१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रुपन्देहीको लगातार दोस्रो जित

धनगढी- शोहब अलामको ४ विकेट तथा राजेश पुलामीमगर र प्रकाश केसीको ६१ रन साझेदारीप्रेरित रुपन्देहीले बुधबार सिवाइसी अत्तरियालाई ४२ रनले हराउँदै धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ।

अग्रपंक्तिका ब्याट्सम्यानलाई चाडै गुमाए पनि राजेश र प्रकाशले छैटौं विकेटका लागि ६१ रनको साझेदारी गरेपछि टस जितेर ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो।

राजेश र प्रकाशले ३८ बलमा ६१ रन बनाएका थिए। राजेशले ३५ बलमा ३ छक्कासहित ३१ रन जोडे भने २४ बलमा ३ चौका र १ छक्का हानेका प्रकाश २९ रन मा अविजत रहे। अठारौं ओभरको दोस्रो बलमा राजेश आउट भएपछि प्रकाशले कृष्ण कार्कीसँग २० रनको अविजित साझेदारी गरेका थिए। त्यसअघि पुष्प थापाले २५ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए।

अत्तरियाका प्रदीप ऐरी र विनोद लामाले समान २/२ विकेट लिए भने मेहबुब आलम र अविनाश बोहराको नाममा १/१ विकेट रह्यो।

१ सय ३० रनको लक्ष्य पछ्याएको अत्तरियाले १९.४ ओभरमा सबै विकेट गुमाएर ८७ रनमात्र जोड्न सक्यो। अत्तरियाका लागि सबैभन्दा धेरै कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए। उनले ज्ञानन्द्र कुँवरसँग तेस्रो विकेटका लागि गरेको ३५ रनको साझेदारी नै अत्तरियाको इनिङमा बनेको सबैभन्दा ठुलो साझेदारी रह्यो। ज्ञानेन्द्रले २६ बलमा ४ छक्का हाने। अविनाश र १४ तथा विनोदले अविजित १८ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

रुपन्देहीका शाहबले ४ ओभरमा १ मेडन राख्दै ८ रन दिएर ४ विकेट विकेट लिए। विक्रम सोबले ४ ओभरमा १५ रन दिएर २ विकेट लिँदा  शक्ति गौचन, पुष्प र कृष्णको नाममा १/१ विकेट रह्यो।

 

पहिलो खेलमा अत्तरियासँग पराजित भएको काठमाडौं गोल्डेन्सले पनि प्रतियोगितामा दोस्रो सफलता हासिल गरेको छ। सुमित महर्जनको अविजित ४४ रन तथा सन्तोष भट्टको तीन विकेटप्रेरित काठमाडौंले शरद भेषावकरको विराटनगर किंग्सलाई ८६ रनले हराएको हो।

धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौंले ५ विकेट गुमाएर १ सय ७३ रनको योगफल बनाएको थियो। प्रतियोगितामा अहिलेसम्म बनेको यो सबैभन्दा ठुलो योगफल हो। यसअघि काठमाडौंले नै कञ्चनपुर आइकोनिकविरुद्ध १ सय ४७ रनको योगफल बनाएको थियो। उक्त खेलमा काठमाडौं २४ रनले विजयी भएको थियो।

तेह्रौं ओभरको पाँचौ बलमा बसन्त रेग्मी आउट हुँदा काठमाडौं ७७ रनको स्थितीमा थियो। त्यसपछि सुमित र सोमपाल कामीले चौथो विकेटका लागि ९० रनको साझेदारी गरेपछि काठमाडौं सम्मानजनक योगफलतर्फ लम्किएको थियो। सोमपाल र सुमितले ४० बलमा ९० रन बनाएका थिए।

सुमितले २७ बलमा २ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै सोमपाल कामीले २० बलमा २ चौका र ३ छक्का हान्दै ३९ रन बनाए। त्यसअघि कप्तान बसन्त रेग्मीले २४ बलमा ३० रन बनाए भने शुभेन्दु पान्डे २७ तथा नरेश बुढायरले १३ रन जोडे।

विराटनगरका शरद भेषावकरले २ विकेट लिए भने सुशिल कँडेल र सन्दीप लामिछानेको नाममा १/१ विकेट रह्यो। विराटनगरका लागि सबैभन्दा दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए। दीपेन्द्रले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कप्तान शरद भेषावकरले १३ र जीतेन्द्र मुखियाले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

काडमाडौंका कप्तान बसन्तले रणनिति  अनुसार खेलेका कारण लगातार दोस्रो जित हासिल गरेको बताए। उनले थपे 'हाम्रो ब्याटिङ, बलिङ सवै राम्रो रह्यो र योजना आनुसार खेल्न सक्यौं।'

काठमाडौंका सन्तोषले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए। भुवन कार्की र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने सोमपाल र मञ्जित श्रेष्ठले १/१ विकेट लिए।

विराटनगरले पहिलो खेलमा धनगढी टिम चौरहालाई पराजित गरेको थियो। विराटनगरका कप्तान शरदले काठमाडांैले तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेर आफुहरुलाई दवावमा राखेको बताए। उनले थपे, 'हामीले मिहिनेत गर्दा पनि उनीहरुको उत्कृष्ट प्रदर्शन हुदाँ जित्न सकेनौं।'

प्रकाशित: ३१ चैत्र २०७३ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App