१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'स्वस्थ देश, स्वस्थ नागरिक' अभियान

काठमाडौं- गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्‍याउने प्रतिबद्धतासहित सरकारले सर्वसाधारणलाई रोग नै लाग्न नदिन जिम्मेवार बनाउन अभियान सुरु गरेको छ। दशरथ रंगशालामा शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले 'म स्वस्थ–मेरो देश स्वस्थ' नारा लेखिएको झन्डा फहराएर अभियान सुरु गरे। कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापा, ऊर्जामन्त्री जनार्दन शर्मा, उद्योगमन्त्री दीपक बोहोरा, वनमन्त्री शंकर भण्डारी, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङसहित विशिष्ट व्यक्ति, चिकित्सक एवं सर्वसाधारण उपस्थित थिए। अभियान उद्घाटनपछि रंगशालाबाट सुरु भएको र्‍याली वसन्तपुर पुगेर समारोहमा परिणत भएको थियो।

'स्वास्थ्यका लागि हुने खर्च घटाएर देश र व्यक्तिलाई समृद्ध बनाउन अभियान सुरु गरिएको हो,' समारोहमा स्वास्थ्यमन्त्री गगन थापाले भने, 'एकपछि अर्को स्वास्थ्य सेवा निःशुल्क घोषणा र सेवा सुधारको निर्णय गरे पनि अहिलेजस्तै रोग फैलिने दर नरोकिने हो भने स्वास्थ्य सेवामा हुने खर्च व्यक्ति वा सरकार कसैले धान्न नसक्ने अवस्थामा पुग्नेछ।'

'हामीले थुप्रै सेवा नागरिकको घरदैलोमा पुर्‍याउँला, गुणस्तर पनि बढाउँदै लैजाउँला,' थापाले भने, 'तर यसरी कति दिन थेग्ने?' नसर्ने रोगको भार बढ्दै गएकाले स्वास्थ्यप्रति आम नागरिकको जागरणका लागि अभियान सुरु गर्नुपरेको मन्त्री थापाले बताए।

'मान्छेलाई रोगी बनाउने प्रमुख कारक मदिरा नियन्त्रण गर्ने नीति पास भएर ऐन बन्ने क्रममा रहेको, धूमपान नियन्त्रण गर्ने कानुन बनिसकेको र व्यायाम गर्न समेत स्वच्छ हावा चाहिन्छ भन्ने कार्ययोजनासहित काम अघि बढिरहेको मन्त्री थापाले बताए।

स्वास्थ्य मन्त्रालयले सरकारका तर्फबाट गर्ने कार्ययोजनासहित स्वस्थ समाज निर्माणका लागि व्यक्तिगत तबरबाट पाँच प्रतिबद्धता गर्न सार्वजनिक अपिल गरेको छ। कार्यक्रममा मन्त्री थापाले पाँचैं बुँदा पढेर कार्यक्रममा सहभागीको प्रतिबद्धता लिएका थिए। यी बुँदामा 'म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोसिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु, मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु' भन्ने छन्।

थ्ाापाले नियमित स्वास्थ्य जाँचका लागि आगामी वर्षभित्र दुर्गमका स्वास्थ्य चौकीमा समेत नसर्ने रोग परीक्षण र गुणस्तरीय सेवा दिन राज्य प्रतिबद्ध रहेको बताए।

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले मृत्युको ६० प्रतिशत र अस्पताल भर्ना हुनेमध्ये ८५ प्रतिशतसम्म मानिस नसर्ने रोगबाट ग्रसित भएकाले स्वस्थ अभियान थालिएको बताए। 'हाम्रो आचरण र व्यवहारले नसर्ने रोग निम्त्याउँछ, आचरण र व्यवहार परिवर्तन गर्न यो अभियान थालिएको हो,' सचिव उप्रेतीले भने। स्वस्थ रहन रक्सी, चुरोटलगायतका हानिकारक पदार्थ छोड्ने र वयष्कले दैनिक कम्तीमा ४५ मिनेट व्यायाम गर्नुपर्ने उनले बताए।

दुईपटक क्यान्सर भएर तङ्ग्रिएकी अभिनेत्री मनिषा कोइरालाले परिवर्तित जीवनशैलीकै कारण आफूले रोग जितेको बताइन्। 'संसारको सबैभन्दा राम्रो उपचार पाएँ र क्यान्सरलाई जितें, अहिले यो अवस्थामा रहनुपछाडि मेरो परिवर्तित जीवनशैली हो,' उनले भनिन्, 'स्वस्थ रहन दैनिक ८ घण्टा आराम गर्ने, पौष्टिक आहार खाने, व्यायाम गर्ने। जिमखानामै पुगेर कडा मेहनत गर्नुपर्छ भन्ने होइन, हिँड्न सक्छौं, भर्‍याङमा तलमाथि गर्न सक्छौं।'

प्रकाशित: २ वैशाख २०७४ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App