योन्जनलाई सम्मान गरेका हुन्।

धुर्मुस–सुन्तली, शेर्पा र योन्जनका साथै मुलुकका विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने अन्य नौजनालाई पनि 'नागरिक नायक' घोषित गरिएको छ। काठमाडौंका उत्तम सन्जेल, पर्साका विश्वनाथ साह, कैलालीका कालु हमाल, बाँकेका चन्द्रनाथ योगी र मौलाना अब्दुल जब्बार मञ्जरी, सुनसरीकी सरला कायस्थ, कास्कीका सानबाबु सुनुवारलाई नागरिक नायक घोषणा गरिएको छ।

'नागरिक नायक' सम्मानपछि रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेसँगको अन्तरक्रियामा शेर्पाले अप्ठेरो बाटोमा धेरैले कठिनाइ भोगेको देखी बाटो खन्न सुरु गरेको बताए। ७९ वर्षीय शेर्पाले जीवनभर बाटो खनिरहने घोषणा गरे। 'यस्तै कामबाट देश विकासको मूल फुटाउनुपर्छ,' शेर्पाले भने। उनले ३५ वर्षदेखि सोलुको फेरिचेदेखि खुम्जुङसम्म एक्लै बाटो खनिरहेका छन्। 

फूलकुमारीले घिमिरेसँगको अन्तरक्रियामा समाजले हौसला र साहस थपिदिए महिलालाई अघि बढाउन सजिलो हुने बताइन्। गाउँले महिलाको जीवन अझै पनि समस्यामा रहेको भन्दै फुलकुमारीले त्यसलाई सम्बोधन गर्न महिलामा शिक्षा, जनचेतना र आर्थिक पहुँच बढाउनु आवश्यक रहेको बताइन्। फुलकुमारीले आफूलाई उपमेयरमा उठ्न प्रस्ताव आएको भन्दै सहयोग भए आफू त्यो जिम्मेवारी लिन तयार रहेको घोषणा गरिन्।

'रेडियो नागरिक' को सुरुवात

वार्षिकोत्सवका अवसरमा मिडियाले आफ्नो पहिलो एफएम रेडियोको औपचारिक सुरुवात गरेको छ।  राजधानीको सोल्टी होटलमा आयोजित विशेष समारोहमा मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीले 'रेडियो नागरिक ९६.५' को औपचारिक शुभारम्भ गरेका हुन्। यो मिडियाको पहिलो प्रसारण कम्पनी हो।

'सबैभन्दा ठूलो प्रकाशन सञ्जाल'

वार्षिकोत्सवका अवसरमा नेपाल रिपब्लिक मिडियाले आफूलाई नेपालकै सबैभन्दा ठूलो प्रकाशन सञ्जाल बनाउने घोषणा गरेको छ।

कार्यक्रममा मिडियाका कर्पोरेट सल्लाहकार सोहन श्रेष्ठले चाँडै पोखरा र बुटवलबाट प्रकाशन थाल्न लागिएको जानकारी दिए। उनले पोखराबाट ४५ दिनभित्र प्रकाशन सुरु हुने बताए। यी दुई स्थानबाट प्रकाशन सुरु भएपछि मिडिया नेपालको सबैभन्दा ठूलो प्रकाशन सञ्जालमा रुपान्तरण हुने उनले जानकारी दिए। मिडियाले अहिले अफ्ना प्रकाशनहरु स्थानीय संस्करणसहित काठमाडौं, विराटनगर र नेपालगन्जबाट प्रकाशन गर्दै आइरहेको छ। विराटनगरबाट पूर्वेली र नेपालगन्जबाट पश्चिमेलीको प्रकाशन गरिरहेको छ। पोखराबाट पनि यस्तै स्थानीय संस्करण सुरु गर्ने कार्यक्रममा घोषणा गरियो।

'सबल लोकतन्त्रका लागि सशक्त सञ्चार'

आठौं वार्षिकोत्सव अवसरमा शुभकामना सन्देश दिँदै मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले सबल लोकतन्त्रका निम्ति सशक्त सञ्चार माध्यम आवश्यक हुने बताए। उनले सञ्चार माध्यमको विकासका लागि पनि लोकतन्त्र अपरिहार्य भएकोमा जोड दिए।

मिडियाकी निर्देशक शोभा ज्ञवालीले आम नागरिकका विषयलाई कम्पनीका प्रकाशनमा प्राथमिकता दिएको बताइन्। उनले सम्पूर्ण कर्मचारीको तलब पाँच प्रतिशत वृद्धि भएको जानकारी दिएकी थिइन्। कम्पनी 'ह्याप्पी अर्गनाइजेसन'को रुपमा अघि बढिरहेको भन्दै उनले त्यो खुसीका लागि चुनौतीसँग खेल्न तयार हुनुपर्ने उल्लेख गरिन्।

मिडियाकी कार्यकारी निर्देशक समृृद्धि ज्ञवालीले नेपालको मिडिया उद्योगको दुई महŒवपूर्ण प्रस्थान विन्दुमा आफ्ना हजुरबुवा (हेमराज ज्ञवाली) ले पुर्‍याएको योगदान स्मरण गरिन्। 'नेपालको इतिहासमा २०४६ र २०६२/६३ को राजनीतिक परिवर्तन महŒवपूर्ण घटना हो,' ज्ञवालीले भनिन्, 'लोकतन्त्र संस्थागत गर्न मेरा हजुरबुवा दुवै कालखण्डमा निजी क्षेत्रबाट समाचारपत्रको प्रकाशनको त्यो जिम्मेवारीमा रहेको विषयले हामीलाई गौरवान्वित तुल्याएको छ।'

नागरिक दैनिकका प्रधान सम्पादक लुइँटेलले नौ वर्षको अवधि मिडियाका लागि धेरै नभए पनि यो अवधिमा नेपाल रिपब्लिक मिडिया नेपालको प्रभावशाली मिडियाको रुपमा स्थापित हुन सफल भएको बताए।

रिपब्लिका दैनिकका सम्पादक घिमिरेले मिडिया क्षेत्रमा नयाँ प्रयोग र नयाँ प्रविधिको उपयोगमा जुटिरहेको उल्लेख गरे। डिजिटल युगसँग अघि बढ्न अप्ठ्यारो नभएको भन्दै उनले समयसँगै पत्रकार अद्यावधिक हुनुपर्ने बताए।

शुक्रबार तथा नागरिक परिवार म्यागेजिनका सम्पादक राजन नेपालले अहिलेको क्रान्ति भनेको काम भएको उल्लेख गरे। 'राम्रो काम गरे हामी सबै राम्रो स्थानमा पुग्छौं,' उनले भने।

कार्यक्रममा डा. गोविन्द केसीले गलत नेतृत्वका कारण देश समृद्ध हुन नसकेको बताए। उनले देशमा माफियातन्त्र मौलाएको र अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गरे। संविधानमा समाजवाद उन्मुख लेखिए पनि स्वास्थ्य र शिक्षा क्षेत्र चरम व्यवसाय उन्मुख भएको उनले बताए। स्वास्थ्य क्षेत्रमा माफियातन्त्र मौलाएकै कारण १०औं पटक सत्याग्रह गर्नुपरेको उनको भनाइ थियो।

पूर्वसचिव रामेश्वर खनालले परिवार र व्यक्ति  स्वार्थ त्यागेर समाधानको बाटो देखाउँदै काम गर्नुपर्ने बताए। २० प्रतिशत मानिसले मात्र त्याग गर्नसके समाज बन्ने उनको धारणा थियो।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,  नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदारसहित विभिन्न राजनीतिक दलका नेता सहभागी थिए।

कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नेपालस्थित विदेशी कूटनीतिज्ञ, उद्यमी तथा व्यापारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्नेको उपस्थिति थियो।

प्रकाशित: १२ वैशाख २०७४ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App