१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उम्मेदवार छान्ने चटारो

इलाम- जिल्लाका राजनीतिक दलहरू आउँदो स्थानीय तह चुनावको तयारीमा होमिएका छन्। दलहरूले उम्मेदवारको अन्तिम टुंगो लगाउन ‘आन्तरिक कसरत’ गरिरहेका हुन्।

                नेकपा एमालेले सोमबारदेखि बिहीबारसम्ममा वडा, गाउँपालिका र नगरपालिकाका उम्मेदवारको टुंगो लगाउँदैछ । एमाले जिल्ला सचिव महेश बस्नेतले वैशाख ४ देखि ७ गतेसम्ममा स्थानीय तहका उम्मेदवार छनौट गरिसक्ने बताए । ‘४ देखि ७ गतेसम्म जिल्लाका ६ वटै गाउँपालिका र ४ नगरपालिकासहित वडाका उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरिसक्ने तालिका छ,’ उनले भने, ‘अहिले उम्मेदवार छनौटका लागि वडादेखि गाउँ र नगरमा आन्तरिक छलफल घनीभूत चलिरहेको छ।’

                एमालेले चुनावका लागि विभिन्न उपसमितिहरूसमेत गठन गरेको छ । सचिव बस्नेतका अनुसार आगामी चुनावलाई लक्षित गरी जिल्ला अध्यक्ष राम रानाको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन र स्थानीय निर्वाचन प्रतिबद्धतापत्र निर्माण समिति, इलाम नगरमा कृष्ण श्रेष्ठको संयोजकत्वमा नगरस्तरीय परिचालन समिति बनाइएको छ ।  उपाध्यक्ष भक्त केसीको संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन समिति, जिल्ला सचिवालय सदस्य नवराज शंकरको संयोजकत्वमा प्रचार समिति, युवा इन्चार्ज छवि श्रेष्ठको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको बस्नेतले बताए । एमालेले उम्मेदवारको टुंगोपछि वडा, गाउँपालिका र नगरपालिकामा चुनावी सभा आयोजना गर्ने जनाएको छ।

जिल्लाका राजनीतिक दलहरू आउँदो स्थानीय तह चुनावको तयारीमा होमिएका छन्। दलहरूले उम्मेदवारको अन्तिम टुंगो लगाउन ‘आन्तरिक कसरत’ गरिरहेका हुन्।

                नेपाली कांग्रेसले पनि अहिले चुनावका लागि गाउँ–गाउँमा आन्तरिक रूपमा संवाद र छलफल चलाइरहेको छ । चैत २५ भित्रै उम्मेदवारको टुंगो लगाउने योजना रहेपनि ‘छलफल लम्बिएकाले’ कांग्रेसभित्र उम्मेदवारको टुंगो अहिलेसम्म लाग्न नसकेको हो। ‘हामीले चैत २५ मै उम्मेदवार सिफारिस गरिसक्ने भनेका थियौं, त्यसपछि २७ गतेभित्र भन्यौं,’ कांग्रेस जिल्ला सचिव खगेन्द्र देवानले भने, ‘अब वैशाख ७–८ गतेसम्ममा चाहिँ उम्मेदवार सिफारिसको अन्तिम टुंगो लगाउने छौं ।’ उनले उम्मेदवारका इच्छुकहरूबीचको छलफल लम्बिएकाले निष्कर्षमा पुग्न समय लागेको बताए।

                कांग्रेसले जिल्ला तहमा चुनावका लागि विभिन्न उपसमिति गठन गरेको छ । जिल्ला सदस्य पुण्य शिवाकोटीको संयोजकत्वमा निर्वाचन परिचालन समिति, सचिव निरोज खड्गीको संयोजकत्वमा प्रचार–प्रसार समिति, केदार थापाको संयोजकत्वमा स्थानीय घोषणापत्र समिति र कोषाध्यक्ष विष्णु कार्कीको संयोजकत्वमा आर्थिक स्रोत परिचालन समितिलगायत गठन गरिएको उनले बताए।

                नेकपा माओवादी केन्द्रले पनि आउँदो चुनावका लागि गाउँ–गाउँमा उम्मेदवार छनौट गरिरहेको छ। तर, चैत २४ मै टुंगो लगाउने स्थानीय तहका उम्मेदवारको सूची भने अहिलेसम्म तयार गर्न सकेको छैन। माओवादी जिल्ला इन्चार्ज धिरेन शर्मा रमणले ३–४ दिनभित्र उम्मेदवार छानिसक्ने बताए । ‘अहिले उम्मेदवारकै विषयमा छलफल, बहस भइरहेको छ । केहीदिनभित्र सबै टुंगो लाग्छ,’ उनले भने, ‘आफैंले जित्ने ठाउँमा एक्लै र नजित्ने ठाउँमा कुनै न कुनै दलसँग मिलेमतो हुन पनि सम्भव छ ।’ जिल्लाका अन्य दलहरू पनि आ–आफ्नै ढंगले चुनावी तयारी गरिरहेका छन् ।

                जिल्लाका १७ दलले चुनावमा भाग लिन जिल्ला निर्वाचन कार्यालयमा दलको विवरण अध्यावधिक गराएका छन् । तर, त्यसमध्ये ८ दलले मात्रै आफ्नो चिह्नमा चुनावी प्रतिस्पर्धा गर्न पाउने छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, खम्बुवान राष्ट्रिय मोर्चा र नेकपा माले आफ्नो दलकै चुनाव चिह्न लिएर प्रतिस्पर्धामा आउने छन्।

                नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माले–जनसमाजवादी), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र नेपाल कम्युनिस्ट पार्टीले चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा मात्रै चुनाव चिह्न पाउने आयोगले जनाएको छ । आयोगले संसद्मा प्रतिनिधित्व रहेका दलले मात्रै चुनावमा दलको चिह्नमा भाग लिन पाउने नियम बनाएको छ।

                वैशाख ३१ को स्थानीय तह निर्वाचनमा जिल्लाका ४ सय २५ उम्मेदवार निर्वाचित हुनेछन्। ४ नपामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायबाट ३–३ तथा ६ गाउँपालिकाबाट २–२ जना मनोनित हुँदा जिल्लामा जम्मा जनप्रतिनिधिको संख्या ४ सय ४९ हुने निर्वाचन कार्यालयले जनाएको छ।

 

               

 

प्रकाशित: २ वैशाख २०७४ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App