१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फोरम नेपालको दोहोरो रणनीति

काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन्। सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्काे मात्र होइन, निर्वाचन बहिष्कार गर्ने धम्की दिइरहन्छन्।

यता यादवको पार्टीका नेताहरूले भने निर्वाचन आयोगले दिएको समयसीमाभित्रै आयोगमा टिकट वितरणमा पार्टीको नमुना हस्ताक्षर बुझाएका छन्। फोरम नेपालका  संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले चैत २६ गते निर्वाचन आयोगमा गई पार्टीको आधिकारिक नमुना हस्ताक्षर बुझाए। पार्टी महासचिव रामसहाय यादवले गरेको हस्ताक्षर पार्टीको आधिकारिक हुने शिवजीले जनाएका छन्।

आफ्ना उम्मेदवारलाई दिने टिकटमा पार्टीका नेताहरूको आधिकारिक नमुना हस्ताक्षर बुझाउन निर्वाचन आयोगले दलहरूलाई चैत २६ गतेसम्मको सयम दिएको थियो। पछि आयोगले नमुना हस्ताक्षर बुझाउने समय बढाएर चैत ३० गतेसम्म पुर्‍यायो। यो अवधिमा मधेसी मोर्चामा आबद्ध अन्य ६ दलले भने आयोगमा आधिकारिक हस्ताक्षर बुझाएका छैनन्।

आयोगले दलहरुरूसँग मागेको नमुना आधिकारिक हस्ताक्षर स्थानीय निर्वाचन प्रयोजनका लागि हो। फोरम नेपालका अध्यक्ष यादवले भने सार्वजनिक रुपमा स्थानीय निर्वाचनमा भाग नलिने र आन्दोलनमा जाने घोषणा गरेका छन्। मोर्चाका अन्य नेताले भने फोरम नेपालको यस व्यवहारलाई दोहारो भूमिका भनी असन्तुष्टि जनाएका छन। 'उहाँ (उपेन्द्र यादव) ले संघीय गठबन्धन र मोर्चाका बैठकमा निर्वाचन वहिष्कारका विषयमा सबैभन्दा बढी चर्को कुरा गर्नुहुन्छ। अर्कोतिर निर्वाचन आयोगमा गई नमुना हस्ताक्षर बुझाउनु हुन्छ', सद्भावना पार्टी महासचिव मनिष सुमनले भने, 'उहाँले दोहारो चरित्र देखाउनुभएको छ।'

 फोरम नेपालका नेताहरू भने पार्टीले गरेको निर्णय उपयुक्त भएको दाबी गर्छन्। आयोगमा हस्ताक्षर बुझाउन गएका फोरम नेपालका प्रमुख सचेतक शिवजीले पार्टीले निर्वाचनमा नजाने कहिल्यै नभनेको दाबी गरे। 'हामी निर्वाचमा  भाग लिदैनौं भनेर कहिल्यै भनेका छैनौं। माग पूरा भए चुनावमा जान्छौं भनिरहेका छौं', शिवजीले भने, 'माग पूरा भए हामी चुनावमा जान्छांै। त्यस अवस्थामा चुनावमा जाने गरी हस्ताक्षर बुझाएका हौं।' कानुनी प्रक्रिया पूरा गर्न आफ्नो पार्टीले आयोगमा नमुना हस्ताक्षर बुझाएको उनले बताए।

मधेसी मोर्चाको बुधबारको बैठकमा मोर्चाका अन्य नेताले फोरम नेपालका अध्यक्ष उपेन्द्रसँग यसबारेमा प्रश्न गरेका थिए। यादवले भने नमुना हस्ताक्षर नबुझाउने निर्णय मोर्चाले नगरेकाले आफ्नो पार्टीले हस्ताक्षर बुझाएको  प्रष्टीकरण दिएका थिए। 'फोरम नेपालले नमुना हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको बारे बैठकमा कुरा उठेको थियो। उहाँले मोर्चाले हस्ताक्षर नबुझाउने निर्णय नगरेकाले आफूले बुझाएको बताउनु भयो', बैठकमा सहभागाी राष्ट्रिय मधेस समाजवादी पार्टी महासचिव केशव झाले भने।

आायोगमा हस्ताक्षर बुझाए पनि संघीय समाजवादी फोरम नेपालले मोर्चाको निर्णय स्वीकार गर्नेमा आफू विश्वस्त भएको पनि उनले बताए। स्थानीय निर्वाचन प्रयोजनका लागि फोरम नेपालले आयोगमा दल पनि दर्ता गराएको छ।

प्रकाशित: २ वैशाख २०७४ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App