१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘करेन्टदेखि डर लाग्छ’

विपिन कार्की, अभिनेता

नाटक खेल्न मज्जा कि फिल्म ?
नाटक खेल्न नै मज्जा आउँछ । मेरो पहिलो चिनारी नाटकसँगै जोडिएको हुनाले पनि नाटक खेल्न पाउँदा खुशी लाग्छ । तर, आजभोलि फिल्म खेल्दा पनि रमाइलो लाग्न थालेको छ ।

कलाकार नबनेको भए के बन्नुहुन्थ्यो ?
अरबतिरको लाहुर हुन्थेँ । मेरा सबै साथीभाइ उतै छन् । सायद, म पनि उतै जान्थेँ ।

आफैँले गरेकामध्ये मन परेको चरित्र ? किन ?
सुनिल पोखरेलको निर्देशनमा बनेको नाटक ‘रसोमन’को घाटे भन्ने चरित्र मन पर्छ । अनि, ‘जात्रा’ फिल्मको फणीन्द्र पनि मन पर्छ मलाई । त्यो अलि–अलि मजस्तै छ ।

अभिनेता बनिसकेपछि के कुरालाई तपार्इं सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?
पुरानो विपिन कार्की ‘मिस’ गर्छु । पहिला–पहिला मलाई कसैले पनि चिन्दैनथ्यो । कुनै भूमिकाका लागि तयारी गर्नुप¥यो भने म मेरा चरित्रजस्तै मानिससँग निर्धक्क कुरा गर्थें । उनीहरू पनि खुल्थे । तर, आजभोलि सचेत हुन्छन् ।

एउटा कुरा जेदेखि असाध्यै डर लाग्छ ?
बिजुलीको करेन्ट । बाघ, भालुभन्दा पनि करेन्टदेखि डर लाग्छ ।

एउटा गल्ती जुन सम्झेर आज पनि पछुतो लाग्छ ?
अनगिन्ती छन् । एउटा मात्र भए पो सम्झनु ? अँ..इन्टर पास गरेपछि लहैलहैमा दुई वर्ष सीए पढेँ तर पूरा गर्न सकिनँ । अहिले सम्झँदा सीए पढ्ने निर्णय अहिलेसम्म गरेकोमध्ये सबैभन्दा ठूलो गल्ती लाग्छ ।

तपाईंको पहिलो जागिर र तलब कति थियो ?
डिस्टिलरीको मार्केटिङ गरेको थिएँ । छ हजारजति तलब थियो ।

जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
त्यो दिनको प्रतीक्षामा छु । चरम खुशीको क्षण आउनै बाँकी छ ।

मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
टिमवर्क । फरक–फरक पृष्ठभूमिबाट आइएको हुन्छ । तर, यसरी काम गरिन्छ,मानौ हामी वर्षौदेखिका साथी हौँ ।

के कुराले तपार्इंलाई बढी चित्त दुख्छ ?
फिल्म क्षेत्र गुटबन्दीको शिकार भएको देख्दा चित्त दुख्छ । हाम्रो उद्योग सानो छ त्यही पनि यो त्यो क्याम्पको, ऊ यो क्याम्पको भनेर छुट्याउने चलन छ । यसले मेरो चित्त दुख्छ ।

यदि तपाईं देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
त्यतिबेला जे गर्नुपर्ने हुन्छ त्यही गर्छु । तर, राजनीतिमा मेरो ज्ञान र रुचि दुवै छैन ।

कस्तो कुराले तपाईंलाई बढी खुशी बनाउँछ ?
आफूले खोजेको जस्तै चरित्रमा अभिनय गर्न पाउँदा खुशी हुन्छु ।

युवतीहरूले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
रमाइलै लाग्छ लाग्न त । तर, बहकिन्नँ । केटा मात्र फ्यान छन् भन्ने लाग्थ्यो पहिला । अहिले त केटी पनि रै’छन् भन्ने लाग्छ ।

तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
गायनमा रुचि छ । गिटार हल्का बजाउँछु ।

तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
मलाई कविता लेख्न मन पर्छ । नन फिक्सन लेखनमा पनि रुचि छ । तर, मलाई हेर्दा कसैले पनि कविता लेख्छ भनेर पत्याउँदैन है ? एउटा कवितासंग्रह निकाल्न मन छ । तर, पूरा गर्न पाएको छैन ।

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
चरित्रमा पस्न सक्ने खूबी छ कि जस्तो लाग्छ ममा । अरूले त्यसै भन्नुहुन्छ । मलाई पनि हो कि जस्तो लाग्छ ।

आफूलाई नै मन नपर्ने आफ्नो बानी ?
सबैसँग घुलमिल गर्न सक्दिनँ । सबले एकलकाँटे भन्छन् । यो बानी हटाउने प्रयास गरिरहेको छु ।

कुनै फिल्म वा नाटकको चरित्र जुन तपाईंलाई गर्न मन छ ?
नाटकमा चाहिँ सेक्सपियरको ‘ह्यामलेट’ गर्न मन छ । फिल्ममा चाहिँ लियोनार्डो डिकाप्रियोले ‘रेभन्यान्ट’मा गरेको जस्तो भूमिका गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
प्रस्तुतिः सामीप्य

(नागरिक परिवारबाट)

 

 

 

प्रकाशित: १० वैशाख २०७४ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App