१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ठमेलमा ५५ करोडको तीनतारे मलवेरी होटल

काठमाडौं- पर्यटन गन्तव्य ठमेलमा ५५ करोड रुपैयाँ लगानीमा तीनतारे होटल निर्माण भएको छ। मलवेरी नामको यो होटल वैशाख १ बाट सञ्चालनमा आउने भएको छ। होटलमा कालसाङ पाल्जोर शेर्पा, कालसाङ सोनाम शेर्पा, कालसाङ, कालसाङ  लोडोइ शेर्पा, साङ्गे पि शेर्पा र एस् डिकि शेर्पाको संयुक्त लगानीमा उक्त होटल निर्माण भएको हो। नौ तलाको अग्लो उक्त होटलको सबैभन्दा माथिल्लो भागमा  पौडी पोखरी  रहेको छ।

६७ कोठा रहेको उक्त होटल तीन बर्षअघिदेखि निर्माण शुरु गरिएको हो। ठमेलको ज्याठामा रहेको उक्त होटल नयाँ बर्षको पहिलो दिनदेखि नै संचालनमा हुने  होटलका अध्यक्ष कालसाङ पाल्जोर शेर्पाले बताए।

'स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ ढंगले सेवा दिने उदेश्यका साथ संचालनमा ल्याउन लागिएको हो,' उनले भने, 'नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नुको साथै गुणस्तरिय सेवा दिने लक्ष्यका साथ होटल संचालनमा ल्याएका हौं। अन्तराष्ट्रिय स्तरको सेवा दिन हामी तयार छौं।'

होटलका अध्यक्ष शेर्पाका अनुसार, पारिवारिक लगानी रहेको होटलमा करिव एक सय कर्मचारी रहेका छन्।  होटलमा प्रयोग भएका हरेक वस्तु तथा सामग्रीहरु नेपाली मौलिक पहिचानसँग जोडिएको पनि उनले जानकारी दिए।  

होटलका महाप्रवन्धक अमिर प्रधानाङले सो होटलबाट काठमाडौंका विभिन्न पर्यटकीय स्थान बसन्तपुर, स्वम्यभू, दरवारमार्ग, बौद्धनाथ लगायतको ठाउँमा पुग्न ३० मिनेट लाग्ने जानकारी दिए। मौसम सफा भएको समयमा होटल मलवेरीको आठौ तलामा रहेको पौडि पोखरीबाट सिंगो काठमाडौको दृश्य हेर्न सकिन्छ।

पर्यटकहरुलाई लाङटाङ हिमालको सुन्दरताले लोभ्याउने दावी संचालकहरुले गरेका छन्। 'मलवेरीमा आधुनिक प्रविधिसँगै गुणस्तरिय सेवाले स्वदेशि तथा विदेशी पर्यटकको रोजाइमा पर्नेछ,' महाप्रबन्धक प्रधानाङले भने, 'होटलमा २८ स्क्वायर मिटरको डिलक्स रुम देखि ८० स्क्वायर मिटरको प्रसिडेन्टल सुट छ।' उक्त होटलमा रहेका रुमहरु अन्य होटलका तुलनामा भन्दा फराकिलो रहेको प्रधानाङको दावी छ। होटल मलवेरीमा न्यूनतम ९० डलरदेखि ४०० डलरसम्मका रुमहरु छन्।

महाप्रवन्धक प्रधानाङले ठमेलको होटलहरुमा पार्किङ नभएर समस्या भइरहेको अवस्थामा मलवेरीको भने ३० ओटासम्म गाडी अटाउने सुरक्षित र व्यवस्थित पार्किङ क्षेत्र रहेको बताए।

होटलको टपमा किम्बु रेष्टुराँ रहेको छ। होटलमा आउने विदेशी पर्यटकले नेपाली बस्तु खरिद गरुन भन्ने उद्देश्यसहित गिफ्ट सप समेत सञ्चालन गरिएको छ। सो गिफ्ट सपमा नेपाली उत्पादनको विभिन्न सामग्री राखिएको छ। यस्तै महिला तथा पुरुषका लागि छुट्टै स्पा तथा मसाज सेन्टरको समेत व्यवस्था गरिएको महाप्रवन्धक प्रधानाङले जानकारी दिए। होटलमा आगोलागि हुनबाट बच्नका लागि समेत सुरक्षाको व्यवस्था मिलाईएको महाप्रवन्धक प्रधानाङले नागरिकलाई जानकारी दिए।  

प्रकाशित: ३१ चैत्र २०७३ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App