१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनाव एकै चरणमा : एमाले

काठमाडौं- एमाले स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने पक्षमा उभिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा  सोमबार बसेको स्थायी कमिटी बैठकले वैशाख ३१ गते तोकिएको मितिमा एकैपटक चुनाव हुनुपर्ने निष्कर्ष निकालेको हो। सरकार र सत्तारूढ दलहरूले आन्दोलनरत मधेसी मोर्चा स्थानीय चुनावमा आए दुई चरणमा निर्वाचन गर्न सकिने बताउँदै आएका छन्।

'निर्वाचन आयोग चुनाव एकै चरणमा गर्न सकिन्छ भनेर तयारी गरिरहेको छ भने किन नहुने?' एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईले नागरिकसँग भने, 'प्रचण्डले कहिले सत्ता छाड्ने र शेरबहादुर देउवा सत्तामा जाने भन्ने विषयमा उनीहरूको दलका कुरा भयो। यसले प्रजातान्त्रिक प्रक्रियामा किन अवरोध गर्ने?'

पार्टीले स्थानीय तहको चुनावका लागि गाउ“पालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष/प्रमुख, उपप्रमुख, गाउ“/नगर/उपमहानगर/महानगरका वडा अध्यक्ष र सदस्यको उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने काम पार्टी प्रदेश संयोजकलाई तोकेको छ। महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने काम पार्टीका केन्द्रीय अध्यक्षले गर्नेछन्।

भट्टराईले कसैका लागि चुनाव सार्न आवश्यक नभएको बताए। संविधान संशोधन र स्थानीय तहको चुनावबारे प्रधानमन्त्री र सत्ता घटक दलका नेताहरूको अभिव्यक्तिप्रति एमालेले ध्यानाकर्षण भएको जनाएको छ। 'एमाले नेतृत्वस“ग आजसम्म संविधान संशोधनका विषयमा विषयगत रूपमा कुनै गम्भीर र ठोस छलफल प्रधानमन्त्रीका तर्फबाट भएको छैन', एमालेले भनेको छ।

प्रधानमन्त्रीले एमाले नेतृत्वस“ग समेत सहमति भएको भन्ने 'झूट अभिव्यक्ति' सार्वजनिक गरेको भन्दै एमालेले 'प्रधानमन्त्रीका उपरोक्त भनाइको भ्रममा नपर्न आमजनसमुदायलाई अपिल' गरेको छ।

एमालेले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावमा समर्थन नरहने समेत स्पष्ट पारेको छ।

'जनआन्दोलनको मर्म र भावनाविरुद्ध संविधानको मर्म र भावनाविपरीत स्थानीय तह र प्रदेशका अधिकारविरुद्धको कुनै पनि प्रस्ताव साथै नेपालको सामाजिक सद्भाव र भौगोलिक एकतालाई कमजोर पार्ने कुनै पनि प्रस्तावप्रति हाम्रो पार्टीको समर्थन नरहने कुरा पुनः स्मरण गराउन चाहन्छौं', बैठकको निर्णयमा भनिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसमा विध्वंस मच्चाएको भनेर गरेको भाषणमा समेत आपत्ति जनाएको छ।

'सत्तामा रहेको जिम्मेवार पार्टीको शीर्ष नेतृत्वबाट सामाजिक संवेदनशीलता, मुलुकको भौगोलिक एकता, अखण्डताजस्ता गम्भीर प्रश्नमा हल्काफुल्का टिप्पणी नगर्न बैठकले सचेत गराएको छ', एमालेले भनेको छ।

यसैबीच काठमाडौं जिल्ला संगठन कमिटीभित्र देखिएको समस्या समाधानका लागि कार्यवाहक अध्यक्ष वामदेव गौतमसहित पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, तीन नम्बर प्रदेशकी संयोजक अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेललाई जिम्मेवारी दिएको छ।

प्रदेश कमिटीको निर्देशन अवज्ञा गर्दै जिल्ला अध्यक्ष कृष्ण राईले पक्षीय रूपमा अघि बढेको भनी समानान्तर भेला भएपछि समस्या समाधान गर्ने निर्णय गरेको हो।

अध्यक्ष राईले प्रदेश कमिटीले सहसंयोजक र ३८ सदस्य थप गर्ने प्रदेश कमिटीको निर्देशनलाई अवज्ञा गरेको भन्दै असन्तुष्ट पक्षले छुट्टै भेला आयोजना गरेको थियो। अध्यक्ष राई पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् भने असन्तुष्ट पक्ष खनाल र नेपाल निकट छन्। तीनतीन वर्षमा हुनपर्ने जिल्ला अधिवेशन सात वर्षसम्म गराएको भन्दै आपत्ति जनाउँदै आएका छन्।

प्रकाशित: २९ चैत्र २०७३ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App