१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)

ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई भेट्दै स्वास्थ्यमन्त्री थापा। तस्बिर: नागरिक

काठमाडौं– ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् । कपिल आगोले जलेर एक वर्षदेखि थलिए थिए।  अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए। उनलाई बिहीबार उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।

स्वास्थ्यमन्त्री थापाले कपिलको सम्पूर्ण उपचार राज्यले गर्ने बताए । ‘संरक्षण गनुपर्ने समुदाय भएकोले उनको सबै उपचार राज्यले गर्छ’ थापाले भने, ‘उपचारमा कुनै कमी हुन दिँदैनौं ।’

राउटे समुदायको लागि निःशुल्क स्वास्थ्य विमा गरिने पनि थापाले बताए । बीमाको सबै शुल्क राज्यले  व्यहोर्ने गरी उनीहरुको बीमाको व्यवस्था गरिने उनले प्रष्ट पारे । उनीहरुको लागि पोषण युक्त खानेकुराको व्यवस्थ गर्न पनि कार्ययोजना बनाइने थापाले बताए ।

राउटेहरुको लागि घुम्ती स्वास्थ्य क्लीनिकको व्यवस्था गरिने उनले बताए। अस्पतालसम्म आउन नमान्ने भएका कारण उनीहरु बसेकै स्थानमा चिकित्सक सहितको घुम्ती स्वास्थ्य सेवा दिइने उनले बताए ।

भिडियो:

राउटे बस्तीमा विरामी अवस्थामा रहेकी राउटे मुखिया मैनवहादुर शाहीकी छोरीलाई उपचारको लागि अस्पताल ल्याउन एम्वुलेन्स व्यवस्था गरिने पनि थापाले बताए ।

आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि काठमाडौ ल्याइएको हो । उनलाई राउटे उत्थान प्रतिष्ठान, उपराष्ट्रपतिका छोरा दिपेश पुन र एनआरएन बेल्जीयमका महासचिव लोक दाहाल को पहलमा उपचारको लागि काठमाडौं ल्याइएको हो ।

उनलाई काठमाडौ सम्म पुर्याउनको लागि बेल्जीयममा डा. लुक बुकुर, इनजीनियर राफ भेरहेन र भान होफ मिगेलले आर्थिक सहयोग गरेका थिए ।

राउटे समुदाय अहिले पनि झारफूक र जडिबुटीमै विश्वास राख्ने भएकोले उपचारको लागि अस्पताल जान मान्दैनन् । कपिलसँगै उपचारको लागि उनका तीन जना आफन्त समेत काठमाडौं आएका छन् । कपिल राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा हुन् । कपिलको उपचारको लागि उनका बुवा वीरबहादुर पनि काठमाडौं आएका छन् ।

 समयमै उपचार नपाए पछि घाउ बल्झिए कपिल उठ्नै नसक्ने अवस्थामा पुगेका थिए । कपिलको उपचारका लागि बेल्जियमका डाक्टर लुक बुकुरसहितको टोली राउटे बस्दै आएको दैलेखको विन्द्रासैनी पुगेका थिए । डाक्टर लुकले बस्तीमै उपचार संभव नभएको बताएपछि राउटे समुदाय कपिललाई उपचारका लागि अस्पताल पुर्याुउन राजी भएको थियो।

ट्रमा सेन्टरमा डा. पियुस दाहाल नेतृत्वको टोलीले कपिलको उपचार गरिरहेको छ । मध्यपहाडी जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हाल दैलेखको विन्द्रासैनीमा छन् । राउटे समुदाय करिव एक सय ५२ को हाराहारीमा छन्।

तस्बिर/ भिडियो: प्रबिन कोइराला

 

 

प्रकाशित: ९ वैशाख २०७४ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App