१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पारसको चौराह फेरि पराजित

धनगढी- अन्तिम १४ बलमा ६ विकेट गुमाएपछि पारस खड्काको धनगढी टिम चौराहले बिहीबार धनगढी प्रिमियर लिगमा कञ्चनपुर आइकोनिकलाई ११ रनको नतिजा सुम्पिएको छ। १ सय ६ रनको लक्ष्य पछ्याएको चौराहलाई १५ ओभर सकिँदा जितका लागि ३० बलमा २० रन आवश्यक थियो। १६औं ओभर लिएका चन्द्र साउदले चौथो बलमा पृथु बास्कोटालाई विकेटकिपर हसिम अन्सारीबाट क्याच गराए। १६औं ओभरको समाप्तिमा चौराह ९१–५ को अवस्थामा थियो। जितका लागि चौराहलाई २४ बलमा १५ रनको आवश्यक पर्‍यो। तर थप ३ रन जोड्दा बाँकी ५ विकेट गुमाएपछि चौराहले प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्‍यो।

यसअघि चौराह पहिलो खेलमा विराटनगर किंग्ससँग २३ रनले पराजित भएको थियो। हारसँगै कुनै अंक नजोडेको चौराह अंकतालिकाको पुछारमा छ।

बाँकी १० बलमा अविनाश कर्णले १ रन दिएर ३ विकेट लिए भने ललितसिंह भण्डारीले २ रन दिएर २ विकेट लिएपछि विनोद भण्डारीको कञ्चनपुर आइकोनिकले प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो। जितपछि तीन खेलबाट २ अंक जोडेको कञ्चनपुर चौथो स्थानमा छ।

ओपनर राजु रिजाल शून्यमा आउट भए पनि आरिफ शेखले अनिल मण्डलसँग २६ तथा कप्तान पारससँग ३४ रनको साझेदारी गर्दै चौराहलाई जिततर्फ डोर्‍याएका थिए।

आरिफले २२ रन जोडे भने राष्ट्रिय टोलीको समेत कप्तान रहेका पारसले २३ रन बनाए। अनिलले १२ रन जोड्दा पृथुले १९ रन बनाएका थिए।

कञ्चनपुरका अविनाश र ललितसिंहबाहेक सुनील धमला र सिद्धान्त लोहनीले १/१ विकेट लिएका थिए। चन्द्रले २ विकेट लिए।

त्यसअघि धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो। कम स्कोर बनेको दिन ओपनर सागर पुन र सुनील धमलाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै कञ्चनपुरलाई राम्रो सुरुआत दिएका थिए। सागरले २० रन जोड्दा सुनीलले ३९ रनको योगदान गरे। मध्यक्रमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा तल्लो क्रममा ब्याटिङ गर्न आएका सिद्धान्तले २० बलमा २७ रन बनाए।

टिम चौराहका रामनरेश गिरी, आरिफ शेखले समान २/२ विकेट लिँदा सुसन भारी र प्रेम तामाङको नाममा १/१ विकेट रह्यो।

बिहीबारै दोस्रो खेलमा आसिफ शेखले ३७ बलमा अविजित ४५ रन बनाएपछि विराटनगर किंग्सले सिवाइसी अत्तरियामाथि ८ विकेटको विजय हासिल गरेको छ।

विराटनगरका ओपनरद्वय अमित श्रेष्ठ र आकाश थापा समान १ रनको स्कोरमा पवेलियन फर्किएका थिए। तर, ५ चौका र २ छक्का प्रहार गरेका आसिफले दीपेन्द्रसिंह ऐरीसँग ३४ बलमा ६४ रनको अविजित साझेदारी गरेपछि ९२ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो। दीपेन्द्रसिंहले १९ बलमा १ चौका र २ चौकासहित २६ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाका लागि मेहबुब आलमले सबैभन्दा धेरै २७ रन बनाए। करण केसीले १७, कप्तान ज्ञानेन्द्र मल्लले १४ र ज्ञानेन्द्र कुँवरले १० रन बनाए।

विराटनगरका सन्दीप लामिछानेले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए। दीपेन्द्रसिंह र सुशील कँडेलको नाममा १/१ विकेट रह्यो। जितपछि ३ मध्ये २ खेल जितेको विराटनगर तेस्रो स्थानमा छ भने ३ मध्ये १ खेल जितेको अत्तरिया पाँचांै स्थानमा छ।

प्रकाशित: १ वैशाख २०७४ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App