१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बजेटअघि चुनाव हुनुपर्छ : ओली

काठमाडौं- बजेटमार्फत मतदाता प्रभावित गर्न सरकारले स्थानीय निर्वाचन दुई चरणमा गर्ने निर्णय लिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएको छ। संविधान अनुसार जेठ १५ मा बजेट ल्याउनुपर्छ। सरकारले देशभर एकैचरणमा वैशाख ३१ मा गराउने घोषणा गरेको निर्वाचन कार्यक्रमलाई टुक्र्याएर दुई चरणमा लगेको छ। सरकारले शनिबार गरेको निर्णय अनुसार दोस्रो चरणको निर्वाचन जेठ ३१ मा हुनेछ। यसबीचमा बजेट पनि आउने भएपछि एमाले संशकित भएको हो।

वैशाख ३१ र जेठ ३१ गते चुनाव गराउने तयारीसँगै बजेटमा अन्योल र शंका पनि देखिएको छ। ‘चुनावका दौरान बजेट ल्याउँदा आचारसंहिता उल्लंघन हुन्छ,' एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भने, ‘त्यसैले बजेटअघि चुनाव हुनुपर्छ। जेठ १५ अघि चुनाव हुनुपर्छ। बजेटभन्दा अघि चुनाव गरे केही छैन।'

ओलीले अहिले भएको सहमति चुनाव नगर्ने षडयन्त्र हुनसक्ने बताउँदै त्यसतर्फ सजग रहन पनि निर्देशन दिए। ‘यसमा जालझेल हुनसक्छ। एमाले झिंगा होइन, माकुरी जालमा पर्दैन,' ओलीले भने। संसदीय दलको बैठकमा ओलीले सरकारले अघि सारेको संविधान संशोधनलाई अस्वीकार गर्ने पनि बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नै निवास भक्तपुर बालकोटमा भेट गरेलगत्तै ओली संसदीय दलका बैठकमा सहभागी भएका थिए। प्रधानमन्त्री दाहालसँग ओलीले आचारसिंहता लागू भएको अवस्था र बजेट ल्याएको दुई साताभित्रै चुनाव गर्ने प्रचलन संसारको कुन स्थानमा छ भनि प्रश्न गरेका ओलीका स्वकीय सचिव अनिस दाहालले बताए।

‘एक साताको अन्तरमा चुनाव हुँदा राम्रो हुने हो तर सरकारले एक महिनाका अन्तर राखेको छ। यसले धरै प्रकारको समस्या ल्याउने छ,' एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने। सरकार र मधेशी मोर्चासँग भएको सहमतिअनुसार सरकारले अघि सारेको संविधान संशोधन प्रस्तावलाई परिमार्जन गर्ने सहमति भएको छ। ‘अहिलेको सरकारले अघि सारेको परिमार्जन स्वीकार नगरिने हामीले बतासकेका छौं,' भट्टराईले भने, ‘हामी दुई तिहाइ पुग्न नदिएर त्यसलाई असफल पार्ने छौं।'

प्रकाशित: ११ वैशाख २०७४ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App