१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेयर दाबी गर्ने एक्ली महिला दाहाल

दुधौली नगरपालिकाको मेयर आकांक्षी गङगा दाहाल । तस्बिर :अनिल भण्डारी

सिन्धुली – दुधौली नगरपालिकामा मेयरको टिकटका लागि यतिबेला काँग्रेस नेतृ गंगा दाहाल संघर्षरत छिन्। उनी नगरपालिका कै मेयर दाबी गर्ने एक मात्र महिला हुन् । 

दुधौली नगरपालिकामा आफूले सुरुवाती चरणदेखिनै विभिन्न सामाजिक काम गर्दै आएको र त्यहीबाट राजनीति सुरु गरेको भन्दै दाहालले मेयर पदका लागि टिकटको दाबी गर्दै आएकी छिन् ।

मेयरका आकांक्षी मध्ये नेपाली काँग्रेस दुधौली नगरकमिटीले दुई पुरुष सहित तीन जनाको नाम जिल्ला कमिटीमा मेयरका लागि सिफारिस गरेपछि उनि टिकटको दौरानमा पार्टीभित्रै संघर्ष गर्न थालेकी हुन् । नेपाल महिला संघकी जिल्ला अध्यक्ष समेत रहेकी दाहाल आफूले पार्टीमा धेरै समय लगानी गरेकाले पार्टीले पनि टिकट आफूलाई दिनेमा ढुक्क रहेको बताउँछिन् । पुरुषले टिकट पाए जित्ने नभए नजित्ने हुदैन, उनले नागरिकसँग भनिन् । दुई नगरपालिका र सात गाँउपालिकाकै मेयर दाबी गर्ने काँग्रेसकी एकमात्र महिला हुन् उनी । अन्य महिलाहरूले उपमेयरको दाबी गर्दै आएपनि उनि कुनैपनि हालतमा आफूले मेयरको टिकट पाउनु पर्ने बताउँदै आएकी छिन् । 

पार्टीले महिलालाई पनि उच्च सम्मान गर्दै मलाई टिकट दिन्छ भन्ने लागेको छ, नगरकमिटीबाट म सिफारिस भइसके अब पार्टीले पनि उचित सम्मान गर्नैपर्छ ।’ नेपाली काँग्रेस दुधौली नगर कमिटीले उनि सहित नेता गङगा गिरी र हाल शिक्षक पेशामा रहेका मोहन शाहीको नाम मेयर उम्मेद्वारीका लागि सिफारिस गरेको छ । महिलाको हकहितमा मात्र नभएर आफूले त्यस नगरपालिकाभित्रको विकास निर्माण र समाज परिवर्तनमा ठूलो भूमिका निर्वाह गर्दै आएको उनले जिकिरी गरिन् । पार्टीले मलाई मेयर पदमा टिकट नदिनुपर्ने त्यस्तो केही कारण छैन भन्ने लाग्छ, उनले भनिन्–‘संगठन विस्तार नेतृत्व क्षमतामा पुरुष भन्दा मेरो केही कमी रहेको जस्तो लाग्दैन ।’ दाहाललाई दुधौली क्षेत्रको बलियो उम्मेद्वारको रुपमा पनि स्थनीयले चर्चा चलाएका छन् । 

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट सुनकोसी गाँउपालिकामा एक महिला उम्मेदवारले प्रमुखको दाबी गर्दै आएकी छिन् । पार्टीभित्र दरिलो पहुँच राखेकी महिला नेतृ दिपा बोहोराले गाँउपालिका अध्यक्षको दाबीसहित चुनाव प्रचारप्रसारमा लागिसकेकी छन् । नेकपा माओवादी जिल्ला अध्यक्ष राजन दाहालकी धर्मपत्नी समेत रहेकी बोहोराले टिकट पाउने पक्कापक्किजस्तै भइसकेको माओवादी केन्द्रले जनाएको छ । महिलालाई अध्यक्ष पद र उपाध्यक्षमा पुरुषलाई उम्मेदवार बनाउने माओवादीको आन्तरिक तयारी भइरहेको स्रोतले बताएको छ । अन्य पार्टीमा भने महिलाले मेयर तथा अध्यक्ष दाबी गरेका छैनन् । महिलाहरू उप प्रमुखमै खुसी देखिएका छन् । 

प्रकाशित: ७ वैशाख २०७४ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App