१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो :मन्त्री केसी

नुवाकोट – सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताएका छन् । 

प्रजातान्त्रिक विचार मञ्च नुवाकोटले विदुरमा शनिबार आयोजना गरेको ‘स्थानीय निर्वाचन र नेपाली काँग्रेस’ विषयक अन्तरक्रियामा उनले भने –“सबै दल मिलेर जारी गरेको संविधानको कार्यान्वयनका लागि पनि सबै दल एक भएर अगाडी बढ्नुको विकल्प छैन् ।” 

मन्त्री केसीले संविधान कार्यान्वयनमा अहिले केहि जटिलता देखिएकाले तीन ठूला दल मात्र नभई बाँँकी सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिदैं स्थानीय तहको निर्वाचन निष्पक्षरुपमा सबैको सहभागितामा सम्पन्न गर्न सरकार दृढ रहेको बताए । 

“सिंहदरबारमा रहेको अधिकार अहिले गाउँ गाउँमा आइपुगेको छ”, उनले भने, “व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहित गाउँको विकासको योजना गाउँमै निर्माण गर्ने अवसर नयाँ संविधानले दिएको छ ।” 

सांसद बहादुरसिंह लामा तामाङले महामानव विपी कोइरालाको एकता र मेलमिलापको आदर्श तथा समाजवादको सिद्धान्त पूरा गर्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको उम्मेदवार विजयी हुनुपर्नेमा जोड दिए । 

काँग्रेसका जिल्ला सभापति एवम् सांसद् जगदीश्वरनरसिंह केसीले स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट गुट–उपगुटभन्दा पनि जनताले रुचाएका व्यक्ति उम्मेदवार बन्ने विश्वास व्यक्त गरे । 

प्रजातान्त्रिक विचार मञ्चका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तहको चुनाव ठूलो अवसर र महत्वको पर्व रहेकाले सक्षम व्यक्तिको हातमा शक्ति प्रदान गर्न मतदाता सचेत हुनुपर्ने सुझाब दिए । 

समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले काँग्रेसले जारी गर्न लागेको घोषणापत्रमा परराष्ट्र नीति, सामाजिक न्याय, ज्येष्ठ नगारिक आवासगृह, समाजवादी चिन्तन, प्रजातन्त्रको नारा र समाजवादको मूल्य एवम् मान्यतालाई समावेश गर्न सुझाव दिए । 

कार्यक्रममा समाजका नुवाकोट अध्यक्ष शम्भुप्रसाद शर्मा, काँग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी, सचिव सुरेन्द्र अधिकारी, महासमिति सदस्य हरिकृष्ण श्रेष्ठ, रामकृष्ण थापा, शिक्षक ताराप्रसाद पाठक, रामबहादुर थापा, बाबुराम लामिछानेलगायतले काँग्रेसको नीति र आदर्श कार्यान्वयनका लागि प्रजातान्त्रिक विचार मञ्चको भूमिका महत्वपूर्ण रहेको बताए । रासस

प्रकाशित: ९ वैशाख २०७४ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App