१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैदेशिक रोजगारीको ‘निसानी’ नै खरानी बनेपछि...

सखुवानन्कारकट्टी(सिरहा)– सोमबार दिँउसो पश्चिमबाट तेज हावा चलिरहेरहँदा  लहानबाट ९ किलोमिटर दक्षिण पूर्वको गाउँपालिका सखुवानन्कारकट्टी–४ सिम्राहाको दलित बस्तीमा आगो दन्किरहेको थियो । सुनसान यो बस्तीमा दन्केको आगोले बिपन्नलाई बिल्लिबाठ मात्र बनाएन, बैदेशिक रोजगारीबाट अर्जेको निसानीसमेत खरानी बनायो।

दिउँसो चुलोको खरानी झिल्कोसहित घरछेउमा भण्डारण गरिएको थुप्रोबाट झिल्को उडेर भोगेन्द्र मण्डलको घरको छानोमा आगो सल्केको थियो। पश्चिमी तेज हावाका कारण भोगेन्द्रको घरबाट आगो आसपरोसका छाप्रोमा फैलिएको थियो । फुसको घनाबस्ती हेर्दाहेर्दै खण्डहरमा परिणत भयो।

बस्तीमा आगो लागेको खबर तत्कालै लहान नगरपालिको दमकल कक्षमा स्थानीयले फोन गरी पु¥याएका थिए । तर यो दमकल बाटोमै बिग्रिएर थन्क्यो । त्यसपछि गोलबजार नगरपालिकाको दमकललाई खबर गरियो । यो दमकल आईपुग्दासम्म बस्ती खरानी भैसकेको थियो। स्थानीय दानादेवी मण्डल भन्छिन्, ‘घरवार खरानी भैसकेपछि दमकल आइपुग्यो।’

यो बस्तीका २९ परिवारको ५० घरगोठ जलेर डेढ करोडको धनमाल क्षती भएको जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्यांक छ। नगद, लत्ताकपडा, गरगहना, भाँडाबर्तन, खाद्यान्न, पशुचौपाया गरी उतm रकम बराबरको क्षती भएको समितिको तथ्यांकमा उल्लेख छ।

खुल्ला आकाशमुनी अग्नीपिडितको बास

आगलागी भएपछि जिल्ला रेडक्रस र दैविप्रकोप उद्धार समितिले अग्नीपिडितलाई बाँडेको त्रिपाल पनि सबैले पाएका छैनन्। घामपानी छल्न बितरण गरिएको प्लाष्टिकको त्रिपालमा ७ जनाको परिवार गुम्सिएर बस्न अप्ठ्यारो भएको लक्षणदेवी मण्डलको गुनासो छ।

खण्डहर बस्तीको खरानी हावाले उडाउँदा यहाँ बसीनसक्नु छ।

‘राहतको च्यूराभुजामा जलेको बस्तीको खरानी मिसिन्छ, त्यही खानुपर्छ,’ दानादेवी मण्डल भन्छिन्, ‘दिउँसो हावाले खरानी उडाएर हैरान बनाउँछ, राती मच्छर(लामखुट्टे) टोकेर हैरान। कहीँबाट झुल पाइए राहत हुन्थ्यो।’

चौधरी मण्डल मलेसियाबाट रोजगारी गरी घर फर्केको पन्ध्र दिन मात्र भएको थियो । दुईदिन अगाडी लहान बैँकमा जम्मा रहेको तीन लाख झिकेर घरको बाकसमा राखेका उनी छोराको मुण्डन गराउने र जस्तापाताले घर टिलिक्क पार्ने योजना बुनेका थिए। लहान आउजाउ गर्न गाह्रो हुने भन्दै बैँकबाट पैसा घरमा राखेका उनको सबै सपना सोमबारको आगोमै खरानी भयो। विदेशको निसानी सबै त्यही आगोमा जलेपछि उनी बोली फुट्दैन, केबल टोलाइरहन्छन्।

अग्नीपिडितलाई राहत

सिम्राहा टोलका २९ अग्नीपीडित परिवारलाई जिल्ला दैविप्रकोप उद्धार समितिबाट पाँच हजार प्रतिपरिवार रकम वितरण गरिएको छ। जिल्ला रेडक्रस सोसाइटीले त्रिपाल र केही थान भाडाबरतन सहयोग गरेका छन्। स्थानीय व्यपारी, समाजसेवी र राजनीतिक दलबाट पनि खाद्यान्न सहयोग जारी छ।

बिहीबार तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डल, रोशन यादव, राकेश झासहितले अग्नीपिडितलाई च्युरा, भुजा, दालमोठ, नुनलगायतका राहत वितरण गरिएको छ। खण्डहर बस्तीमा राहत वितरण गरी फर्केका मण्डलले भने, ‘यो बस्तीमा घर ठड्उने सामग्री सहयोग आवश्यक देखियो।’ खुल्ला आकाशमुनी दिनरात काट्न बाध्य अग्नीपिडतलाई छिट्टै आवासीय सहयोग नगरिए असुरक्षित खानपान र बसाईले रोगका संक्रमण फैलिने खतरा छ,’ उनले भने।

प्रकाशित: ३१ चैत्र २०७३ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App