१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्याटिङ निर्णायक हुने विश्वास

सुजन श्रेष्ठ/दिलबहादुर छत्याल

धनगढी- धनगढी टिम चौराहका कप्तान पारस खड्काले धनगढी प्रिमियर लिगको शनिबार हुने फाइनलमा उपाधिको छिनोफानो ब्याटिङ प्रदर्शनले गर्ने बताएका छन्। चौराहको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका कप्तानले विराटनगर किंग्सविरुद्ध हुने फाइनलमा ‘जसले राम्रो ब्याटिङ गर्‍यो, उसैले जित्ने' भविश्यवाणी गरे।

‘यो पिचमा रन बनाउन निकै गाह्रो छ। तर सकरात्मक सोचका साथ ब्याटिङ गर्‍यो भने रन बनाउन सम्भव पनि छ। क्रिजमा टिक्न सक्यो भने कुनै न कुनै बेला खराव बल आउछ,' कप्तान पारसले भने, ‘बलिङ सबैको राम्रो छ, त्यसैले ब्याटिङ राम्रो गर्नेले जित्छ।'

समूह चरणमा शुरुका तीन खेलमा पराजित भएपछि लगभग प्रतियोगिताबाट बाहिरिएको टिम चौराहले अप्रत्यासित रुपमा फाइनल यात्रा तय गरेको थियो। लगातार पहिलो तीन खेल गुमाएपछि टिम चौराहलाई समूह चरणको अन्तिम खेल जित्नै पर्ने थियो। रुपन्देहीलाई चौराहले १४.३ ओभरमा जितेमात्र प्लेअफमा स्थान बनाउन सक्थ्यो। त्यहीअनुरुप चौराहले ९२ रनको लक्ष्य ११ ओभरमै ४ विकेट गुमाएर पूरा गरेपछि प्लेअफमा स्थान बनाउन सफल भयो। दोस्रो प्लेअफमा काठमाडौं गोल्डेन्सलाई हराएको चौराहले रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै प्रतियोगिताको फाइलनमा स्थान बनाएको हो।

शनिबार हुने फाइलनमा चौराहलाई घरेलु दर्शकको साथ हुनेछ। तर, कप्तान पारसले दर्शकको साथ भए पनि मैदानभित्र राम्रो क्रिकेट खेल्नु पर्ने बताए।

‘घरेलु टोलीको रुपमा खेलिरहेका छौं। सबैको साथ पाएका छौं। तर मैदानभित्र पसिसकेपछि बाहिरको कुराले धेरै फरक पार्दैन। मैदान भित्र बल, ब्याट र खेलाडीमा मात्र ध्यान हुन्छ,' विराटनगर राम्रो टोली भएको भन्दै पारसले बिहीबार थपे, ‘विराटनगर र टिम चौराहमात्र यस्ता टोली हुन्, जसले पहिला ब्याटिङ गरेर पनि जितेका छन्। पहिला बलिङ गरेर पनि जितेका छन्। दुबै टोलीले राम्रो खेलिरहेका छन्। हाम्रा योजना सफल भइरहेका छन्। आशा गरौं, भोली पनि हाम्रो योजना सफल हुनेछ। त्यसका लागि राम्रो क्रिकेट खेल्नुको विकल्प छैन।'

केही महिनाअघि मात्र एभरेस्ट प्रिमियर लिगको उपाधि जितेका विराटनगरका कप्तान शरद भेषावकरले घरेलु समर्थकलाई स्तब्ध बनाएर उपाधि जित्ने आशा व्यक्त गरे।

‘चौराहलाई घरेलु दर्शकको साथ छ। त्यो भन्दा हामी खेलमा केन्द्रित हुनेछौं। खेलाडीहरुलाई आफूले के गर्नुपर्छ भन्ने थाहा छ। आफूले सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं। आशा गरौं नतिजा पनि राम्रो आउछ,' फाइनलमा स्वभाविक दबाब हुने भन्दै शरदले थपे, ‘जसले दबाब हुदैन भन्छ, मेरो विचारमा त्यसले ढाँटिरहेको हुन्छ। हामीलाई पनि दबाब छ। तर त्यसलाई व्यवस्थापन गर्नुपर्छ। जुन टोलीले दबाब चीर्न सक्छ त्यो टोली विजयी हुनेछ।'

समुह चरणका ५ खेलमा ३ जित र २ खेल हारेको विराटनगर दोस्रो स्थानमा रहेर प्लेअफलाई छानिएको थियो।

पहिलो प्लेअफमा रुपन्देहीलाई हराउँदै विराटनगरले फाइनल यात्रा तय गरेको हो। चौराहले पनि पछिल्लो खेलमा राम्रो क्रिकेट खेलेको भन्दै कप्तान शरदले ठट्टा गरे, ‘चौराहले राम्रो क्रिकेट खेलिरहेको छ। हिजो उनीहरुले ठूलो स्कोर पनि बताए। तर, भोली उनीहरुले त्यस्तो नखेलुन।'

सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा ठूलो योगफल बन्न सकिरहेको छैन। तर शरदले फाइलनमा ठूलो स्कोर बन्ने विश्वास व्यक्त गरे। ‘यहाँको पिचलाई लिएर धेरै चर्चा भएको छ। तर, ब्याट्सम्यानले रन बनाउनै नसक्ने भन्ने होइन। आशा गरौं भोली पनि ठूलो स्कोर बन्नेछ र फाइलन रोमाञ्चक बन्नेछ।'

प्रकाशित: ९ वैशाख २०७४ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App