१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चीनले दियो निर्वाचन सामग्री

काठमाडौं- उत्तरी छिमेकी देश चीनले स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बराबरका विभिन्न ११ प्रकारका सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ। दक्षिणी छिमेकी देश भारतले निर्वाचनका लागि मागिएको सहयोग दिन पन्छिरहेका बेला उत्तरी छिमेकी देश चीनले निर्वाचनमा आवश्यक पर्ने सामग्री निर्वाचन आयोगलाई हस्तान्तरण गरेको हो। निर्वाचन आयोगमा सोमबार एक समारोहबीच चिनियाँ राजदूत यु होङ र आयोगका सचिव गोपीनाथ मैनालीबीच निर्वाचन सामग्री प्राप्त भएको कागजातसमेत आदानप्रदान भयो।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार चीनबाट जेलपेन, स्ट्याम्प प्याड मसी, क्याल्कुलेटर, स्केल, पन्चिङ मेसिन, टेबलघडी, कैची, ग्लुस्टिक, रबरम्याट प्राप्त भएका छन्। निर्वाचनका लागि आवश्यक सामग्री उपलब्ध गराएकोमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजदुत युलाई धन्यवाद दिएका थिए। ‘नेपाल र चीनबीच रहिआएको मित्रवत् र न्यानो सम्बन्ध विस्तारमा थप योगदान मिलेको छ,' प्रमुख आयुक्त यादवले भने, ‘निर्वाचनको जिम्मेवारी पूरा गर्न आयोगले कार्ययोजनाअनुरूप काम गर्नेछ।'

राजदूत युले स्थानीय तह निर्वाचनमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै निर्वाचन सफलताको शुभकामना दिइन्। उनले चीनले नेपालको पर्यटन, व्यापार, भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रमा सहयोग गरेको र आगामी दिनमा यसलाई थप वृद्धि गर्दै लगिने बताइन्।

निर्वाचनका लागि आयोगले चीन, भारत, जापानलगायतका देशसँग विभिन्न सामग्री सहयोग मागेको छ। तर भारतले यसअघिका निर्वाचनमा दिँदै आएको गाडी, मसी, कागजलगायतका सामग्री दिन ढिलाइ गरेपछि आयोग आफैंले मसी किन्न खरिद प्रक्रिया अघि बढाएको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि भारतसँग विभिन्न सामग्री मागे पनि लामो समयसम्म भारतले ती सामान दिने–नदिने निर्क्योल नगरेपछि आयोगले दुई साताअघि खरिद प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: ५ वैशाख २०७४ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App