१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करवृद्धि विरुद्ध महानगरमा धर्ना

काठमाडौं- घरजग्गा करवृद्धि फिर्ता गर्न माग गर्दै संघीय गठबन्धन नेवाः ऐक्यवद्धता पुचःले बुधबार बिहान काठमाडौं महानगरपालिकामा धर्ना दिएको छ। कुनै सेवा सुविधा नथपी अवैज्ञानिक ढंगबाट एकैपल्ट तीन सय गुणा कर बढाएर भूकम्पपीडित उपत्यकावासीलाई थप पीडा दिएको विरोधमा कर वृद्धि फिर्ता गराउन महानगरपालिकाको प्रवेशद्वारमा धर्ना दिएको थियो।

पुचःले महानगरको २८ औं परिषद्को अवसर पारेर महानगरले बढाएको कर फिर्ता लिनुपर्ने र सरकारले बढाएको घरजग्गा कर फिर्ता लिन दबाव स्वरुप मागसहित ज्ञापनपत्रसमेत महानगरका कार्यकारी रुद्रसिंह तामाङलाई बुझाएको छ। डा. महेशमान श्रेष्ठको नेतृत्वमा पुचः र उपत्यकावासीको टोलीले धर्ना दिनुका साथै नाराबाजीसमेत गरेका थिए। 'नगरपरिषद्को ध्यान जाओस् भनेर दबाव दिएका हौं,' डा. श्रेष्ठले नागरिकसँग भने, 'महानगरको सुविधा केही नथपिने तर पूर्वसूचनाबिनै घरजग्गा कर ३ सय प्रतिशत बढाउने?'

पाटनका गंगाबहादुर नेमकुलले पनि कुनै सुविधाबिनै सरकारले करवृद्धि गरेकोमा आपत्ति जनाए। 'तिर्दैनौं भनेको होइन तर कुश्त कर तिरेपछि कम्तीमा न्यूनतम सुविधा पनि त पाउनु पर्‍यो,' नेमकुलले भने, 'टेलिफोन बिग्रँदा अनेकौंपल्ट मर्मतका लागि भने पनि महिनौं बन्दैन, पानीको हाहाकार छ। न त बिजुली नै आउँछ। सुविधा दिन नसक्ने सरकारले कर मात्र थोपर्नु अन्याय हो। सरकारले तुरुन्तै करवृद्धि फिर्ता लिनुपर्छ।'

असार १५ गते काठमाडौं क्षेत्र नं. ८ का सांसद् नविन्द्रराज जोशी नेतत्वको समूहले पनि करवृद्धि फिर्ता गर्न माग गर्दै महानगरमा ज्ञापनपत्र बुझाएको थियो। जोशी नेतृत्वको समूहले महानगरको परिषद्कै अवसर पारेर बुधबार फेरि ज्ञापनपत्र बुझाएको छ। दुवै पक्षले छुट्टछुट्टै बुझाएका ज्ञापनपत्रमा भने करवृद्धि फिर्ता गराउन महानगरले पहल गर्नुपर्ने र महानगर आफूले बढाएको कर भने महानगरले तुरुन्तै फिर्ता गर्नुपर्ने उल्लेख छ।

बढेको कर महानगरले स्थानीय स्वायत्त शासन नियमावली २०५६ अनुसार फागुन १ देखि उठाउँदै आएको छ। सरकारले घरको मूल्याकंन बढाइ सोही अनुसार कर उठाउन कात्तिक ९ मा राजपत्रमा प्रकाशन गरेको थियो।

यसअघि घरजग्गाको नयाँ मूल्याकंन अनुसार पहिलो १० लाखसम्म कर मिनाहा, त्यसपछिको १० लाखमा ३ सय, ३० लाखसम्म ०.०५ प्रतिशत, ५० लाखसम्म ०.२५ प्रतिशत र १ करोडसम्म ०.५० प्रतिशत लिँदै आएको थियो। अहिले ३० लाखसम्म २५ रुपैयाँदेखि १ हजारसम्म, त्यसपछि थप २० लाखसम्म ०.०८–०.१५ प्रतिशत, ५० लाखसम्मको ०.१५–०.२० प्रतिशत र १ करोडसम्मको ०.२०–०.३० प्रतिशतसम्म रहेको छ। १ करोडमाथिको जतिसुकै रकम भए पनि ०.३०–०.४० प्रतिशतसम्म कर थपेको छ।

प्रकाशित: ३० असार २०७३ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App