१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई चरणको निर्वाचनबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगसँग परामर्श

काठमाडौं- मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने सहमति भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसको परामर्शमा जुटेका छन्।

प्रधानमन्त्री दाहालले आइतबार नै पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका छन्।
शनिबार सरकार र संघीय गठबन्धन बीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरुसँग परामर्श गरेको उनको सचिवालयले जनाएको छ। परामर्शपछि आजै बस्ने मन्त्रीपरिषदको बैठकले निर्वाचनबारे ठोस निर्णय गर्ने प्रधानमन्त्रीको वेबसाइटमा उल्लेख छ।

आइतबार बिहान मात्र प्रधानमन्त्री दाहालले आफ्नो पार्टी माओवादी केन्द्रको बैठक बोलाएर सहमतिबारे छलफल गरेका थिए। माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले सरकार र मोर्चाबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको थियो।

शनिबार मोर्चा र सरकारबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने, मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिने, संविधान संशोधन गर्ने सहमति भएको थियो।
बैठकमा प्रधानमन्त्री दाहालले मोर्चासँग भएको सहमतिबारे बैठकमा नेताहरुलाई जानकारी गराएका थिए। बैठकमा दाहालले सबै राजनीतिक दलहरु निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा भएको भन्दै अब सम्पूर्ण रुपले निर्वाचनमा होमिन नेताहरुलाई निर्देशन दिएका थिए। माओवादीले सरकार र मोर्चाबीच भएको सहमतिलाई अक्षरंश कार्यान्वयन गर्न पार्टीको तर्फबाट आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ।

 

प्रकाशित: १० वैशाख २०७४ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App