१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी किशोरकुमार प्रधानलाई पराजित गर्दै नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्ष हात पारेका हुन्। महासंघको नयाँ विधानअनुसार नयाँ कार्य समितिको अध्यक्षमा भवानी राणा हुनेछिन् भने त्यसपछि स्वतः गोल्छा अध्यक्ष बन्नेछन्।

मंगलबार भएको महासंघको चुनावबाट गोल्छा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । खसेको कुल मतमध्ये गोल्छाले ६३.७० प्रतिशत र ३६.३० प्रतिशत मत ल्याएका छन् । नयाँ कार्य समितिले बुधबार दिउँसो चार बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

गोल्छाले जिल्ला–नगरबाट ६१ र प्रधानले ४२ मत, वस्तुगत समूहबाट गोल्छाले ४७ र प्रधानले ५१ मत ल्याएका थिए । त्यसैगरी एसोसिएटतर्फ गोल्छाले पाँच सय चार र प्रधानले एक सय २३ मत प्राप्त गरेका थिए ।

महासंघको तीन उपाध्यक्षमध्ये दुई गोल्छा र एक प्रधानको प्यानलबाट विजयी भएका छन् । वस्तुगत समूहतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएटतर्फ चन्द्र ढकाल र जिल्ला–नगर समूहको तर्फबाट प्रमोद श्रेष्ठ विजयी भएका छन् । उमेशलाल र ढकाल गोल्छा प्यानलबाट र प्रमोद प्रधानको प्यानलबाट विजयी भएका हुन् । ढकाल यसअघि नै सर्वसम्मत भएका थिए । कोषाध्यक्ष महासंघको बहुमत सदस्यबाट छानिने हुँदा उक्त पदमा पनि गोल्छा समूहकै आउने पक्का भएको छ ।

एसोसियटमा उपाध्यक्षसहित सम्पूर्ण १९ जना गोल्छाको प्यानल जितेको छ ।

जिल्ला–नगर समूहतर्फबाट ५३ मत ल्याउँदै प्रमोद श्रेष्ठ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी दिनेश श्रेष्ठले जम्मा ४८ मत मात्र ल्याए । जिल्ला–नगरमा १८ जना केन्द्रीय सदस्यमा निर्वाचन भएको थियो । त्यसमध्ये १६ जना शेखर गोल्छा समूहबाट र दुई जना किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका छन्। यस समूहको लागि एक सय चार मत खसेको थियो ।

जिल्ला–नगरमा निर्वाचित हुने सदस्यहरूमा उमेश डालमिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ (नेपालगन्ज), दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ (अर्घाखाँची) ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ, चन्द्रकान्त अधिकारी, राजकुमार न्यौपाने, कल्याण जोशी विजयी भएका छन् । त्यसैगरी देवकुमार श्रेष्ठ र सुदर्शन कार्कीले बराबरी मत (५७) ल्याएका थिए ।

वस्तुगत समूहतर्फको उपाध्यक्ष विजयी भएका उमेशलालले ४७ मत ल्याए भने प्रधान समूहबाट उम्मेदवारी दिएका शंकर पाण्डेयले ३८ मत प्राप्त गरे । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका अनुप मल्लले ११ मत ल्याएका थिए भने दुई मत मदर भएको थियो ।

वस्तुगत समूहतर्फको १४ सदस्यमध्ये गोल्छा समूहबाट १२ जना सदस्यले चुनाव जितेका छन् । प्रधान समूहबाट दुई जनाले जितेका छन् । 

गोल्छा समूहबाट अन्जन श्रेष्ठ, कमला श्रेष्ठ, आकाश अधिकारी, विनोद ढकाल, सन्दिप अग्रवाल र हेमराज ढकाल छन् । प्रधान समूहबाट शकुन्तला हिराचन, शिव घिमिरे र तिलचन्द्र भट्टराईले निर्वाचन जितेका छन् ।

नयाँ कार्य समिति चयन गर्दै सोमबार र मंगलबार महासंघको ५१औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार भएको चुनावमा आठ सय २३ भोट खसेको थियो । जिल्ला तथा नगरतर्फ एक सय चार, वस्तुगततर्फ ९९ र एसोसिएटतर्फ ६ सय २० मत खसेको निर्वाचन समितिले जनाएको छ । एसोसिएटमा जम्मा ६ सय ३३ भोट रहेको थियो । त्यसमध्ये १३ मत नखसेको बताइएको छ ।

एसोसिएटमा गोल्छा समूहको पकड बलियो थियो । त्यसै अनुसार उनले भोट ल्याउन पनि सफल भए । एसोसिएटतर्फ कुल मतको झन्डै ३० प्रतिशत रहेको छ । महासंघको चुनाव परिणामलाई कसको पक्षमा पार्ने भन्ने हात जिल्ला तथा नगर समूहको रहेको हुन्छ । कुल मतको झन्डै ५० प्रतिशत जिल्ला तथा नगर समूहको हुन्छ । जिल्ला नगरमा राम्रो प्रभाव भएको भनिएका प्रधानको पकडलाई तोड्न गोल्छा सफल भए । त्यसैगरी अर्को समूह भनेको वस्तुगत हो, जसमा २० प्रतिशत मत छ । यस समूहमा पनि प्रधानको बलियो अवस्था रहेको भनिए पनि उनले जम्मा पाँच मत बढी प्राप्त गरे ।

महासंघ स्थापना २०२२ सालमा भएको हो । त्यो बेला काठमाडौं, विराटनगर, वीरगन्ज र बुटवलमा मात्र शाखा थिए । चारवटा शाखा मिलेर देशकै एक उद्योग वाणिज्य संघको स्थापना गर्ने निर्णयसहित लोकनाथ जोशीको संयोजकत्वमा एक समिति बनाइएको थियो । उक्त समितिले राजा महेन्द्रको उपस्थितिमा संघको घोषणा गरेको थियो । पहिलो अध्यक्ष जोशी बने। भवानी राणा १९औं अध्यक्ष र गोल्छा २०औं अध्यक्ष हुनेछन्। 

को हुन् गोल्छा ?

गोल्छा नेपालको प्रतिष्ठित व्यावसायिक घरानाका सदस्य हुन् । ५१ वर्षे गोल्छा हाल गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक छन् । गोल्छा मुलुकमा विभिन्न क्षेत्रमा लगानी र राम्रो रोजगारी सिर्जना गर्न सफल भएका छन् । एक दशकअघि महासंघको एसोसिएट सदस्य हुँदै उपाध्यक्ष भएका थिए।

उनी बजाज र सामसङ इलेक्ट्रोनिक्स कम्पनीको आधिकारिक विक्रेता हुन् । हंसराज हुलासचन्द, हिम इलेक्ट्रिोनिक्स, हुलास इन्भेस्टमेन्टको प्रबन्ध निर्देशक हुन् । उनी हेस्टर नेपाल, निओटेरिक नेपाल एन्ड इस्टर्न सुगर मिलका निर्देशक पनि छन् ।

उनी नेपाल अटोमोबाइल्स डिलर एसोसियसनको पूर्वअध्यक्ष पनि हुन् । उनी नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको कार्य समितिका सदस्य पनि हुन् ।

सेन्ट जेभियर्सबाट विद्यालय तह पूरा गरेका गोल्छाले बेलायतको वेबस्टर युनिभर्सिटीबाट बिजनेस एड्मिनिस्ट्रेसनमा ब्याचलर र भारतको दिल्ली युनिभर्सिटीबाट ब्याचलर अफ कमर्स गरेका छन् ।

प्रकाशित: ३० चैत्र २०७३ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App