१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महिला शिक्षक बढे

काठमाडौं- मुलुकका सामुदायिक विद्यालयमा महिला शिक्षकको संख्या बढेको छ। प्राथमिक तहमा एक जना शिक्षक अनिवार्य रूपमा महिला राख्नुपर्ने र अन्य तहमा पनि विज्ञापन गर्दा खुला र आरक्षण दुवैमा महिलाले प्रतिस्पर्धा गर्न पाउने भएकाले महिला शिक्षकको संख्या बढेको हो। शिक्षण पेसामा महिलाको संख्या बढेकै कारण विद्यालय भर्ना हुने बालिकाको संख्या बढेको दाबी शिक्षा सम्बद्ध अधिकारीहरूले गरेका छन्।

शिक्षा मन्त्रालयको शैक्षिक सूचना शाखाको तथ्यांकअनुसार विगत एक दशकमा महिला शिक्षकको संख्या ह्वात्तै बढेको छ। २०६३ सालमा प्राथमिक तहका कुल शिक्षकको  संख्यामध्ये ३०.१ प्रतिशत महिला थिए भने ७० प्रतिशत पुरुष थिए।

प्राथमिक तहमा ४४ प्रतिशत, निमावि तहमा २८.९ प्रतिशत र मावि तहमा १८.३ प्रतिशत महिला शिक्षक छन्।

सोही वर्ष निम्न माध्यमिक तहमा १६.३ प्रतिशत  र माध्यमिक तहमा ८.६ प्रतिशत महिला थिए। २०६८ सालमा  महिला शिक्षकको निकै बढेको थियो। त्यस वर्ष प्राथमिक तहमा महिला शिक्षकको संख्या ४२.२ प्रतिशत, निमावि तहमा २७.१ र मावि तहमा १७.६ प्रतिशत महिला शिक्षक थिए।

शिक्षा नियमावलीमा ३३ प्रतिशत महिला शिक्षक हुनुपर्ने व्यवस्था गरेपछि महिला शिक्षकको संख्या बढ्न थालेको शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले बताए।

२०७३ सालमा आइपुग्दा प्राथमिक तहमा ४४ प्रतिशत, निमावि तहमा २८.९ प्रतिशत र मावि तहमा १८.३ प्रतिशत महिला शिक्षक छन्।

'विद्यालयमा शिक्षक नियुक्ति गर्दा महिलालाई आरक्षण र खुला दुवै अवसर प्राप्त भयो', सहसचिव अर्यालले भने, 'महिलाको सक्षमता वृद्धि भयो र यसले विद्यालय शिक्षाको  विशेष गरी प्राथमिक तहमा विद्यार्थी संख्या वृद्धि भयो।' उनका अनुसार विगत एक दशकमा महिला शिक्षकको संख्या विद्यालय तहमा वृद्धि हुँदा छात्राको संख्यासमेत बढेको छ।

प्राथमिक तहमा तीन शिक्षक भएमा एक महिला र पाँच शिक्षक भएमा दुई महिला शिक्षक अनिवार्य हुनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा छ।

'महिला शिक्षक बढ्दा तल्ला कक्षामा सिकाइ उपलब्धि सुधारिँदै गएको छ', सहसचिव अर्यालले भने।

शिक्षाविद् टंकनाथ शर्माले विद्यालय शिक्षामा महिला शिक्षकको संख्या बढाएर शैक्षिक सुधार भएको अन्तर्राष्ट्रिय अनुसन्धानले प्रमाणित गरेको बताए। उनका अनुसार नेपालका सामुदायिक विद्यालयमा महिला शिक्षक बढ्नुले सकारात्मक संकेत दिएको छ।

'प्राथमिक तहमा महिला शिक्षकको संख्या वृद्धि भयो तर निम्न माध्यमिकदेखि मावि तहमा उत्साहजनक वृद्धि छैन', शर्माको विश्लेषण छ, 'सिकाइमा मुख्य समस्या निमावि र माविका नानीहरूमा छ।' उनले प्राथमिक तहमा भर्ना भएका नानीहरू माथिलो कक्षा चढ्दा मनोसामाजिक परामर्श आवश्यक पर्ने बताए। यसका लागि महिला शिक्षक आवश्यक हुने उनको विश्लेषण छ। सरकारले माथिल्ला कक्षामा महिला शिक्षक वृद्धि गर्नुपर्ने नीति लिनुपर्ने सुझाव शिक्षाविद् शर्माको छ।

अर्का शिक्षाविद् महेशनाथ पराजुलीले घरनजिकै धेरै सरकारी विद्यालय खुल्न थालेको र महिलाले सुरक्षित वातावरणमा शिक्षण पेसा गर्न पाउने भएकाले महिला शिक्षकको संख्या बढेको बताए। महिला शिक्षकको संख्या बढ्दा विद्यालय शिक्षा बालमैत्री बन्दै गएको उनको भनाइ छ।

'महिलासँग भावनात्मक सम्बन्ध राख्न सहज हुने भएकाले नानीहरू खुलेर समस्या राख्छन्। यसले शिक्षण सिकाइ कार्यकलापमा पनि सकारात्मक प्रभाव पर्छ', डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविका शिक्षक दीपेन्द्र रेग्मीले भने।

प्रकाशित: ३ वैशाख २०७४ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App