१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले उम्मेदवार चयन १२ सम्म

काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचनका लागि आगामी मंगलबारसम्म उम्मेदवार छनोट गर्ने भएको छ। एमालेमा वडा अध्यक्ष र सदस्य उम्मेदवारको छनोट जिल्ला कमिटीले र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर र उपमेयर उम्मेदवार छनोटको जिम्मेवारी प्रदेश कमिटीले गर्नेछ।

‘स्थानीय कमिटीको सुझाव र सिफारिसका आधारमा पार्टी स्थायी कमिटीले महानगर र उपमहानगरका मेयर र उपमेयरको छनोट गर्नेछ,' एमाले संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले नागरिकसँग भने, ‘आगामी वैशाख १२ गते सबै क्षेत्रका उम्मेदवारको टुंगो लागिसक्नेछ।' एमालेले स्थायी कमिटी बैठक वैशाख १२ का लागि बोलाएको छ।

एमाले कार्यतालिकाअनुसार शुक्रबारसम्म जिल्ला कमिटीले र आइतबारसम्म प्रदेश कमिटीले उम्मेदवार छनोट गर्नुपर्नेछ।

वैशाख ३१ गते हुने स्थानीय चुनावका लागि वैशाख १६ गते उम्मेदवार मनोनयन हुनेछ। एमालेका कतिपय स्थानमा दुई दशकको निर्वाचन जितेर स्थानीय निकाय सञ्चालन गरिरहेका नेताहरू दोहोरिन चाहेका छन्।

‘स्थानीय तहको अहिले प्राप्त गरेको अधिकारका कारण गाउँपालिकामा समेत जिल्ला कमिटी अध्यक्ष र जिल्लाका सिनियर नेताहरुले समेत उम्मेदवारको  इच्छा देखाउनुभएको छ,' केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्।

सचिव गुरुङका अनुसार ७० प्रतिशत गाउँपालिकामा उम्मेदवार सर्वसम्मत छनोट भइसकेका छन्। महासचिव ईश्वर पोखरेल नेतृत्वमा रहेको १५ सदस्यीय स्थानीय चुनाव समन्वय तथा अनुगमन समितिले तल्लो तहसँग सम्पर्क गरेर केन्द्र र स्थानीय कमिटीबीच समन्वय गर्दै आएको छ। प्रदेशअनुसार सातजनालाई फोकल प्वाइन्ट तोकेर एमालेले उम्मेदवार छनोटदेखि आवश्यक जानकारी लिइरहेको छ।

यसका लागि प्रदेश एकमा भानुभक्त ढकाल, दुईमा वंशीधर मिश्र, तीनमा रघुजी पन्त, चारमा बेदुराम भुसाल, पाँचमा रामुकमारी झाँक्री, ६ मा छविलाल विश्वकर्मा, सातमा अग्नि खरेल तोकिएका छन्।

 झाँक्रीले अधिकांश स्थानमा उम्मेदवार सर्वसम्मत छनोट भएको र केही ठाउँमा मात्र समस्या रहेको बताइन्। 

थाइल्यान्डमा एक साताभन्दा बढी समय उपचार गराएर फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकदुई दिनभित्रै सबै उम्मेदवारको छनोट गरिसक्ने बताएका छन्।

प्रकाशित: ८ वैशाख २०७४ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App