कामको उमेर हुँदैन

आइतबार, १० बैशाख २०७४, १५ : २० नागरिक | Kathmandu

–रामकुमार डिसी

तन्नेरीले झैँ सक्रिय जीवन बाँचिरहेका ज्येष्ठ नागरिक धेरैका आदर्श हुन् । अर्कातिर, पेट पाल्नका लागि बुढेसकालमा हड्डी घोट्ने पनि छन् ।
‘म कहिल्यै बुढो हुनेछैन । मेरा लागि वृद्धावस्था १५ वर्षको किशोरवयजस्तै हो’– बेलायती लेखक फ्रान्सिस बेकनको घतलाग्दो टिप्पणी हो यो ।
बुढो हुन अस्वीकार गर्ने बेकनजस्तै पात्रहरू नेपाली समाजमा पनि छन्, जो उमेरले पाको भए पनि ऊर्जा र क्रियाशीलताका हिसाबले तरोताजा तन्नेरीझैँ छन् ।
संस्कृतिविद् सत्यमोहन जोशी आउँदो वैशाख ३० गते ९७ वर्ष पूरा भई  ९८ वर्षमा हिँड्नेछन् । उनको सक्रियता युवाले पनि आह्रिस गर्ने खालको छ । ‘कार्यक्रममा प्रमुख अतिथि, अतिथि बन्न आइदिनुप¥यो भनेर बोलाउँछन्,’ जोशी भन्छन्, ‘टार्न नसकेर गइदिन्छु ।’ उनी हप्तामा दुई÷तीनवटा कार्यक्रममा पुगेकै हुन्छन् । चस्मा लगाए पनि मज्जाले लेखपढ गर्न सक्छन् । दिनहुँ लेखपढ गर्छन् । केही पुस्तकको समीक्षा लेखिराखेको बताउँछन् ।
वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी ७० वर्षका भए । उनी  मोटरबाइक चलाएर पत्रकारिता पढाउन कलेज जान्छन् । रेग्मी अहिले मदन भण्डारी र कान्तिपुर सिटी कलेजमा पत्रकारिता तथा आमसञ्चारको कक्षा लिन्छन् । दुवै कलेजमा गरेर उनी हप्ताको १० कक्षा लिन्छन् । त्यस्तै, ८० वर्ष काटिसकेका लाल देउसा राई त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा प्राध्यापनरत छन् । राई मदन भण्डारी कलेजमा पनि पत्रकारिता पढाउँछन् । उनी त्यहाँ हप्ताको तीन कक्षा लिन्छन् ।
सामान्य जीवनशैलीले सक्रिय
काठमाडौँ उपत्यकाको शहरिया परिवेशमा जन्मेका वरिष्ठ संस्कृतिविद् जोशी जागिरको सिलसिलामा नेपालका विभिन्न ग्रामीण भेगमा पुगेका छन् । गाँउघरमा घुम्दा त्यहाँका मानिसको समान्य जीवन शैलीमा घुलमिल हुने अवसर पाएको र त्यसबाट प्रभावित भएको उनी बताउँछन् । त्यहीँबाट आफूले ‘प्लेन लिभिङ, हाई थिङ्किङ’ अर्थात् ‘सादा जीवन, उच्च विचार’ को जीवनदर्शन सिकेको र अहिलेसम्म सक्रिय हुन सकेको उनी सुनाउँछन् । ‘जीवनसम्बन्धी ठूलो हैन, एउटा कोरा दर्शन छ मेरो,’ उनी भन्छन्, ‘सन्तोष नै जीवनको ठूलो दर्शन हो । यसले नै मलाई अहिलेसम्म सक्रिय हुन मद्दत गरेको छ ।’ उनी आफूसँग कुनै ठूलो योजना वा महत्वाकांक्षा नभएको बताउँछन् । ‘म चिन्ताभन्दा चिन्तन गर्छु,’ उनी भन्छन् ।
उता, रेग्मी भने आफू कहिल्यै दिक्क मानेर नहिँड्ने बताउँछन् । उनी स्वयंलाई ‘मोटिभेट’ गरिरहेका हुन्छन् । ‘म दिक्क मानेर कहिले पनि बस्दिनँ,’ रेग्मी भन्छन्, ‘आफँैले आफूलाई सकारात्मक कुरामा उत्प्रेरित गर्छु । त्यसले सक्रिय बनाउँदो रहेछ ।’ स्वावलम्बनमा विश्वास गर्ने रेग्मी  सकेसम्म आफ्नो काम आफैँ गर्छन् । ‘अहिले पनि किनमेल आफैँ गर्छु,’ उनी भन्छन्, ‘बत्तीको बिल पनि आफँै तिर्छु । मोटरसाइकल बनाउन आफैँ जान्छु ।’
त्यस्तै, प्राध्यापक राईको जीवनशैली पनि सामान्य खालको छ । उनी अहिले पनि दैनिक ४५ मिनेट हिँड्छन् । पैदलै कलेज जान्छन् । ‘म कहिल्यै पनि आफूलाई कमजोर ठान्दिनँ,’ राई भन्छन्, ‘स्वास्थ्यसम्बन्धी कुनै ठूलो समस्या छैन ।’ उनी आफूसँग जीवनप्रति दुखेसो पोख्ने र निराश हुने फुर्सद नभएको बताउँछन् ।
कपिलवस्तुकी चन्द्रवदन श्रेष्ठ ७५ वर्षकी भइन् । उनी राजनीतिमा सक्रिय छिन् । राष्ट्रिय जनमोर्चा पार्टीबाट राजनीतिमा सक्रिय उनी अहिले पार्टीको कपिलवस्तु जिल्लाको सल्लाहकार र पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्यसमेत हुन् । उनी अहिले पनि पार्टीको संगठन विस्तारमा सरिक हुन्छिन् । कार्यक्रमहरूमा सहभागी भइरहन्छिन् । सामाजिक असमानता र घरेलु हिंसाले उनलाई राजनीतिमा आउन प्रेरित गरेका हुन् । ‘पति र घरबाट लामो समय हिंसा भोगेँ,’ उनी भन्छिन्, ‘मैले भोगेको जस्तो विभेद र हिंसा अरूले भोग्न नपरोस् । मेरो राजनीति भनेकै विभेद र असमानताविरुद्ध लडाइँ हो ।’
पेट पाल्ने बाध्यता
पेट पाल्नका लागि वृद्धावस्थामा समेत काम गर्नुपर्ने बाध्यता हुनेहरू पनि धेरै छन् । असन, काठमाडौँका नारायण मानन्धर त्यस्तै पात्र हुन् । उमेरले ८३ वर्षका भए । उनका एक बहिनी र एक भाइ छन् । उनीहरू तीनै जनाको बिहे भएको छैन् । अघिपछि कोही पनि नभएपछि उनीहरूको रेखदेख गर्ने पनि कोही छैन । आफ्नो पेट भर्न आफैँ काम गर्नुपर्ने बाध्यताले मानन्धर एउटा तौल नाप्ने यन्त्र र केही लाइटर राखेर न्युरोड गेटमा बस्छन् । ‘कहिले एक÷दुई सय हुन्छ, कहिले एक सुको पनि हुँदैन,’ उनी भन्छन्,‘ पैसा भएको बेला खाने हो, नत्र भोकै ।’ उनी ढाड, टाउको दुख्ने समस्याबाट पीडित छन् ।
मकवानपुरका ७० वर्षीय कृष्णप्रसाद घिमिरेलाई पनि सुबिस्ता छैन ।  २०६१ सालको पहिरोले खेत र २०७२ सालको भूकम्पले घर खाइदिएपछि उनी अहिले काठमाडौँमा छन् । घरबारविहीन उनको १२ जनाको परिवार असनमा डेरा लिएर बस्छ । उनी रत्नपार्कस्थित शान्तिबाटिकाको गेटमा बसेर सानोतिनो व्यापार गर्छन् । केही चक्लेट, चुरोट, पुकार र  मोबाइलका रिचार्ज कार्ड फिँजारेर सडकपेटीमा बस्छन् । उनका दुई छोरा पनि यस्तै व्यापार गर्छन् । ‘काम नगरी ज्यान केले पाल्ने ?’ उनी भन्छन्, ‘मान्छेको उमेर भए पनि कामको उमेर हुँदैन रहेछ ।’

(नागिरक परिवारबाट)

 








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad