१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डलर तस्करीमा सरकारी पाइलट

काठमाडौं- विमानस्थलको सुरक्षामा खटिएका नेपाल प्रहरीका एसएसपीको संलग्नतामा सुन तस्करीको खुलासा भएको केही महिनाभित्रै सरकारी पाइलटको संलग्नतामा अमेरिकी डलर तस्करी हुने गरेको खुलेको छ।

पुस २२ मा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको अनुसन्धानमा विमानस्थलमा खटिएका एसएसपी श्याम खत्री तानिएका थिए। आइतबार बेलुका विमान उडाउन विमानस्थल पुगेका नेपाल वायुसेवा निगमका पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलर (करिब ९५ लाख ६७ हजार रुपैयाँ) सहित पक्राउ परे।

विमानस्थलमा बरामद हुने ठूलो परिमाणको विदेशी मुद्राको सम्बन्ध सुन तस्करीसँग जोडिने गरेको छ।

निगममा ३० वर्षदेखि संलग्न रहेर विमान उडाउँदै आएका उनी आइतबार राति दुबई जान तयार निगमको एयरबस ३२० जहाज उडाउन विमास्थल पुगेका थिए।

राति ११ बजे विमानस्थल पुगेका उनको साथमा रहेको सुटकेस जाँचका क्रममा शंकास्पद सामग्री देखेपछि प्रहरीले खोल्न लगाएको थियो। सुटकेसमा अवैध डलर फेला परेपछि त्रिभुवन विमानस्थल प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अवाले पक्राउ परेपछि निगमले अर्का पाइलट पठाएर नियमित उडान गरायो। अवाले रातभर महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा बसे। 'कानुनले तोकेभन्दा बढी विदेशी मुद्रा बोकेर विदेश जाने प्रयास गरेपछि अवालेलाई पक्राउ गरेर राजस्व अनुसन्धान विभागमा बुझाएका छौं', विमानस्थलका एसएसपी प्रेम चन्दले नागरिकसँग भने।

विमानस्थल प्रहरीका अनुसार अवालेले सँगै बोकेको सुटकेसमा डलर फेला परेको हो। विमानका यात्रुसँगै चालक दलका सदस्यलाई समेत नियमित जाँच हुन्छ तर चालक दलका सदस्यलाई गरिने चेकजाँच गम्भीर हुन्न।

जाँचका लागि एक्सरे मेसिन नजिक पुगेका बेला अवालेले 'सधैं आउजाउ गरिरहनेलाई पनि के जाँच्नुपर्छ र' भनेको स्रोतले बतायो। प्रहरीले उनको सुटकेस एक्सरे मेसिनमा राखेर हेर्दा भित्र शंकास्पद सामग्री देखेपछि खोल्न लगाएको थियो। त्यति बेला उनी निकै हडबडाएको प्रहरीले जनायो।

सुटकेसबाट अमेरिकी डलरको चाङ नै निस्कियो। गन्दा ९३ हजार ६ सय डलर रहेको खुल्यो। विदेश जाँदा पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा बोक्न पाइन्छ, त्यो पनि स्रोत खुलाएर। त्यस भन्दा बढी बोके अवैध ठहरिने भएकाले विमानस्थल प्रहरीले निगमलाई जानकारी गराएर अवालेलाई सोधपुछका लागि कार्यालय लगेको थियो।

विमानस्थल प्रहरीले उनलाई राति २ बजेसम्म विमानस्थलकै कार्यालयमा राखेर सोधपुछ गरेको थियो त्यसपछि गौशाला वृत्तमा लगी हिरासतमा राखेको थियो। बिहान ६ बजे विमानस्थल प्रहरी आएर उनलाई कार्यालय लगी दिउँसो राजस्व अनुसन्धान विभागमा बुझाएको थियो। त्यसपछि विभागले अभियोगसहित काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न ३० दिनको म्याद दिएको छ।

तस्करीको सुनलाई भुक्तानीको आशंका

जहाज उडाएर दुबई पुर्‍याउन हिँडेका अवालेले प्रहरी बयानमा रकम अमेरिका रहेकी छोरीलाई पठाउन बोकेको दाबी गरेका थिए। सोधपुछमा संलग्न अधिकारीका अनुसार उनले 'आफूबाट गल्ती भएको' बताएका थिए।

करिब एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रा के प्रयोजनका लागि छोरीलाई पठाउन लागेको हो भन्ने उनले खुलाउन नसकेको प्रहरी अधिकारीले बताए। अवालेबाट बरामद विदेशी मुद्रा सुन तस्करीबापत दुबईमा भुक्तानीका लागि पठाउने प्रयास गरिएको प्रहरीको आशंका छ।

विमानस्थलमा बरामद हुने ठूलो परिमाणको विदेशी मुद्राको सम्बन्ध सुन तस्करीसँग जोडिने गरेको छ। पाँच वर्षअगाडि विमानस्थलमा एक करोड २४ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा फेला परेको थियो। सो रकम सुन तस्करीमा संलग्न समूहको रहेको र सुनको भुक्तानीका लागि  विमानस्थलका प्रहरीसँग मिलेर दुबई लैजाने प्रयास भएको अनुसन्धानबाट खुलेको थियो। सो घटनाको अनुसन्धानमा विमानस्थलमा कार्यरत एसएसपी रविराज श्रेष्ठसहित तीन प्रहरीको संलग्नता खुलेपछि सबैको जागिर गएको थियो।

पुस २४ मा ३३ किलो सुन समातिएयता पछि विमानस्थल डलर र सुन भेटिएको थिएन। सुन तस्करीको मुद्दा अदालतमा पुगेपछि त्यसको चर्चा सेलाएको थियो। यही बेला नियमित विमान उडाउने पाइलट प्रयोग गर्दा रुपैयाँ सुरक्षित हुने ठानी तस्करले अवालेलाई प्रयोग गरेको प्रहरीको आशंका छ।

'३३ किलो सुन बरामद भएसँगै यता आइसकेको सुनको भुक्तानी यहीं नै रोकिएको सूचना आएको थियो,' सुन तस्करीको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'अवालेबाट बरामद रकम उनको आफ्नै नभई सुन तस्कर समूहको हुन सक्छ। स्रोत पहिल्याउन विस्तृत अनुसन्धान जरुरी छ।'

प्रकाशित: २९ चैत्र २०७३ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App