१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लाइसेन्स वितरण नहुँदा चालक अभाव

बुटवल – व्यवसायी गोविन्द आचार्यले गएको जेठमा मालबाहक ट्रक किन्ने निधो गरे । आफूसँग भएको पैसा जम्मा गर्दै बैंकिङ प्रक्रिया पूरा गरेपछि ट्रक अर्डर दिए । ट्रक अर्डर दिएको तीन महिनामा ट्रक आयो । तर गुडाउने चालक पाउन सकेनन् । साथीहरुको खोजतलासले बल्लबल्ल एउटा चालक त भेटाए तर परिपक्व पाएनन् ।  ‘नयाँ ट्रकका लागि अपरिपक्व चालक राख्नुपर्ने बाध्यता पर्याे,’ उनले भने ।

व्यवसायी आचार्य झैं अहिले धेरै व्यवसायीलाई यातायात व्यवसाय निल्नु न ओकेल्नु भएको छ । यस क्षेत्रमा ठूला सवारी तथा मालबाहक सवारी साधन गुडाउने चालकको अभावले व्यवसायी हैरान छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले चार वर्षदेखि लाइसेन्स (चालक अनुमति पत्र) वितरण परीक्षा खुलाएको छैन । 

भएका चालक धमाधम वैदेशिक रोजगारीमा जान थालेपछि बजारमा चालकको समस्या चुलिएको हो । सरकारले लाइसेन्स वितरणमा २०७० वैशाख १ गतेबाट नयाँ नियम लागू गरेपछि यहाँ लाइसेन्स वितरण रोकिएको हो ।  नयाँ नियमअनुसार लाइसेन्स वितरण गर्न ट्रायलका लागि पूर्वाधारको आवश्यक पर्छ । साना सवारीको लाइसेन्सका लागि देवीनगरमा ड्राइभिङ स्कुल संघको जग्गामा ट्रायल हुँदै आएको छ । ठूला सवारीको लागि पूर्वाधार नभएकाले लाइसेन्स वितरण रोकिएको हो ।

सरकारले २०७० वैशाख १ गतेबाट नयाँ नियम लागू गरेपछि लाइसेन्स वितरणा राेकियाे

केही वर्षयता बस,  ट्रक र टिप्प्रको संख्या बढिरहेको छ । सवारी साधनको वृद्धि भइरहँदा अनुभवी चालक धमाधम वैदेशिक रोजगारीमा गएपछि यातायात व्यवसायी मारमा परेका हुन् । चालकको अभाव भइरहँदा  पनि यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण अघि बढाएको छैन ।

व्यवसायीका अनुसार चालक अभावले एउटा चालकले दुई–तीनवटा सवारी साधन चलाइरहेका छन् । यातायात क्षेत्रमा आलोपालो प्रणालीमा गाडी चल्ने भएकाले एउटा चालकले दुई–तीनवटा गाडी चलाउन सक्छ तर कामको लोडले दुर्घटना बढेको पश्चिमाञ्चल यातायात व्यवसायी संघका पूर्वअध्यक्ष लोकराज पोखरेलले बताए । 

भएका चालक धमाधम विदेश जाने र नयाँ चालक आउन बन्द भएकाले कतिपय व्यवसायीले यस क्षेत्रबाट पलायन हुँदै गएका छन् । पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अनुसार गएको सात वर्षमा पाँच हजार चालक विदेशिएका छन् । यो तथ्यांक बस व्यवसायी संघमा आवद्ध भएका चालकको मात्रै हो । सबैखाले ठूला सवारी चालक सरदर वार्षिक एक हजार यस क्षेत्रबाट विदेश जाने गरेको अनुमान छ । 

यहाँ भन्दा राम्रो तलब भएकाले वैदेशिक रोजगारीमा चालकको आकर्षण बढेको हो । व्यवसायीका अनुसार यहाँ तलब भत्ता गरेर अहिले चालकले मासिक २५ देखि ३० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । यो आम्दानीले सहर बजारमा सामान्यतः गुजारा चल्न मुश्किल हुन थालेको छ । 

छोराछोरीको  पठनपाठन, औषधि उपचार र साँझ बिहानको छाक टार्नका लागि दिनप्रतिदिन खर्च बढिरहेको छ । तर खर्चको अनुपातमा आम्दानी नबढेकाले सर्वसाधारणको दैनिकी चौपट हुन थालेको छ । यही समस्याले चालकहरु धमाधम वैदेशिक रोजगारीमा गएका हुन् । उनीहरुले कतार, दुबई लगायतका मुलुकमा मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमाइरहेका छन् ।

त्यसो त यहाँ रोजगारीको ग्यारेन्टी नहुने कारणले पनि विदेश जाने प्रवृति बढेको छ । सबै क्षेत्रबाट विदेश जाने बढेपछि चालक पनि उतै हानिएका हुन् । पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधि खरेलका अनुसार एउटा चालकले एउटा बस महिनामा दुई–तीन क्यू गुडाउन पाउँछ । त्यसो भएपछि उसले यहाँ आफूलाई सुरक्षित ठानेन् ।

राजस्व संकलन गर्नका लागि यातायातका साधन मनपरी भित्र्याउँदा रुटमा आवश्यकताभन्दा बढी सवारी साधन हुनुले पनि चालकहरु विस्थापित भएको खरेलको भनाइ छ । एक दिन गाडी चलाएर खाली बस्दा झन तनाव झेल्नु परेको चालकहरुको भनाइ छ । ‘महिनामा दुई क्यू गाडी चलाएर त्यत्तिकै भौंतारिएर बस्ने वा अरु काम खोज्नुभन्दा विदेश जानु नै राम्रो लाग्न थाल्यो,’ गुल्मी बलिथुमका प्रेम थापाले भने ।

नेपालमा ठूला सवारी साधन चलाउनेले विदेशमा सजिलै लाइसेन्स निकाल्न सक्छन् । यहाँको लाइसेन्स भएपछि उता लाइसेन्स निकाल्न सजिलो भएकाले अनुभवी चालक विदेश जान रुचाएका हुन् । ‘मुख्यतः आम्दानीको कुरा हो । परिवार पाल्न पैसा धेरै कमाउनुपर्ने बाध्यता छ, त्यो यहाँ सम्भव नदेखिएपछि सबै विदेशतिर जाने हो,’ चालक थापाले भने ।

 लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालय लाइसेन्स वितरण विभागका प्रमुख वेदप्रकाश अर्यालले चालकको अभावबारे व्यवसायीको ध्यानाकर्षण भएको बताए । केही दिनअघि यहाँका आधा दर्जन यातायात व्यवसायी संघसंस्थाले ठूला सवारी साधनको लाइसेन्स छिटो खुलाउन माग गर्दै यातायात व्यवस्था कार्यालयमा ज्ञापनपत्र दिएका थिए ।

अर्यालले बुटवलको बेलवासमा चार बिघा जग्गामा कार्यालयसहित ठूला सवारी साधनको ट्रायल स्थल निर्माण गर्ने गरी प्रक्रिया अघि बढेको जानकारी दिए । ‘असारसम्म ट्रायल स्थलको काम सक्छौं, त्यसपछि सुरु हुन्छ,’ उनले भने ।

 यातायात व्यवस्था विभागले निजी क्षेत्रको ट्रायल स्थल भए त्यहीबाट लाइसेन्स दिने प्रक्रिया थाल्न  निर्देशन दिए पनि त्यस्तो सम्भव नभएकाले रोकिएको हो । ठूला सवारीको ट्रायलमा तीन किलोमिटर साधन गुडाउनु पर्छ । त्यसका लागि साढे एक बिघा जमिन आवश्यक पर्छ । 

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष खरेलले बजारमा सहचालक भएर गाडी चलाउन सिकेका अनुभवि युवा भएको तर उनीहरुले लाइसेन्स नपाउँदा गाडी चलाएर हिड्न नसकेको बताए । लाइसेन्स रोकिँदा यातायात क्षेत्रमा झन बेथिति बढेको र यो बेथितिको कारक सरकार भएको उनको भनाइ छ ।
सरकारले दुर्घटना न्यूनीकरणका लागि भन्दै दुईवटा चालक राख्नै पर्ने नियम ल्याएको थियो । ‘चालक अभावमा एउटा पाउन नसकेको अवस्थामा कसरी दुईवटा राख्नु ?,’ पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्वअध्यक्ष लोकराज पोखरेलले भने ।

 

प्रकाशित: ३० चैत्र २०७३ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App