१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

४५ हजार विद्यार्थीका सारथी

उत्तम सञ्जेल, संस्थापक समता शिक्षा निकेतन विद्यालय

हिमाल लम्साल/खिलक बुढाथोकी

बच्चैदेखि फरक गर्ने सोच थियो उनको। समाजमा पृथक परिचय बनाउन चाहन्थे उनी। अरुले चिनाउने होइन् आफैं चिनिने रहरको आगो थियो उनीभित्र। सिनेमाको हिरो बन्न चाहान्थे। अझ हिरोभन्दा माथि निर्देशक बन्ने सपना थियो उनमा।

सपनाको डोरीलाई पछ्याएर विद्यालय पढ्दा पढ्दै मुम्बई पुगे उनी। कहाँ सबै सपनाले सार्थकता पाउँछन् र? 'रिल लाइफ'को हिरो बन्न नसकेर के भयो र! अहिले उनी 'रियल लाइफ' हिरो बन्न पुगेका छन्। फिल्मको हिरो बन्न नपाएकोमा दुःख लागेपनि पछुतो छैन् उनलाई। किनकी फिल्मको हिरो नभएकै कारण समाजको हिरो भएका हुन्। समाजको हिरो बन्नकै लागि फिल्मको हिरो हुन नसके जस्तो लाग्छ उनलाई। तरपनि समाजको हिरो भन्न चाहदैनन् शिक्षासेवी उत्तम संजेल।

समाजले किन हिरो नमानोस् उनलाई? मासिक एक सय रुपैयाँ लिन्छन्। अंग्रेजी माध्यममा पढाउछन्। यो पनि विद्यालय तहसम्म होइन्। नर्सरीमा भर्ना भएपछि स्नातकोत्तरसम्म पढ्ने व्यवस्था गरेका छन् संजेलले समता शिक्षा निकेतन विद्यालयमा।

काठमाडौंको जोरपाटीबाट २०५८ सालबाट सुरुवात भएको समता विद्यालय अहिले देशका ५१ जिल्लामा फैलिएको छ। भारतको विहारमा समेत यसै वर्षबाट समता विद्यालय खुलेको छ।

यतीबेला समतामा झण्डै ४५ हजार विद्यार्थी अध्ययन गर्छन्। नर्सरी देखि स्नातकोत्तर पढ्ने सबैले मासिक एक सय रुपैयाँ शुल्क बुझाउछन्। भर्ना गर्न १ सय ५० बुझाए पुग्छ। यो पनि एक वर्ष गरे पटक पटक गरिरहनु पर्दैन्। अनि किन नमानोस् उत्तम संजेललाई समाजको हिरो?

तर, संजेल यो अवस्थामा आउँदाको कहानी लामो छ। कुनैबेला त्यही समाजले छिछि र दुरदुर गर्दथ्यो। कतिले त रामचन्द्र संजेलको छोरो बौलाहा भयो भनेर अपवाफ फैलाए। तर पनि उनले आफ्नो सपना छोडेनन्। समस्यालाई अवसर मान्दै अघि बढिरहे। ‘संसारमा यती धेरै पोखरी रहेछन् गनेर साध्य नहुने रहेछ,’ कुराकानीको सिलसिलामा संजेलले भने, ‘एउटा पोखरी बल्लतल्ल पौडियो, अर्को झन ठूलो पोखरी अगाडि आइपुग्थ्यो। थकान जती लागेपछि पोखरी पौडिन छोडिएन्, रत अहिले यहाँ छु। इमानदार भएर पोखरीमा पौड््न नसकेको भए त उहिल्यै डुबिसक्थेँ।’

काठमाडौंको गोठटारमा ४३ वर्षअघि जन्मिएका संजेल विद्यालय पढ्दै गर्दा साथीहरु जम्मा गरेर नाटक निर्देशन गर्दथे। निर्देशक बन्ने होडमा पढाई नै छोडेर मुम्बई पुगे। ‘एक्सन, कट’मा उनले पाँच/सात वर्ष विताए। तर त्यो पाँच सात वर्षमा खास उपलब्धि हासिल गर्न सकेनन् संजेलले।

मुम्बईमा रहँदा उनले धेरै कुरा देखे। प्रत्येक मान्छेले अंग्रेजी बोलेको सुने। यो त सकरात्मक पाटो भयो। केही उनले यस्तो दृश्य देखे जुन दृश्यले संजेललाई निदाउनै दिएन्। त्यही दृश्य सन्जेलको जीवनको ‘यू र्टन’ गर्न सघायो।

पन्ध्र/बीस तला माथिबाट पाइपमा ढलको पानी फ्याकिन्थ्यो त्यहाँ। त्यही पानीमा मिसिएका भातका सीता छानेर भोक मेटाउथे सडक बालबालिका।

'रेडलाइट एरिया' पुराइएका नेपाली चेली एड्स लागेपछि सडकमा मृत्युवरण गर्नपरेको दृश्यले पनि संजेललाई कम्ता पोलेन्। यो देख्दा उनले आफ्नै टोलछिमेका रहेका गँलैचा कारखानाका बालबालिका सम्भि्कन पुगे। आफ्नै चेलिबेटी सम्भि्कन पुगे। र, उनले सोचे यो सबै शिक्षाको कमीले भइरहेको छ। मैले पनि कुनै दिन यस्तै बालबालिकाको लागि शिक्षा दिने अठोट मनमनै लिए।

एकतिर हिरो बन्न नसकेको चिन्ता, अर्कोतिर ती मनै छियाछिया हुने दृश्य आँखामा बोकेर फर्के नेपाल। एक दिन साँझको समयमा नयाँ बस्ती युवा क्लवको पाटीमा बसेर टोलाइरहेका थिए उनी। नेपाल प्रहरीको भ्यान आयो र समाएर लग्यो। राती आफ्न्तले छुट्याए उनलाई।

किन समाएर लग्यो भनेर खोज्दै जाँदा कारण बुझे उनले। लागूपर्दाथ दुव्यर्सनमा लागेका केटाहरु साँझमा त्यो पार्टीमा बस्ने रहेछन्। उनलाई पनि त्यही ठानेर प्रहरीले लगेको रहेछ।

त्यसको भोलिपल्टदेखि नै उनी सामाजिक काममा जुटे। सोही क्लब मार्फत युवा परिचालन गरेर टोल सरसफाई, महिलालाई सिलाई कटाईको तालिम लगायतको अभियान थाले संजेलले।

त्यो सँगै बाल शिक्षा पनि सुरुवात गरे। १० जनालाई पढाउने सोच बनाएका उनले सय जना विद्यार्थी पुगे। ६ महिनापछि बालशिक्षाको समयवधी सकियो। बालबालिकाले नाम लेख्न जाने त्यती हो उपलब्धी।

तर, संजेललाई भने ती बालबालिकाको खुब माया लागिरह्यो। जोरपाटी क्षेत्रमा गैलाँचा कारखाना धेरै थिए। बढी बालबालिका कारखानामा काम गर्नेका छोराछोरी थिए। उनले सोचे अब यी बालबालिकालाई औपचारिक शिक्षा दिनुपर्छ।

यसको लागि बुबा रामचन्द्रसँग अनेकन अनुनयविनय गरे। तैपनि संजेलका बुबाले बुझेनन्। बल्लतल्ल ३२ हजार रुपैयाँ दिए बुबाले। अनि संजेलको साथी लक्ष्मिराम दंगालले पनि २२ हजार दिए संजेललाई। उनीसँग ५४ हजार रुपैयाँ भयो। ५४ हजार रुपैयाँ ठूलै मानिन्थ्यो २०५८ सालमा। यही पैसाबाट जग्गा भाडामा लिएर विद्यालय बनाउन थाले।

खर्च जोगाउन बाँसबाट भवन बनाए। २५ कोठाको भवन तयार भयो। आवश्यक बेन्च, कालोपाटी पनि तयार गरे उनले। विद्यालयको नाम राखे समता शिक्षा निकेतन। भर्ना शुल्क १ सय ५० रुपैयाँ एक पटक मात्रै। अनि मासिक शुल्क १ सय रुपैयाँ। यो एक सय सबैको सहभागिता होस् भनेर राखेका रहेछन् उनले। ‘निशुल्क तथा आरक्षण भनेको अपमान गरेको जस्तो हो,’ उनले भने, ‘सय रुपैयाँ मात्रै भए पनि तिरेर पढाएपछि उसले टेबुल ठट्ाएर भन्न सक्छ मैले पैसा तिरेर पढाएको छु।’ त्यसैले त अहिले बेलाबेलामा समता विद्यालयमा अभिभावक आउँछन् रे मेरो छोरा/छोरीको पढाई किन राम्रो नभएको? हामीले उतिकै पढाएको छ? सय रुपैयँाचाँही यसै आउँछ? यस्तै यस्तै भन्दै।

सुरुको भर्नामै ८ सय ७५ जना आए संजेलले खोलेकेा विद्यालयमा। यती धेरै विद्यार्थी थुप्रिएपछि संजेल आफैं डराए। कसरी व्यवस्थापन गर्ने भनेर धौधौ पर्यो उनलाई। अर्को वर्ष त झन विद्यार्थीको ओइरो नै लाग्यो। विद्यार्थीको संख्या बढेर २१ सय पुग्यो। त्यसबेला विद्यालयको डे्रस दौरा सुरुवाल र चोलो फरिया थियो। नेपाली पोषकमा सजिएका विद्यार्थी विद्यालय भरी देख्दा खुब खुसी लाग्थ्यो उनलाई। तर, महिना मर्योकी तनावमा हुन्थे उनी। ‘शिक्षकलाई तलब त महिनैपिच्छे दिनपर्ने,’ उनले भने, ‘उठेको शुल्कले त थोरै शिक्षकलाई मात्रै दिन पुग्थ्यो। महिना मर्योकी शिक्षकलाई कसरी तलब दिने चिन्ताले सताउँथ्यो।’ यस्तो चिन्ता लामै समयसम्म रह्यो संजेललाई। शिक्षकको अगाडि परे तलबकै कुरा हुन्थ्यो, कति महिना त भागेरै बिताए। कतिपय शिक्षकले त संजेलको समस्या बुझ्थे तर कतिले बुझ्ने प्रयास नै गर्दैनथे। बढी तनावचाँही दसैंबेला हुन्थ्यो। यो बेलाचाँही शिक्षकले बुझ्दाबुझ्दै पनि सायद बुझ्न नसकेपछि संजेललाई खोज्दै आउथे।

समता विद्यालय सुरु भएको दुईतीन वर्षपछि त्यतिबेलाको निजी क्षेत्रको जल्दोबल्दो पत्रिका कान्तिपुरमा समाचार छापियो समताको बारेमा। यो समाचार पढेर अंगुरबाबा जोशीले ४२ हजार रुपैयाँ बोकेर विद्यालय आइन्। यो नै समता विद्यालयले पाएको पहिलो सहयोग हो। त्यसपछि समता विद्यालयलाई सहयोग दिनेहरु बढ्दै गए। समताको बारेमा मिडियामा पनि ठाउँ पाउँदै गयो।

सबैभन्दा ठूलो कुरा त समता विद्यालयले दुई जना व्यक्तिको साथ पायो। ती व्यक्ति थिए मह जोडी (कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य )। यसपछि भने विद्यालय फैलिने मौका पायो। सहयोग हात बढ्दै गए।

विद्यालयले फड्को मार्यो। भक्तपुरमा पहिलो शाखा खोल्यो। शाखा खोल्दै जाँदा अहिलेसम्म ५१ वटा जिल्लामा ५३ वटा समता विद्यालय बनिसकेको छ। देशभर ४५ हजार विद्यार्थी समतामा अध्ययनरत छन्। समता काठमाडौंमा स्नाताकोत्तरसम्म पढाई हुन्छ। भक्तपुरमा प्लस टूसम्म हुन्छ भने अन्य शाखामा पनि क्रमश थपिदै जाने क्रममा छ। काठमाडौंमा भने २०६६ सालबाट प्लस टू, २०७० बाट स्नातक, २०७१ बाट स्नातोकोत्तरसम्म अध्ययन गराउँदै आएको छ। मानविकी र व्यवस्थापन संकायमा पढाउँदै आएको समताले गत सालबाट विज्ञान संकाय पनि थप गरेको छ।

‘यो अवस्थासम्म समता विद्यालयलाई ल्याउन कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायको ठूलो हात छ,’ संजेलले भने, ‘उनीहरु त समता विद्यालयका मेरुदण्ड हुन्।’ संजेललाई समता विद्यालयको ५० प्रतिशत हकदार कोही हो भने त्यो नेपाली मिडिया तथा पत्रकार हुन् जस्तो लाग्छ रे। पत्रकार जस्तै मह जोडी पनि समताको हकदार मान्छन संजेल। मह जोडी लगायत उपेन्द्र महतो, जिवा लामिछाने, जुगल भुर्तेल तथा आनी छोइङ डोल्मा जस्ता धेरै मान्छेको सहयोगले नै समता अघि बढिरहेकोे संजेलले बताए।

समता यतीमा मात्र सिमित राख्न चाँहदैनन् उनी। ‘समतालाई देशभर फैलाउन चाहन्छु,’ उनले आफ्नो योजना सुनाए, ‘सन् २०२० सम्ममा देशका ७५ वटै जिल्लामा र सार्कका ८ मुलुकमा समता विद्यालय पुराउने लक्ष्य छ।’

यसपछि भने उनी एक महिना विश्राम लिने र अर्को २० वर्ष काम गरेर मर्नेबेलासम्म ७५ प्रतिशत नेपाली खुसी पार्ने योजना संजेलसँग छ। ‘देशभर समता विद्यालय पुर्‍याएपछि समताको सम्पूर्ण सम्पती सरकारलाई दिन्छु,’ संजेलले भने, ‘सरकारलाई जिम्मा लगाएपछि भने देश विकासमै होमिन्छु। त्यसमा २० वर्ष काम गरेर मर्नेबेलासम्म ७५ प्रतिशत नेपालीको अनुहारमा खुसी छर्न चाहान्छु।’ इमान्दार भएर काम गरेका खण्डमा उनले लिएको लक्ष्य सफल हुनेमा उनी विश्वास्त छन्।

सय नै किन?

निशुल्क र आरक्षणलाई घृणा गर्ने मान्छे हुन् संजेल। सवै चिजमा सवैको सहभागिता हुनैपर्छ भन्ने लाग्छ उनलाई। 'जतिसुकै मूल्यवान चिज भएपनि सित्तैमा पाए, त्यसको महत्व कम हुन्छ,‘ संजेलले भने, ‘विपन्न समुदायको पनि अपनत्व होस् भन्नकै लागि सय रुपैयाँमा पढाउँदै आएका हौं।' हामीले त्यसै  पढाएका होइनौं, मासिक सय रुपैयाँ तिरेका छौं भनेर अभिभावक अपनत्व गराउने सय रुपैयाँ लिने गरेको संजेलले बताए।

सय रुपैयाँ लिएर पनि उनले सफलता हात पारेका छन्। सफलताको श्रेय भने आफ्नो इमान, उनलाई विश्वास गर्ने आदरणीय व्यक्तित्व र शिक्षक शिक्षकलाई दिन चाहन्छन् संजेल।

सहयोगीकै साथ

समताको मुख्य आयस्रोत विद्यार्थीबाट उठाइने मासिक शुल्क सय हो। त्यसको अलावा शुभेच्छुकबाट प्राप्त हुने सहयोगबाटै नै सञ्चालन विद्यालय सञ्चिालित छ। समताको वार्षिक खर्च करिव ६ करोड रुपैयाँ हुने विद्यालयले जनायो। यो खर्च आधा विद्यार्थीबाट उठ्ने शुल्क र आधाचाँही सहयोगबाटै चल्दै आएको छ।

अविवाहित उत्तम

४५ हजार विद्यार्थीका अभिभावक सञ्जेल अझै अविवाहित छन्। ४३ वर्ष कटे पनि बैवाहिक जीवनमा बाँधिएका छैनन्। ‘मैले विवाह गरेर निजी जीवन विताउनेतिर सोच्न भ्याएकै छैन्,’ उनले भने, 'कसरी हुन्छ मेरा विद्यार्थीकै खुसीमा दिनरात सोचिरहेको हुन्छु।‘

यसकारण सार्क राष्ट्रमा

नेपाललाई कचौरा थापेर माग्ने देश भनेर चिनाउँदा संजेलको मन दुख्ने गरेको छ। यही भ्रम चिर्नको लागि उनी सार्क राष्ट्रमा समता विद्यालय पुराउन चाहान्छन्। ‘नेपाल माग्ने देश भनेर सम्बोधन गर्दा चित्त दुख्छ,’ उनले भने, ‘हामी लिने मात्रै होइन् दिएका पनि छौं भन्नको लागि समता विद्यालय सार्कमा स्थापना गर्न लागेको हुँ।’ तिमीहरुले हामीलाई के दियौं भनेर सोधेको खण्डमा हामीले तिम्रो देशको शिक्षामा योगदान गरेको देखाउन उनले समता विद्यालय सार्कमा खोल्ने तयारी गरिरहेका हुन्।

बेलाबेलामा मुद्दा

समता विद्यालयलाई नराम्रो मान्नेहरु पनि छन्। विशेषगरी निजी विद्यालय सञ्चालक आँखाको कसिंगार बनेका छन् संजेल। केही जिल्लामा त विद्यालय स्थापना गर्दा ठूलै झमेला सहनुपरो संजेलले। ‘विद्यालय स्थापना गर्न कति संर्घष झेल्नपर्छ त्यो त मलाई मात्रै थाहा छ,’ उनले भने, ‘अहिले पनि मेरो एउटा मुद्धा सर्वोच्च अदालतमा छ जुन झापाका निजी विद्यालय सञ्चालकले हालेको हो।’

देउता शिक्षक

समताले नियमित शिक्षकलाई तलव दिन सकेको छैन। बेलाबेलामा गुनासो आउने गर्छ। यो संजेल आफैं पनि स्विर्काछन्। 'बैशाख र असोज नआए जस्तो हुन्छ,’ संजेलले भने, ‘यो महिनामा शिक्षकलाई तलब दिनपर्छ।’ दिन सकेको खण्डमा खुसी भएपनि दिन नसकेकेा खण्डमा भने शिक्षक नराम्रो मान्दैनन्। त्यसैले समता पढाउने शिक्षक देवता छन् जस्तो लाग्छ संजेललाई। देशभरमा गरेर समतामा ११ सय शिक्षक कार्यरत छन्।

‘समताले तलव अन्यन्त्र भन्दा थोरै पनि दिन्छ, ढिला पनि दिन्छ,' उनले भने, ‘तर पनि शिक्षकले पढाउन कन्जुस्याइ गर्दैनन्। त्यसैले त समतामा पढाउने शिक्षक देवता हुन जस्तो लाग्छ मलाई।’

५० शैयाको अस्पताल पनि

संजेलले बौद्ध कुमारीगलमा समता अस्पताल पनि चलाएका छन्। यहाँ पनि उपचार गर्न आउनेले सय रुपैयाँ शुल्क तिरे पुग्छ। ‘शिक्षामा जस्तै स्वास्थ्यमा पनि हुने र नुहने वर्गको ठूलो खाडल छ,’ उनले भने, ‘सक्नेले त मंहगो अस्पतलमा गएर उपचार गर्छन् तर नसक्नेले कहाँ गएर उपचार गर्ने?’ शिक्षा सबैको पँहुचमा ल्याउन समताले भूमिका खेलेजस्तै स्वास्थ्य पनि सबैको पहुँचमा ल्याउन समता अस्पलत खोलेका हुन् संजेलले।

अस्पलतमा सय रुपैयाँको टिकट काटेपछि ९९ थरीका ल्याव टेष्ट तथा एक्सरे, भिडियो एक्सरे, दाँतको उपचार सबै गर्न सकिने व्यवस्था छ। अस्पतालका अनुसार चैत महिनामा ५ सय विरामी उपचार गर्न आएको जनायो। अस्पतालमा १५ जना विशेषज्ञ चिकित्सक रहेका छन्।

प्रकाशित: ११ वैशाख २०७४ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App