१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनाव तयारीमा दलको ढिलाइ

‘काठमाडौं- स्थानीय निर्वाचन मिति नजिकै आइसके पनि राजनीतिक दलको चुनाव तयारी ‘कछुवा गति' मा सीमित छ जसले सर्वसाधारणमा समेत अन्योल बढाएको छ। दलले सक्रियता नदेखाउँदा चुनावी रौनक जेजस्तो हुनुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन।

प्रतिपक्षी दलले भने सरकारले नै चुनावमा अन्योल बढाएर वातावरण बन्न नदिएको आरोप लगाएको छ। राजनीतिक दलले अझसम्म आआफ्ना उम्मेदवार चयन गर्न सकेका छैनन्। घोषणापत्र र चुनावी नारा तय गर्न पनि उनीहरू पछि परेका छन्।

पहिलो ठूलो दल नेपाली कांग्रेसले चुनावी नारा तय गरे पनि घोषणापत्र सार्वजनिक गर्न सकेको छैन। दोस्रो र तेस्रो ठूला दल एमाले र नेकपा माओवादी केन्द्रले पनि घोषणापत्र तयार पार्न सकेका छैनन्।

उता सरकार मधेसी मोर्चालाई मनाउनमै व्यस्त छ। सरकारमा रहेका दलले मोर्चा चुनावमा आएमा मिति सार्न सकिने धारणा राख्दै आएका छन्। दुई चरणमा चुनावको कुरा पनि सत्तारूढ दलहरूबाटै आएको छ। यसबाट पनि चुनाव तयारी अघि बढ्न नसकेको राजनीतिक विश्लेषक निलाम्बर आचार्य बताउँछन्। राजनीतिक दलले उम्मेदवार चयनमा ढिलासुस्ती गर्दा चुनावी वातावरणमा अलमल बढेको उनको विश्लेषण छ। ‘दलहरूले उम्मेदवार चयन गर्नेबित्तिकै वातावरण बन्छ अनि जनता उत्साहित हुन्छन्,' आचार्यले भने, ‘तर दलले उम्मेदवारी चयन गर्न नसक्दा वातावरण बन्न सकेन।'

आचार्यले मधेसी मोर्चासँग सहमति नहुनु, दुई चरण अनि सत्तारूढ दलका नेताबाटै चुनाव मिति सार्नेजस्ता कुरा आउनुले चुनावमा अन्योल बढेको बताए। ‘अब अलमल गर्ने समय छैन। दलले तत्काल चुनावी वातावरण बनाउनुपर्छ,' उनले भने।

निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवारी मनोयन गर्न वैशाख १६ गतेलाई तोकेको छ। दलले वैशाख १२ गतेसम्म उम्मेदवार छानिसक्ने जनाएका छन्। मनोनयन दर्ता गराउनु चार दिनअघि मात्र उम्मेदवार चयन गर्दा चुनावी रौनक बढ्न नसक्ने स्वयं नेताहरू बताउँछन्।

नेपाली कांग्रेसले ७ गतेसम्म उम्मेदवार छानिसक्न जिल्ला र क्षेत्रीय समितिलाई जिम्मेवारी दिएको छ। ७ गतेसम्म उम्मेदवार छान्न नसकिएका ठाउँमा केन्द्रीय सदस्यले मिलाउने भएका छन्। उम्मेदवार छान्ने काममा सबैभन्दा बढी सकस कांग्रेसलाई पर्ने देखिन्छ। विवाद मिलाउन कांग्रेस नेतृत्वले केन्द्रीय सदस्यलाई जिल्लाजिल्ला पठाउने निर्णय गरेको छ। तर, जिम्मेवारी पाएका केन्द्रीय सदस्यले तयारी अघि बढाएको देखिएको छैन। उनीहरूले जिल्ल्ाागत स्थितिको रिपोर्ट अझसम्म केन्द्रीय कार्यालयमा बुझाएका छैनन्। लिखित रिपोर्ट बुझाउन महामन्त्रीले तीन महिनाअघि नै निर्देशन दिएका थिए।

कांग्रेसले अझैसम्म घोषणापत्र सार्वजनिक गरेको छैन। कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले बुधबार घोषणापत्रलाई अन्तिम रूप दिने र त्यसको एकदुई दिनभित्रै सार्वजनिक गर्ने बताए। गुरुङले जसरी चुनावी रौनक देखिनुपर्थ्यो, त्यसअनुसार तयारी हुन नसकेको बताए।

यस्तै एमालेले तीन दिनभित्र घोषणापत्र सार्वजनिक गर्ने र त्यसै दिन चुनावी नारा पनि तय गर्ने तयारी भइरहेको सो दलका नेताले बताएका छन्। एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले १२ गतेभित्र सबै ठाउँमा उम्मेदवार चयन गरिसक्ने बताए। ‘उम्मेदवार चयन गर्ने काम भइरहेको छ। १२ गते स्थायी समितिको बैठक बस्छ। नमिलेका ठाउँमा सोही बैठकमा चयन हुन्छ', उनले भने।

भट्टराईले सरकारले नै चुनावी वातावरण बिगारेको बताए। ‘सरकारमा रहेकाले नै अन्योल बढाएका छन्। कहिले दुइ चरणका कुरा गर्छन्, कहिले चुनाव सार्ने कुरा गर्छन्', भट्टराईले भने, ‘निर्वाचन आयोगका पदाधिकारीले पनि प्रस्ट कुरा गरेका छैनन्।'

पूर्वघोषित मितिमा चुनाव गराउन सरकार नै द्विविधामा रहेको आरोप भट्टराईले लगाए। ‘सरकारले नै द्विविधा बढाएको छ', उनले भने, ‘गृहमन्त्रीबाट पनि यस्तै अभिव्यक्ति आएका छन्।'

सरकारको नेतृत्व गरेको माओवादी केन्द्र पनि चुनावी तयारीमा अलमलमा देखिन्छ। माओवादी केन्द्रले उम्मेदवार छनोटमा ढिलो गरिरहेको छ। सो दलकी प्रवक्ता पम्फा भुसालले भने पार्टीले चुनावी तयारी अघि बढाएको दाबी गरिन्। माओवादी केन्द्रले ९ गते ७ सय ४४ वटै स्थानीय तहमा एकै पटक सभा गर्ने र त्यसै दिन उम्मेदवारको नाम पनि सार्वजनिक गर्ने उनले बताइन्। ‘हामीले एकै पटक ७ सय ४४ वटै स्थानीय तहमा उम्मेदवारको नाम सार्वजनिक गर्छौं,' उनले भनिन्। भुसालले चुनावी तयारीमा माओवादी केन्द्र अरू पार्टीभन्दा अघि देखिएको दाबी गरिन्।

चौथो ठूला दल राप्रपाका नेता चुनावी तयारीभन्दा पनि निर्वाचन आयोगविरुद्ध आन्दोलनमै व्यस्त छन्। निर्वाचन आयोगले राप्रपाको घोषणापत्रबाट हिन्दू राष्ट्र र राजतन्त्रको एजेन्डा हटाएको विरोधमा सो दल आन्दोलित भएको छ। राप्रपाका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले पार्टी निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलनमा लागेको हुनाले चुनावको तयारी अपेक्षाअनुरुप हुन नसकेको बताए। ‘निर्वाचन आयोगविरुद्ध हामीले आन्दोलन सुरु गरेका छांै। त्यसकारण पनि हाम्रो तयारी जसरी हुनुपर्थ्यो, त्यसअनुसार हुन सकेको छैन,' श्रेष्ठले भने।

स्थानीय चुनावमा जाने घोषणा गरेको लोकतान्त्रिक फोरमले पनि चुनावी तयारी अघि बढाउन सकेको छैन। पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवले मधेसी मोर्चा चुनावमा नआउने भएपछि आफ्नो पार्टीले पनि चुनावको तयारी अघि नबढाएको बताए। उनका अनुसार चुनावको तयारी गर्न मंगलबार केन्द्रीय समिति बैठक बस्दैछ। ‘हाम्रो पकड भएको ठाउँमा मात्र उम्मेदवारी दिने कि अन्यत्र पनि दिने, हामी निर्क्योलमा पुग्न सकेका छैनौं,' उपाध्यक्ष गीता राणाले भनिन्। चुनाव तयारी भने पार्टीले भित्रभित्रै गरिरहेको उनले दाबी गरिन्।

प्रकाशित: ५ वैशाख २०७४ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App