१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ललितपुरमा रहस्यमय गोलीकान्ड, प्रहरीले अस्पतालबाट थाहा पायो घटना

काठमाडौं— काठमाडौंको गौरीघाटमा भएको गोलीकान्डको अनुसन्धानको पहेली नखुल्दै ललितपुरमा अर्को रहस्यमय गोली प्रहारको घटना भएको छ। चैत २९ मा गौरीघाटको दिब्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो।

ललितपुरमा आइतबार बेलुका शन्तोष खड्कालाई गोली हानिएको हो। दावाको घटना लगत्तै प्रहरीले चाल पाएको थियो। गोली लागेका खड्का उपचारका लागि पाटन अस्पताल पुगेपछि मंगलबारमात्र घटना प्रहरीको जानकारीमा आएको हो।

‘अहिले जे सूचना आएको छ त्यसको आधारमा केही भन्न सकिने अवस्था छैन,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी ठुले राईले भने, ‘पीडितको ब्यबहार र घटना दुवैलाई जोडेर अनुसन्धान अगाडि बढाइरहेका छौं।’

गोली लागेको तेस्रो दिन प्रहरीलाई जानकारी नै नगराई पीडित उपचारका लागि अस्पताल भर्ना भएकाले प्रहरीले घटनालाई रहस्यमय सूचीमा राख्दै अनुसन्धान अगाडि बढाइरहेको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार क्रिस्चियन महासंघका सचिव समेत रहेका खड्का मंगलबार विहान पाटन अस्पताल पुगेका थिए। कम्मरमुनी गोली अड्केको एक्से बोकेर उनी अस्पताल पुगेपछि अस्पतालमा खटिने प्रहरीले सूचना पाएर महानगरीय प्रहरी परिसर ललितपुरमा खबर गरेका थिए।

‘ललितपुरमा गोली लागेर एक जना घाइते भएको सूचना आएको छ,’ अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले नागरिकन्युजसँग भने ‘पीडित अस्पताल पुगेपछि मात्रै प्रहरीले जानकारी पाएकाले दुबै कोणबाट अनुसन्धान भइरहेको छ।’

पाटनमा उपचाररत खड्काको दावी अनुसार आइतबार बेलुका घर फर्कनेक्रममा ललितपुरको जिल्ला प्रशासन कार्यालय पछाडिको सडकमा केही पड्किएको आवाज सुनेका थिए। उनी मोटरसाइकलमा थिए। उनी मोटरसाइकल नरोकी सिधै कोठामा पुगे। प्रहरीसँग उनले गरेको प्रारम्भिक दावी अनुसार कोठामा पुगेर सर्ट खोल्दा रगत देखेपछि उनले घाउ लागेको चाल पाएका थिए ।

कोख नजिकै घाउ देखेपछि उनी सातदोवाटोमा रहेको गणेश अस्पताल पुगे। अस्पतालका चिकित्सकले घाउ भएको भन्दै ड्रेसिङ गरेर टेप टासी उनलाई घर फर्काए।

घर फर्किएका उनको पीडा कम भएन। दुखाइ अझ बढेपछि उनी किष्ट मेडिकल कलेज पुगेका थिए। किष्टका चिकित्सकले उनको घाउ भएको स्थानको एक्सरे गरेपछि मात्रै उनलाई गोली लागेको खुलेको थियो।

गोली भित्रै अड्किएको र अप्रेशन गरेर निकाल्नुपर्ने भन्दै किष्टले पाटन अस्पताल पठायो र उनी मंगलबार पाटन पुगेपछि मात्रै घटना खुलेको थियो। मंगलबार खड्कामाथी गोली प्रहार भएको घटना सार्वजनिक भएकै विहान ललितपुरस्थित एजप्सन चर्चमा रहेको एउटा गाडी र एउटा मोटरसाइकलमा अगजनी भएको थियो।

प्रहरीले यी दुबै घटनालाई एकै स्थानमा जोडेर अनुसन्धान गरिरहेको छ। खड्कालाई कसले गोली हान्यो र उनले गम्भीर घटना प्रहरीबाट किन लुकाउने प्रयास गरे त्यो खुल्न सकेको छैन।

‘अहिले जे सूचना आएको छ त्यसको आधारमा केही भन्न सकिने अवस्था छैन,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी ठुले राईले भने, ‘पीडितको ब्यबहार र घटना दुवैलाई जोडेर अनुसन्धान अगाडि बढाइरहेका छौं।’

दावा घटना रहस्यमै

चैत २९ गते दावामाथी भएको गोली प्रहारको घटनाको क्लोज सर्किट टेलिभिजनको दृष्य फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न लगाएको सो खुल्न सकेको छैन।

घटना लगत्तै लोप्साङ राईको नाममा प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिइएको थियो। उनले गरेको कल नम्बर प्राइभेट रहेको र उनले आफु हङकङमा रहेको दावी गरे पनि प्रहरीले यो रहस्यको गुत्थी खुलाउन सकेको छैन।

घटनास्थलको दृष्य र गोली हान्नेको शारिरिक पोजिसनको आधारमा हतियार चलाउन अनुभवी घटनामा संलग्न रहेको प्रहरीको निष्कर्ष छ । जानकारस्रोतका अनुसार अत्तरखेलको मेडिकल कलेजमा उपचाररत दावाले प्रारम्भमा आफुमाथी प्रहरीले नै गोली हानेको दावी गरे पनि पछि बयान बदल्दै राम गिरी र राजाराम श्रेष्ठको नाम पोलेका छन्।

रेष्टुरेन्ट ब्यवसायमा संलग्न गिरीसँग झगडाहुँदा उनी एक महिना अगाडि पक्राउ परी धरौटीमा छुटेका थिए। लामाले गिरी र खड्काको नाम पोले पनि प्रहरी बदलाका लागि हो या उनीहरुनै घटनामा संलग्न हुन् सोबारे अनुसन्धान जारी रहेको बताउँछ।

प्रकाशित: ५ वैशाख २०७४ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App