१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जर्साबको जिन्दगी

सामाखुसीस्थित घरको हरियालीयुक्त कम्पाउन्ड। ०६० भदौ ११ गते झिसमिसेमै उठे उनी, हरियाली नियाले र केहीबेर शारीरिक अभ्यास गरे। स्नान गरे, सैनिक पोसाकमा ठाँटिएर खाना खाए। बिहानको ८ बजिसकेको थियो, बाहिर गाडी तयार थियो। उनलाई मुख्य कार्यालय भद्रकाली पुग्नु थियो। गाडी गेटबाट बाहिर निस्कियो, तर चालक रोकिए। उनले यसो चालकतिर हेरे। बाहिर ‰यालमा एक व्यक्तिले पेस्तोल ताकिरहेको रहेछ।

अचानक दायाँबायाँ जताततैबाट गोली चल्यो। अत्तालिएका चालकले गाडी भगाउन खोजे। तर, छेउकै फुटपाथमा ठोक्किएर गाडी रोकियो। गाडीभित्र थिए  त्यतिबेलाका महासेनानी डा. रमिन्द्र क्षेत्री।

स्वतन्त्र घुमफिर, रमाइलोमा हिँडेको चरो पिँजडामा परेझैँ भयो। दिनभरिको तालिम, गल्ती गरे थप सजाय। ‘रातभरि भारी बोकेर हिँड्नु अनि सजायमा छुट्टी नपाउनु, त्यतिबेला त सेना छाडेर भागौँजस्तो भएको थियो,’ उनी तालिमे जीवन सम्झन्छन्, ‘दुःखकष्ट बढी भएपछि त्यस्तो सोच आउँदो रैछ।’ तालिमपछि उनलाई बोध भयो– मान्छेको शरीरमा क्षमता असीमित रहेछ।

उनलाई गोली लागिसकेको थियो। तालिमले तन्दुरुस्त ज्यान किन ढल्थ्यो! उनले साथमा रहेको पेस्तोल निकाले र गाडीबाट निस्किए। गोली हान्नेहरू ६–७ जना चारैतिर छिरलिएर भाग्दै थिए। ठमेलतिर भाग्दै गरेकालाई उनले गोली ताके। उल्टै उताबाट आएको गोली उनको बायाँ पाखुरामा लाग्यो। ‘रगत बग्दै थियो,’ उनले त्यो रक्ताम्य पल सम्झे, ‘ताकेर हान्दा फायर भएन, भएको भए त्यो त्यहीँ मर्थ्याे तर भागिरह्यो। ’

लर्खराउँदै उनी सडकको पेटीमै बसे। कोखा र कम्मरमा निकै पीडा भयो। ‘यसो हेरेँ, रगत बगिरहेको थियो,’ उनले सुनाए, ‘चार–पाँचवटै गोली लागेजस्तो थियो।’ कान्छी छोरी र चालक दौडिँदै आए। उनले भने, ‘मलाई अस्पताल लैजाऊ।’

अस्पतालमा पुगेपछि उनलाई होस आयो। अचाक्ली पीडा भइरहेको थियो। 'दुई–चारवटा गोलीले म मर्दिनँ डाक्टरसाब,' उनले चिकित्सक भैरवकुमार हमालसँग भने, ‘तर, अति दुख्यो, पीडा कम गर्ने औषधि दिनुस्।’

फेरियो दिनचर्या

त्यो दिनदेखि उनको दिनचर्या फेरियो। बिहानै उठे पनि शारीरिक अभ्यास गर्न पाएनन्। मन लागेको ठाउँमा जाने र रम्ने क्रम सबै रोकिए।

राज्य व्यवस्थामा क्रमभंगता ल्याउने उद्देश्य बोकेको तत्कालीन माओवादी सशस्त्र संघर्षमा थियो। त्यसैको एक घटनाले क्षेत्रीको जीवनमै क्रमभंगता ल्याइदियो।

‘बिहान चाँडै उठ्छु,’ उनले विगत १३ वर्षदेखिको दिनचर्या बताए, ‘प्राणायम गर्छु, त्यसपछि बीबीसी, सीएनएन र नेपाली न्युज च्यानल हेर्छु।’ मन स्फूर्त पार्न उनी प्राणायमसँगै भगवतीको जप गर्छन्।

दुई गिलास पानी पिएपछि उनी कम्प्युटरमा नेपाली अनलाइन पत्रिकाहरू नियाल्छन्। यहीबीचमा उनको कम्मरमुनिको भागको थेरापी चल्छ। सरसफाई र नित्य कर्म अरुले गराइदिन्छन्।

विद्युतीय पलङबाट ह्विल चियरमा सरेपछि उनको चियानास्ता सुरु हुन्छ। अनि, किसमिस, ताजा मेवा र स्याउ खान्छन्। त्यसपछि अम्बाको पात पकाएर बनाएको आयुर्वेदिक चिया। अनि पालैसँग औषधि सेवन। तीन चारपटक आयुर्वेदिक चिया पिएपछि उनको पिसाब निकालिन्छ। त्यसपछि कार्यालय जाने तयारी।

उही सैनिक पोसाक, उही सान। सहयोगीले नै गाडी चढाउँछन्। भद्रकालीस्थित कार्यालय पुगेपछि ह्विल चियरमै कार्यकक्ष पुग्छन्। दिनभरिको कार्यव्यस्ततापछि साँझ ५–६ बजेतिर घर फर्कन्छन्।

बेलुकाको सामान्य खानपिनपछि उनी ७–८ बजेतिरै निदाइसक्छन्। अध्यात्मले चाँडै निदाउन र छिट्टै उठ्न भन्छ। उनी त्यसैको परिपालना गर्छन्।

मध्यरात निद खुल्यो भने उनी एक–दुई घन्टा टेलिभिजन हेर्छन्। नेसनल जिओग्राफी, डिस्कभरी र रमाइला स्थलगत कार्यक्रम हेर्न मन पराउँछन्। घर उही, परिवार उही, मौसम उस्तै, फेरियो त केवल उनको जिन्दगीको रफ्तार।

स्वतन्त्र थियो बाल्यकाल

रमिन्द्र ०१६ कात्तिक १९ गते ठमेलको भगवान बहालमा जन्मिएका हुन्, पिता गोपाल खत्री र माता प्रमिला खत्रीको जेठो छोराको रुपमा। उनका माइला भाइ राजेन्द्र क्षेत्री अहिलेका सेना प्रमुख हुन्।

पहिलो सन्तान भएकाले पनि बढी नै माया पाए रमिन्द्रले। चेत भवनको मन्टेसोरी कक्षापछि लैनचौरको शान्ति विद्यागृहबाट उनले एसएलसी गरे।

भर्खर बस्ती बढ्दै गरेको लैनचौर, ठमेल र सामाखुसी क्षेत्र उनको बाल्यकालको खेल्ने थलो थियो। ‘डन्डिबियो, फुटबल, भलिबल खुब खेलिन्थ्यो,’ उनले बालककाल सम्भि्कए, ‘चाडबाडको बिदा भएपछि भने गुच्चा, ह्वाग्रा खेल्ने र दसैँमा चंगा खुब उडाउँथेँ।’

फाँटफाँटमा झुलेका धानखेतमा चराको सिकार गर्ने उनको ठिटौले सोख थियो। ‘खेतीपाती थन्काएपछि मलेवा, ढुकुर, पानीहाँस खुब सिकार गरिन्थ्यो,’ किशोरवयकै मुस्कान ल्याउन खोज्दै उनले भने, ‘सामाखुसी क्लबमा छँदा सांस्कृतिक कार्यक्रमको नाटक र नाचगान कम्ता रमाइलो हुन्नथ्यो।’

रातो भाले क्वाँयाँ क्वाँयाँ, रेशम फिरिरीजस्ता गीतको रन्को अझै याद छ उनलाई। रमाइलो मात्र होइन, उतिबेलै समाजका लागि केही गर्न रुचाउँथे। हिलाम्य कच्ची सडकका हिलो, धुलो सफाइमा लाग्थे।

त्रिचन्द्र कलेजमा आएससी पढ्दै गर्दा सरस्वती क्याम्पसमा आईए प्राइभेट दिन भ्याए। पछि उनले साइन्स छाडेर मानविकीमै बीए गरे। राजनीतिशास्त्रमा स्नातकोत्तरपछि पीएचडी गरे।

होटल नखोली सेनामा भर्ती

०३६ ताका पञ्चायतविरोधी आन्दोलन चर्किंदो थियो। रमिन्द्रको मन भने विद्यार्थी आन्दोलनतिर पटक्कै गएन। बुवाले चितवनमा बिघाका बिघा किनेको जग्गाको सदुपयोग गर्ने सोच थियो। होटल खोल्ने योजनामा ‘होटल चित्रवन’ उद्योग विभागमा दर्ता गरे। औद्योगिक विकास निगममा ऋणका निम्ति निवेदन दिए।

‘कति हल्लेर हिँड्छस्, सेनामा भर्ती खुलेको छ, आवेदन दिने भए दे,’ बाबुले भने। भाइ राजेन्द्र एक वर्षअघि नै सेनामा प्रवेश गरिसकेका थिए। व्यवसाय गर्ने बाटो रोकिएपछि सेनामा जानुको विकल्प थिएन। ‘अधिकृत क्याडेटमा फ्याट्ट नाम निकिस्यो,’ क्षेत्रीले भने, ‘चार साथीको पनि नाम निस्किएछ।’ यता घरमा औद्योगिक विकास निगमको ऋण दिने पत्र त्यही बेला आएछ। अधिकृतमा नाम निस्किसकेपछि होटलतिरका योजना त्यागिदिए।

स्वतन्त्र घुमफिर, रमाइलोमा हिँडेको चरो पिँजडामा परेझैँ भयो। दिनभरिको तालिम, गल्ती गरे थप सजाय। ‘रातभरि भारी बोकेर हिँड्नु अनि सजायमा छुट्टी नपाउनु, त्यतिबेला त सेना छाडेर भागौँजस्तो भएको थियो,’ उनी तालिमे जीवन सम्झन्छन्, ‘दुःखकष्ट बढी भएपछि त्यस्तो सोच आउँदो रैछ।’ तालिमपछि उनलाई बोध भयो– मान्छेको शरीरमा क्षमता असीमित रहेछ। जटिल काम भए पनि, जति नै असहज भए पनि परेपछि गर्न सकिँदो रहेछ भन्ने पाठ तालिमे जीवनमै उनले सिके।

उनी महासेनानी हुँदा तत्कालीन माओवादीले सशस्त्र संघर्ष सुरु गरिसकेको थियो। उनले ०५४ देखि ०५६ सम्म इटहरीमा सेनाको कमान्ड अनि शान्ति सेनामा कमान्ड गरिसकेका थिए। त्यस्तै, स्टाफ कलेजमा पढाउने कामसँगै सेनाको पोस्ट विस्तारमा सक्रिय थिए।

०५८ मंसिरताका गोर्खा एकीकृत कार्यान्वयन सुरक्षा योजना कार्यक्रम सम्पन्न गरेर फर्कंदै थिए। मंसिर ८ गते मुग्लिनमा बिदाइपछि तत्कालीन डीएसपी रमेश खरेल र उनी सँगै काठमाडौँ फर्कने तर्खरमा थिए। ‘त्यही रात दाङ र स्याङ्जा प्रहरीचौकीमा माओवादी आक्रमण भएपछि खरेल फर्केनन्, म एक्लै फर्कें,’ उनले सशस्त्र द्वन्द्वको समय सम्भि्कए, ‘मंसिर ११ गते सरकारले संकटकाल घोषणा गरेपछि दुई पक्षीय युद्ध सुरु भयो।’ सैनिक समाचार निर्देशनालयमा उनको जिम्मेवारी थियो। देशभरिको अवस्था थाहा पाउनु र माथिल्लो निकायमा जानकारी दिनु उनको काम थियो।

अस्पताल र पुनर्स्थापना केन्द्रको बास

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र तत्लो सदनको निर्णयबाट संकटकाल लगाउने र सशस्त्र द्वन्द्वको प्रतिकार गर्ने निर्णय गर्‍यो। युद्धको चर्किंदो अवस्थासँगै देउवा सरकारले विद्रोही नेताका टाउकाको मोल समेत तोकेर राज्यसेना हौस्याए। विद्रोही पक्षले भने सेना र प्रहरीका उच्च पदस्थ अधिकृतकै हत्या गर्ने योजना बनायो!

सेनाभित्र ठूलै हलचल मच्चिएको थियो। मानसिक रूपमा विद्रोहीलाई कमजोर बनाउने योजना सेनाले बुन्दै थियो। ‘सेनामा भएपछि उडिरहेको हेलिकप्टर समात भनेपछि सक्छुु सर भन्नुपर्छ,’ क्षेत्री भन्छन्, ‘हामीले सक्दैनौ भन्नै भएन।’

०६० भदौ ११, जुन दिन क्षेत्रीलाई गोली हानियो, त्यही दिन अर्का एक जर्नेललाई पनि गोली हानिएको थियो। सैनिक अस्पतालमा केही दिन राखेपछि रमिन्द्रलाई शिक्षण अस्पताल सारियो। कति दिन बेहोस भए, आँखा खुल्दा नयाँ ठाउँ देखे।

यसो ज्यान चलाए, चल्यो। खुट्टा चलाउन खोजे, हलचल भएन। एकजना नर्स ठूलो इन्सुलिनको सुइ बोकेर आइन्। ‘प्रेसर बढेको छ, लाउनुपर्छ,’ उनले भनिन्। एकछिनपछि एक अमेरिकन डाक्टर आएर भने, ‘इट्स अ कम्प्लिट इन्जुरी।’ क्षेत्री झसंग भए, ‘अब म साँच्चै कहिल्यै उठ्न सक्दिनँ कि?’

बाँकी जिन्दगी जिउने कला सिक्न उनले पुनर्स्थापना केन्द्रमा बस्नुपर्‍यो। सेनाले नै अमेरिकाको मायामीस्थित पुनर्स्थापना केन्द्रमा पठायो। ‘त्यहाँ पुगेपछि थाहा पाएँ, मजस्ता त कति हुँदा रहेछन् कति,’ क्षेत्री नयाँ जीवनको यात्रा सुनाउँछन्, ‘तर, मभित्र आश मरेको थिएन, एक न एक दिन हिँड्छुहिँड्छु भन्ने लागिरहन्थ्यो।’ पुनर्स्थापना केन्द्रमा आफै बाँच्ने कला सिके। ह्विल चियरमा बस्ने, पोसाक लाउने, बाटो काट्ने, ढोका खोल्ने, खाना बनाउने, दराज र बाक्साबाट सामान कसरी निकाल्नेजस्ता दैनिक काम सामूहिक रूपमा सिके। ‘फरक क्षमतामा कसरी जिउने मलाई ज्ञान थिएन, त्यो सिकाइँदो रहेछ,’ उनी भन्छन्, ‘म भने हिँड्न सक्नेमै जोड गरिरहेथेँ।’

 ४० दिन पुनर्स्थापना केन्द्रमा बिताएपछि नेपाल फर्के। घरमा त्यो खालको सुविधा थिएन। फेरि एक महिना अस्पतालमै बसे। अस्पतालमा उनका साथी बने पुस्तक। पहिले सेनासम्बन्धी पुस्तक मात्र पढ्थे। अब अध्यात्मतिर उनको ध्यान बाँडियो। ‘संसारमा सबै कुरा टाढा भएपछि सम्भि्कने भगवान् नै हो,’ उनी आफ्नो भोगाइ बताउँछन्, ‘त्यो बेला जे जे गर्दा भगवान्ले हेर्छन् जस्तो लाग्यो, त्यो सबै गरेँ।’

उनले खप्तड बाबा, विकासानन्दका पुस्तक, योगासनका पुस्तक पढे। आस्था च्यानलले देखाउने रामदेवको योग हेरेर अभ्यास गरे।

शान्ति प्रक्रियामा प्रवक्ताको भूमिकामा

संकटकालपछि चर्किएको सशस्त्र द्वन्द्व जनआन्दोलन– २ पछि टुंगिने क्रममा थियो। ०६३ मंसिर ५ गते सरकार र विद्रोही पक्षबीच शान्ति सम्झौता भएसँगै युद्ध रोकियो। माओवादी लडाकु व्यवस्थापनसँगै सेनामा सामायोजन प्रक्रिया सुरु भयो। त्यो बेला उनै माओवादी आक्रमणमा परेर अपांग बनेका क्षेत्री सेनाको प्रवक्ता चुनिए।

‘प्रवक्ता हुँदा निकै मिलाएर बोल्नुपर्थ्यो, केही गल्ती भयो कि भनेर सम्झँदा सबै राम्रै भएछ,’ उनले आफ्नो भूमिकाबारे भने। लडाकु वर्गीकरण, अयोग्यको व्यवस्थापन र योग्यलाई सेनामा भिœयाउने कार्य भयो। त्यो बेला पाएको भूमिकाले आफूलाई जनमानसमा चिनाउन मद्दत गरेको उनी बताउँछन्।

व्यक्तिगत जीवन हरायो

पत्नी, दुई छोरीसहितको उनको सानो परिवार। आमाबुवा, भाइहरूको अर्काे परिवार। तर, उनी पारिवारिक जमघटमा रमाउन त्यति पाउँदैनन्।

आफ्नो बेडरुम समेत अब उनको पहुँचमा छैन। आफ्नो बेडरुममा हैन, भुइँतलाको नयाँ कोठामा सर्‍यो, उनको बास। उनको स्वास्थ्य सोचेर बनाइएको त्यो घर नै उनको आफ्नो भएको छ। भित्तामा हरियो पेन्टिङ। विद्युतीय पलंगको ठीक अघि पुस्तक र्‍याक। त्यसमै एउटा टेलिभिजन, चाहिने औषधि र अन्य आवश्यक सामग्री।

उनको नाभीमुनिका अंग चल्दैनन्। ‘ह्विल चियरमा बस्न थालेपछि मेरो आफ्नो प्राइभेसी गुम्यो,’ उनी भन्छन्, ‘९० प्रतिशत अशक्ततालाई १० प्रतिशतले जितेर बाँचिरहेको छु।’

राति दुईपल्ट शरीर पल्टाइदिनुपर्छ। आफै फर्कन सक्दैनन्। हात त चल्छ, त्यसले खुट्टा र शरीर उचाल्न सक्दैनन्। कसैको सहाराबिना जीवन गुजार्ने स्वतन्त्रता खोसिएको छ उनको। उनलाई सघाउन हरबखत कोही न कोही साथमा हुनैपर्छ। घर फर्केपछि एक दिन, दुई दिन बिराउँदै कार्यालय निरन्तर जान थालेपछि पीडा धेरै भुलेका छन्। 

हेलाँ गर्नेदेखि दिक्क

सेनाको जर्नेल उनी। विभिन्न भोज–भतेर र कार्यक्रममा निरन्तर सामेल हुनैपर्ने। कतिपय अवस्थामा उनलाई जान मन पनि लाग्दैन, तर जान्छन्। एक त काठमाडौँ सहर अपांगमैत्री बनेकै छैन। ह्विलचियरमा यात्रा गर्न अनेकौँ कठिनाइ छ। त्यस्ता जमघटमा पुगे पनि मानिसले हेयको पात्रका रूपमा हेरिदिँदा उनलाई ननिको लाग्छ। ‘यतिसम्म कि ह्विल चियरलाई लात्तीले हानेर हिँड्छन्,’ उनले पीडा सुनाए, ‘त्यो बढी शिक्षित हुँ भन्नेहरूले नै गर्छन्।’ मान्छेमा चेतना भएर पनि त्यो बाहिर ल्याउन नसकेको देख्दा उनी निराश छन्। पहिले सलाम ठोक्नेका आँखामा सहानुभूति देख्दा मन चसक्क हुन्छ। कानुनले बनाउनु भने पनि सहरका सडक, शौचालय, सार्वजनिक स्थान ह्विल चियर मैत्री र फरक क्षमता मैत्री नभएको उनको अनुभव छ। ‘म त बहालवाला सेना हुँ, मेरा वरिपरि सहयोगी होलान् र सहयोग पाउँछु,’ उनी भन्छन् ‘तर, कमजोर अवस्थाका मानिसले कसरी बाँच्ने यस्तो सहरमा?’

आफ्नै देशका नागरिकसँग लड्न नपरोस्

जब देशमा संकटकाल लाग्यो, तब सरकारी सेनाले विद्रोही पक्षलाई दबाउनैपर्ने स्थिति आयो। ‘आफ्नै देशभित्र युद्ध स्वीकार्य हुनै सक्दैन,’ उनी भन्छन्, ‘एउटा नेपालीले अर्को नेपालीलाई मार्ने खालको युद्ध फेरि कहिल्यै नआओस्!’

त्यो युद्ध लड्नुमा आफूजस्तो सिपाहीको दोष नभएको उनी बताउँछन्। राज्यले परिचालन गरेपछि युद्धमा जानु हरेक सिपाहीको रहर नभई कर्तव्यनिष्ठता भएको उनी बताउँछन्।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल द्वन्द्वका बेला विद्रोही समूहका नेता थिए, उतिबेला राज्यले उनीलगायत नेताको टाउकाको मोल तोकेको थियो। अहिले प्रधानमन्त्रीको मातहतमा रहनु कर्तव्य भएको उनी बताउँछन्। देशमा त्यतिखेरको लडाइँ सरकारी सेना र माओवादी लडाकुबीचको नभई राज्यको व्यवस्था र विद्रोही समूहको विचारको युद्ध रहेको उनको बुझाइ छ।

पछिल्लो समय उनलाई राजनीतिमा चासो छ। समय–परिस्थितिले सम्भव देखिए भविष्यमा उनी राजनीतिमा लाग्न पनि सक्छन्। देशमा स्थायित्व आए शान्ति आउँछ, शान्ति आएपछि विकास हुन्छ भन्ने उनको बुझाइ छ।

गायकीले दिएको सन्तोष

‘तपाईं गायक पनि?’ भनेर कसैले भन्दा उनको मुहारमा छुट्टै रौनक छाउँछ। ‘हैन हैन म त्यस्तो प्रोफेसनल गायक हैन, बाथरुम सिंगर थिएँ, पछि यसो गाउँ न त भनेर गाएको मात्र हो,’ अनुहारभरि हाँसो छर्दै भन्छन्। बाथरुम सिंगर हुँदा भने त्यतिबेला चलेका नारायणगोपाल, गोपाल योञ्जनका गीत सुन्थे। सेनामा डिजिटल प्रविधि शाखामा छँदा संगीतसँग नजिक भए।

उनले 'जीवन सुन्दर छ' नामको दुई भाग एल्बम निकालेका छन्, झन्डै ३५ वटा गीत गाएका छन्।

सारंगीको चरीबुट्टे धुनले बितायो

पछ्यौरीले बाँध्यो मन रुपले फसायो

ओ डार्लिङ रूपले फसायो... मिलन अमात्यसँग गाएको यो गीत सेनाको पार्टीमा अधिक बज्ने गर्छ। पल्टनेको करिमै, जीवनलाई, जिन्दगी, जीवन सुन्दर छ, मेरी प्रिय जस्ता रोमाञ्चक र गम्भीर गीत उनले गाएका छन्।

निभेको आगो कसले बाल्छ

बलेकै आगो ताप्नेले।

सोचेर जिउनु छ यो जीवनलाई

मरेर लानु क्यै छ भने...

यस्ता मर्मस्पर्शी गीत पनि गाए उनले जीवन बुझेपछि। ‘चलेका गायकका सीडी बिकेन भन्थे, मैले सीडी क्यासेट बेचेरे ३० लाख चोखो कमाएँ,’ उनले गायकीको आम्दानी खोले, ‘त्यसबाट बुवाआमाको नाममा च्यारिटी खोलेको छु।’ अहिले ५० लाख रुपैयाँ पुगेको च्यारिटीको ब्याजले कमजोर, पीडामा परेका समुदायलाई सेवा गर्दै आएका छन्।

राष्ट्रिय सेवा दल ब्युझाउँदै

०२२ सालमा गठन भयो, राष्ट्रिय सेवा दल। जसको जिम्मा सरकारले तत्कालीन शाही नेपाली सेनालाई दियो। काम भने हुन सकेन। मृतप्रायः रहेको राष्ट्रिय सेवा दल नेपाली सेना बनेपछि क्षेत्रीको नेतृत्व पाएसँगै ब्युँझिएको छ। राष्ट्रिय अभियानमा युवा शक्तिको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्न दलले सघाउँछ।

स्कुले विद्यार्थीलाई आत्मअनुशासन र देशप्रेमको भाका सिकाउन उद्यत् छ सेवा दल। जुनियर तालिमतर्फ सामुदायिक स्कुलका कक्षा ८ देखि १० सम्मका विद्यार्थी सामेल गराइन्छन्। सिनियरतर्फ कक्षा ११ र १२ का विद्यार्थी सामेल हुन्छन्। ‘जुनियरलाई हौसला र अनुशासन बढी सिकाइन्छ,’ क्षेत्रीले भने, ‘सिनियरलाई पहाड चढ्ने, हतियार चलाउने, पौडी खेल्ने, घोडचढी गर्नेसँगै खेलकुदका विविध विधा सिकाउँछौं।’ जसमा ५० प्रतिशत छात्र र ५० प्रतिशत छात्रा बराबर राखिन्छन्। पाँच सय जनालाई जसोतसो सिकाइरहेको सेवा दलले उनको नेतृत्व पाएपछि ६ हजारलाई तालिम दिइसकेको छ। तीन साता चल्ने तालिमपछि विद्यार्थीमा देश र समाजका लागि केही गर्नुपर्छ भन्ने भावना समेत जाग्ने उनले बताए।

जिन्दगी संघर्ष हो

क्षेत्रीको शारीरिक अवस्था फेरियो। सशक्तबाट अशक्त भए। पहिले र अहिलेको जीवनको बुझाइ पनि फेरियो। ‘जिन्दगी संघर्षशील छ,’ उनी एकछिन सोचेर बोल्छन्, ‘क्षणिक छ, अनि जानेबुझे रमाइलो पनि छ।’

जिन्दगीको परिभाषा फेरिसँगै उनी बढी घुमफिर गर्न थालेका छन्। धेरैभन्दा धेरै मान्छे भेट्न थालेका छन्। मान्छेको प्रेरणा बन्न र हौसला दिन पछि पर्दैनन्। 'अहिले सेनामा सबैभन्दा बढी घुम्ने भएको छु,' उनी फेरिएको सोच सुनाउँछन्, 'कामकै सिलसिलामा एक पन्थ दुई काम गरेर घुम्छु। चितवनमा पुर्खाले जोडेको केही जमिन छ। व्यापार पनि छ। ‘पहिले निकै रमाइलो लाग्थ्यो, अचेल धुलो र धुवाँ हुन थालेको छ चितवन पनि,’ उनले भने। जिन्दगी जति बाँचिन्छ 'फुल इन्जोय' गर्न सुझाव दिन्छन्। ‘जिउनैपर्छ तर समाज र देशका लागि केही गर्न रत्तिभर कन्जुस्याइँ नगरी योगदान गर्न सिक्नुपर्छ,’ उनी यथार्थवादी फिलोसफरझैँ भन्छन्, ‘भलै त्यसमा हजारौँ बाधा किन नआओस्।’ तनले जे भने पनि मनका बलिया छन् उनी। विदेशका डाक्टरले अब यसरी बाँच्ने हो भनेर सिकाउँदा उनले भने, ‘हाम्रातिर आत्मिक शक्ति छ, त्यो शक्तिले म एक दिन मेरै खुट्टाले हिँडेर देखाइदिन्छु।’ ती डाक्टरले अचम्म पर्दै त्यस्तो उपाय भए बताइदिन आग्रह समेत गरे।

प्रकाशित: २ वैशाख २०७४ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App